लुम्बिनी प्रदेश : सरकार बजेट तयारीमा, विभागीय सचिव बिदामा – Nepal Press

लुम्बिनी प्रदेश : सरकार बजेट तयारीमा, विभागीय सचिव बिदामा

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी बजेटको तयारी गरिरहेको छ तर मन्त्रीसँगको टसलपछि विभागीय मन्त्रालयका सचिव लामो समयदेखि बिदा बसेका छन् ।

बजेटको तयारी गरिरहेको प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव नारायणप्रसाद सापकोटा मन्त्री कृष्णध्वज खड्कासँगको टकराबमा बिदा बसेको मन्त्रालयकै एक अधिकृतले बताए । यो मन्त्रालयमा एक वर्षयता तीन सचिव फेरिएका हुन् ।

०७८ फागुन ८ गते आएका सचिव सापकोटा मन्त्रालयमा दुई महिनाभन्दा बढी समय भइसकेको छ, हाजिर भएका छैनन् । मन्त्रीसँगको टकराबका कारण बिरामी बिदा र घर बिदा लिएर बस्ने अधिकांश समय बिताएको र वैशाख २८ गतेपछि मन्त्रालयमा हाजिर नै नभएको ती अधिकृतले बताए ।

उनको असार १० गतेसम्मको घर बिदा स्वीकृत भएकाले बजेट तयारीका समयमा विभागीय मन्त्रालय कर्मचारीको नेतृत्वविहीन बनेको हो ।

सापकोटा वैशाखमै सरुवा भएर जान खोजे पनि निर्वाचन आचारसंहिताले रोकिएका थिए । स्रोतका अनुसार अहिले अमेरिकामा रहेको र आएपछि सरुवा हुने आफू निकटका कर्मचारीलाई सुनाएका छन् ।

मन्त्रीसँग असन्तुष्ट मन्त्रालयका कर्मचारीका अनुसार अर्थमन्त्रीले नियम विपरीतका काममा दबाब दिएको, रकमान्तर गरेर जसरी पनि छिटो काम गराउन खोजेपछि फसिने त्रासले सचिव बस्न नचाहेका हुन् ।

‘मन्त्रीले पनि छिटो काम गराएर आफू लोकप्रिय हुने राम्रैका लागि हुनसक्छ तर कर्मचारीले भोलि आफू फस्ने तरिकाले प्रक्रिया नपुगी कसरी काम गरिदिनसक्छन्, भाग्नुको विकल्प रहेन नि’, ती कर्मचारीले भने ।

अहिले आर्थिक मामिला मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नरेन्द्रकुमार रानालाई काजमा जिम्मेवारी दिइएको छ । उनलाई असार १० गतेसम्मका लागि अर्थको जिम्मेवारी दिइएको हो ।

आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले भने सचिवले विदेश जानुपर्ने बताएकाले घर बिदा लिएको बताए ।

संघका कर्मचारी प्रदेशमा बस्न नखोज्दा केही अप्ठ्याराहरू देखिएको बताउँदै उनले बजेट तयारीका लागि मुख्यमन्त्री कार्यालयका सचिवलाई जिम्मेवारी दिइएको जानकारी दिए ।

सापकोटा अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्माको सिफारिसमा आएका भए पनि यहाँका माओवादी नेताहरूसँग मिलेर काम गर्न नसकेको कर्मचारीको बुझाई छ ।

अर्थ सचिव अभावले मन्त्रालयका दैनिक प्रशासनिक कामदेखि रकमान्तर, कार्यक्रम संशोधन, थप बजेट वितरण र आगामी आर्थिक वर्षको बजेट तयारीमा पनि गम्भीर असर परेको छ । यो मन्त्रालयमा पछिल्लो १ वर्षमा तीन सचिव फेरिएका छन् ।

गत साउन २८ गते अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसीसँगै अर्थमन्त्री खड्काले यो मन्त्रालय सम्हालेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर