‘कन्ट्रोभर्सी क्वीन’ विमला : चुम्बनदेखि चड्कनसम्म – Nepal Press

‘कन्ट्रोभर्सी क्वीन’ विमला : चुम्बनदेखि चड्कनसम्म

रुपन्देही । लुम्बिनी प्रदेशसभा सदस्य उत्तरकुमार वलीको २०७५ सालमा सडक दुर्घटनामा मृत्यु भयो । श्रीमानको मृत्युपछि राजनीतिमा उदाइन् विमला वली । जबदेखि राजनीतिमा आइन्, निरन्तर एकपछि अर्को स्क्यान्डलले उनलाई छोडेको छैन ।

नेकपा एमालेका नेता शंकर पोखरेलले विधवा विमलालाई राजनीतिमा डोर्‍याएका थिए । तर, गत वर्ष उनै पोखरेललाई मुख्यमन्त्रीबाट हटाउन विमलाले भूमिका खेलिन् । यति मात्रै होइन । उनले आफूलाई मुख्यमन्त्रीले उनकै निवासमा बन्धक बनाएको गम्भीर आरोपसमेत लगाएकी थिइन् ।

राजनीतिक पृष्ठभूमि

विमलाका पति उत्तरकुमारले ०७४ सालको चुनावमा एमालेबाट प्रदेशसभा सदस्य जितेका थिए । ०७५ फागुन १० गते दाङको घोराही लमही सडक खण्डको चिसापानीमा सडक दुर्घटना हुँदा उनको निधन भएको थियो ।

श्रीमानको मृत्युपछि ०७६ मंसिर १४ गते भएको उपचुनावमा दाङको प्रदेशसभा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित वली नेकपाका तर्फबाट लडिन् र जितिन् । उनले ५ हजार एक सय ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मालाई हराएकी थिइन् । वलीले २४ हजार २ सय ८६ मत पाउँदा निकटतम प्रतिद्वन्द्वीले १९ हजार १ सय ८२ मत पाएका थिए ।

एमाले नेता शंकर पोखरेलका अति विश्वासपात्र उत्तरकुमारको मृत्युपछि भएको उपनिर्वाचनमा पार्टीमा लामो योगदान गरेकालाई स्थान दिनुपर्ने दबाब आए पनि उनले विमलालाई नै अगाडि सारेका थिए । पोखरेलले स्वर्गीय उत्तरकुमारको सपना पूरा गर्न विमलालाई उम्मेदवार बनाएको भन्दै आफै निर्वाचनमा होमिएका थिए । त्यो समय एमाले र माओवादी मिलेर नेकपा बनेको थियो ।

एमाले र माओवादी अलग भएपछि विमला स्वतः एमालेमा लागिन् । पार्टी विभाजनपछि बसेको एमाले संसदीय दलको बैठकमा उनी सहभागी भएको र एमाले दाङ जिल्ला कमिटीको बैठकमा पनि पटक–पटक सहभागी भएको प्रमाण गत साल नै एमालेले सार्वजनिक गरेको थियो । तर माओवादीले भने विभाजनपछि वलीले माओवादी रोजेको दाबी गर्दै आएको छ । माओवादीको समेत समर्थनमा मुख्यमन्त्री बनेका शंकर पोखरेलले राजीनामा दिएर पुनः शपथग्रहण गर्ने तयारीका समयमा सांसद वलीले माओवादी प्रवेश गर्न लागेको विषयले खैलाबैला मच्चिएको थियो ।

रुकुम पुर्ख्यौली माइती भए पनि वली नेपालगन्जमै जन्मी–हुर्केकी हुन् । त्यसअघि कहिल्यै पार्टीको काममा जोडिएकी थिइनन् । कलेज पढ्नका लागि नेपालगन्ज पुगेका स्वर्गीय सांसद वलीसँग उनले प्रेम विवाह गरेकी थिइन् ।

विमला गत साउन १५ गते एकाएक सम्पर्कविहीन भएपछि माओवादीले तत्कालीन सरकारको नेतृत्व गरेको एमालेलाई अपहरण गरेको आरोप लगायो । एमालेले माओवादीले लुकाएको दाबी गर्‍यो । एक साताको बीचमा उनी एमालेबाट माओवादी तथा माओवादीबाट एमाले र पुनः माओवादीमै गएको समाचारहरू आए ।

पछिल्लो पटक साउन २० गते उनी पत्रकार सम्मेलनमा झुल्किइन् । उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको योजनामा एमाले सचेतक भूमिश्वर ढकालसहितको टिमले आफूलाई दाङबाट अपहरण गरेर मुख्यमन्त्रीकै निवासमा बन्धक बनाएर राखेको सनसनीपूर्ण दाबी गरिन् । तर उनको दाबी कतैबाट पुष्टि हुन सकेन । कोही कसैलाई यो विषयमा कारबाही पनि भएन ।

साउन २८ गते विमलासहितका सांसदहरूको समर्थनमा माओवादी नेतृत्वको अहिलेको सरकार बन्यो । सुरुमै उनी मन्त्री बन्ने विषय बाहिर आए पनि माओवादीभित्रकै महिला सांसदहरूको आपत्तिले केही सातापछि मात्रै उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । एमालेविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा), जनमोर्चाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

गत वर्ष भदौ महिनामा विमलाको प्रेम प्रकरण सार्वजनिक भयो । उनका प्रेमी एकराज बस्नेतले आफ्नो फेसबुक स्टोरीमा विमलाले गालामा चुम्बन गरेको तस्बिर पोस्ट गरे । तस्बिरमा विमलाको सिउँदो सिन्दूर रंगिएको थियो । पछि उनीहरू दुवैले यो तस्बिर फोटोसप गरिएको दाबी गरे । विमलाले एकराज आफ्नो भाइजस्तो भएको बताइन् ।

तर, १० महिनापछि उनीहरूको सम्बन्ध छताछुल्ल बनेको छ । उनै बस्नेतको घरमा पुगेर राज्यमन्त्री विमलाले उनकी श्रीमतीलाई हातपात गरेकी छन् । प्रदेश सांसद र मन्त्रीकै जिम्मेवारीमा रहेको व्यक्तिले आफ्नो सुरक्षा दलको सदस्यसँगै एक महिलाको घरमा घुसेर हंगामा गर्नु सानो विषय होइन ।

यो बीचमा विमलाका छोराहरूको अंश विवादमा परिवारकै सदस्यले मुद्दा दर्ता गरे । छोराहरूको रेखदेखका विषयमा उनकै श्रीमानका दाजुभाइ आश्वस्त हुन सकेनन् । स्वार्थका कारण राजनीतिक रूपमा दल अदलबदलको आरोप लाग्यो र उनको आचरणमा समेत प्रश्न उठ्यो । जसरी पनि चर्चा र विवादमा छाइरहिन् विमला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर