अमेरिकी सेनाका प्यासिफिक कमान्डर काठमाडौं आइपुगे – Nepal Press

अमेरिकी सेनाका प्यासिफिक कमान्डर काठमाडौं आइपुगे

काठमाडौं । अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आएका छन् । केही बेरअघि उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

उनलाई नेपाली सेनाका लेफ्टिनेन्ट जनरल बालकृष्ण कार्कीले विमानस्थलमा स्वागत गरे ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधान सेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको तयारी भइरहेका बेला अमेरिकी सेनाको प्रशान्त क्षेत्रीय कमाण्डका जनरल चार्ल्स ए फ्लायन नेपाल आएका हुन् ।

नेपाली सेनाले शुक्रबार फ्लायनलाई गार्ड अफ अनर दिने सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

फ्लायनका लागि शुक्रबार रात्रिभोजको आयोजना गरिनेछ । शनिबार माउन्टेन फ्लाइटमार्फत उनले सगरमाथाको अवलोकन गर्ने छन् ।

आइतबार पाँचखालस्थित वीरेन्द्र सैनिक शान्ति कार्य तालिम केन्द्र शिवपुरीस्थित कमान्ड एन्ड स्टाफ तालिम केन्द्रको अवलोकन गरी उनी सोही दिन उनी स्वदेश फर्कनेछन् ।

फ्लायन सैनिक विमानमै आउने तालिका रहेपनि प्रतिकूल मौसमका कारण सिभिल विमानमा नेपाल आएको बताइएको छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै अमेरिकी उच्च अधिकारीहरूको नेपाल आगमन बाक्लिरहेको छ ।

यसअघि अमेरिकी उपविदेश मन्त्री नेपाल भ्रमण गरेर फर्किएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *