निर्वाचन आयोगले भोलिबाट पुनः मतदाता नामावली संकलन गर्ने – Nepal Press

निर्वाचन आयोगले भोलिबाट पुनः मतदाता नामावली संकलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले बुधवार (असार १ गते) बाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।

आयोगले मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।

‘सबै निर्वाचन कार्यालयहरू र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गते देखि मतदाता नामावली सङ्कलन गरिने छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए ।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी) ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।

प्रवक्ता पौडेलेका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साबिकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।

कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलबाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर