स्थानीय तह निर्वाचन र राजनीतिक दलले सिक्नुपर्ने पाठ – Nepal Press
नेपाल चिन्तन

स्थानीय तह निर्वाचन र राजनीतिक दलले सिक्नुपर्ने पाठ

यो निर्वाचनले नेपालमा राजनैतिक दलहरुको औचित्यमाथि नै प्रश्नचिन्ह खडा गर्‍यो ।

स्थानीय तह निर्वाचन हुन्छ कि हुँदैन भन्ने संशयबीच भएको निर्वाचनले एउटा आकार ग्रहण गरेको छ । यसले देशमा सुशासनको एउटा स्वरुप देखापरेको छ । योसँगै अब देशमा प्रदेश तथा संघीय चुनावमा सरकार जुटेको छ । यसले सकारात्मक सन्देश प्रवाह गरेको छ । स्थानीय तह निर्वाचनमा जनताले दिएको सन्देशले अबको नेपालको राजनीति कता मोडिने हो भन्ने संशयसमेत पैदा गरेको छ । आम रुपमा वितृष्णा जागेको नेपालको राजनीतिमा स्वतन्त्र उम्मेदवारले पनि देशको महत्वपूर्ण स्थानमा देखिएको विजयीले अबका जनता परिवर्तन चाहन्छन् भन्ने कुराको संकेत गरेको छ । नेपालको राजनैतिक दलहरुलाई समेत जनता सचेत भइसेकका छन् भन्ने प्रमाणित गरेको छ । यस अर्थमा अहिलेको स्थानीय तह निर्वाचन विशेष रहेको छ ।

विशेषगरी काठमाडौं महानगरपालिका, धनगढी र धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको विजयीसँगै नेपालको राजनीतिमा जनता कसैका गुलाम हैनन् भन्ने पुष्टि गरेको छ । नेपालको राजनैतिक दलहरुको घमण्ड तोडिएको छ । यो निर्वाचनले नेपालमा राजनैतिक दलहरुको औचित्यमाथि नै प्रश्नचिन्ह खडा गर्‍यो । दलीय राजनैतिक व्यवस्थामा यो घातक पक्ष हो । यसको निर्मम समीक्षा नेपालको राजनैतिक दलहरुले गर्लान् कि नगर्लान् यो छुट्टै पाटो हो । तर, यसले नैतिक दबाब भने सिर्जना गरेको छ । जुन नेपालको सन्दर्भमा अत्यावश्यक पनि थियो ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले केशव स्थापितलाई उम्मेदवार बनाउँदा आफनो जित सुनिश्चित गरेको थियो भने स्थापितको बलमिच्याइँ र घमण्ड पनि सह्य थिएन । नेकपा एमालेले महानगरको मेयरको टिकट दिइरहँदा विगत र वर्तमानका साथै आम जनता के चाहन्छन् भन्ने हेक्कासमेत राखेको पाइएन । २०५४ सालमा महानगरपालिकाको मेयर भइसकेका स्थापितलाई नै एमालेले २५ वर्षपछि पुनः टिकट दिनु जनताप्रतिको गम्भीर धोकाबाहेक अरु हुन सक्दैन किनकि यो २५ वर्षमा जन्मेको बच्चा स्थानीय तहको निर्वाचनमा वडा अथवा अन्य तहमा प्रमुखमा दाबी गर्न हैसियत राख्न सक्ने समय हो, यति धेरै समयको अन्तरमा पनि स्थापितलाई नै चुनावमा उठाएर नेकपा एमालेले दम्भ प्रस्तुत गर्‍यो ।

स्थापितले पनि आफ्नो घमण्ड प्रस्तुत गरे । जुन अबको सन्दर्भमा नेपालको राजनीतिको केन्द्र भागमा रहेको काठमाडौंवासीले तिरस्कार गरिदियो । जसका कारण बालेनको जन्म भयो । यसले पनि आम जनता कसैको पनि दास होइन भन्ने पुष्टि गर्‍यो । स्थापितको ठाउँमा अन्य उम्मेदवार भएको भए काठमाडौं जस्तो स्थानमा एमाले हार्नुपर्ने थिएन । वडा र उपमेयरमा फराकिलो मतान्तरसहित विजयी भइरहँदा मेयरमा लज्जास्पद हारले नेपालका राजनैतिक दलहरुले सिक्नुपर्ने विषय जबरजस्त स्थापित भएको छ । एउटा सधैँ एउटै व्यक्तिलाई जिम्मेवारी पाच्य हुँदैन । अर्को, जनतालाई मूर्ख सोच्नु गलत हुन सक्छ ।

एक्काइसौं शताव्दीको यो प्रविधिको युगमा पनि पुरानै ढंगको अतिवादी सोचबाट अब नेपालको राजनीति चल्न सक्दैन भन्ने पुष्टि गरिदियो । जनता परिवर्तन चाहन्छन् र कसैको गुलाम होइनन् भन्ने सत्यतालाई स्थापित गरिदियो । जुन नेपालको राजनीतिमा अत्यावश्यक थियो, त्यसको सुरुवात यो स्थानीय तह निर्वाचनबाट भएको छ । पार्टीको निर्णयभन्दा पनि आवश्यकता, योग्यता र क्षमताको आधारमा नेतृत्वको चयन हुनुपर्दछ भन्ने पाठ सिकाइदियो ।

गठबन्धन दलहरुले पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यलाई टिकट दिए पनि नेकपा एमालेका कृष्ण थापाले नै जित्ने प्रक्षेपण गरिएको थियो । त्यो दावी झूटो बनिदियो । प्रदेशसभा सदस्यसमेत रहेका थापा यसअघि पनि एमालेका तर्फबाट मेयर बनिसकेका हुन् । थापालाई प्रदेशसभा सदस्यबाट राजीनामा गराएर मेयरमा उठाउनु गम्भीर गल्ती हो । जसका कारण नेकपा एमालेलाई प्रत्युत्पादक बनिदियो । पटक–पटक एउटै व्यक्तिको अधिनमा आम जनता रहन चाहँदैन भन्ने कुरा पोखरा महानगरपालिकाले पनि पुष्टि गरिदियो ।

उपमेयर र वडाध्यक्षमा उल्लेख्य जित हासिल गरेको एमालेले कृष्ण थापालाई दोहोर्‍याएर गम्भीर गल्ती गर्‍यो । नेकपा एमालेका लागि अर्को पक्ष भनेको यस अगाडिको मेयर पनि एमालेको नै थियो । घात अन्तर्घातको समीक्षा गौण हो किनकि कसैले पटक–पटक अवसर पाउने, कसैले नपाउनुको बीचमा घात, अन्तर्घात स्वाभाविक बनिदियो । जुन घात प्रतिघातले आगामी निर्वाचनमा राजनैतिक दलका नेतृत्वले टिकट वितरणमा गम्भीर ध्यान दिनुपर्दछ भन्ने पाठ सिकाइदियो । धनराज आर्चायको उदयले जनता राजनैतिक दल र चिन्हमा होइन, इमानदारिता र कर्ममा विश्वास गर्छन् भन्ने पुष्टि गरिदियो ।

स्थानीय तहको निर्वाचनबाट जबरजस्त उदाएका पात्र हुन्, हर्कराज राई । धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएपछि नेपालको राजनीतिमा उदाएका हर्कराज राईको तुलना अन्य नेपालको राजनीतिकर्मीसँग हुन सक्दैन । विनातामझाम र राजनैतिक दलविना पनि नेतृत्वमा आउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, हर्कराज । यसअघि विभिन्न सामाजिक संघमा आवद्ध भएर स्वतन्त्र नागरिकको हैसियतमा जनताको आवाज बोलेका हर्कराज अब आफै जनताको समस्या समाधान गर्ने ठाउँमा पुगेका छन् ।

सुशुप्त अवस्थाबाट यहाँ आइपुगेका राईमाथिको धराने जनताको विश्वासको भारीले उसको सफलताको मापन गर्नेछ । जनताको विश्वासलाई नै सर्वेसर्वा ठानेका हर्कराज राईमाथि जनताको साथ समर्थनले पनि उसको सफलताको मापनलाई निर्धारण गर्दछ । उनको उदयले पनि नेपालको राजनीतिको नेतृत्वमा स्थापित हुन राजनीति नै गर्नु पर्दछ भन्ने मान्यतालाई विस्थापित गरिदिएको छ ।

नेपालको राजनीतिमा सधैँ केन्द्र भागमा रहेको भरतपुर महानगरपालिकाले स्थानीय तह निर्वाचनमा सबैको ध्यान केन्द्रित गर्‍यो । प्रचण्डपुत्री मेयरको दावेदार रहेको र विशेषगरी प्रचण्डको पनि जोडबल रहेको भरतपुर महानगरपालिकाले आम देशको नै ध्यान खिचेको थियो । नेपाली कांग्रेसको चर्को असन्तुष्टि र बागी उम्मेदवार पनि परेको सन्दर्भमा नेकपा एमालेको उम्मेदवारले जित्ने आँकलन गरेको भरतपुर महानगरपालिकामा पुनः रेणु दाहालले जितेपछि नयाँ ढंगबाट यसको विश्लेषण सुरु भएको छ ।

रेणु दाहाल प्रचण्डपुत्रीमात्र होइन असल प्रशासक पनि हो भन्ने पुनर्पुष्टि भएको छ । देशभर पुनः उम्मेदवार बनेकाहरुमध्ये धेरैले लज्जास्पद हार बेहोरिरहँदा रेणु दाहालले भने फराकिलो मतान्तरसहित विजयी हासिल गर्नु भनेको उसले गरेको काम नै हो भन्ने पुष्टि भएको छ । यसले गर्दा नेताको आशीर्वाद एउटा र कर्मबीचमा फरक हुन्छ भन्ने पुष्टि भएको छ । जुन रेणुले पुनः निर्वाचित भएर प्रमाणित गरेकी छन् ।

नेपालको राजनीति अहिलेको स्थानीय तहको विशेष बनिदियो । जसले गर्दा फरक ढंगबाट राजनीतिको व्याख्या, पुनर्व्याख्या जबरजस्त स्थापित गरिदियो । एक्काइसौं शताब्दीको यो प्रविधिको युगमा पनि पुरानै ढंगको अतिवादी सोचबाट अब नेपालको राजनीति चल्न सक्दैन भन्ने पुष्टि गरिदियो । जनता परिवर्तन चाहन्छन् र कसैको गुलाम होइनन् भन्ने सत्यतालाई स्थापित गरिदियो । जुन नेपालको राजनीतिमा अत्यावश्यक थियो, त्यसको सुरुवात यो स्थानीय तहको निर्वाचनबाट भएको छ । पार्टीको निर्णयभन्दा पनि आवश्यकता, योग्यता र क्षमताको आधारमा नेतृत्वको चयन हुनुपर्दछ भन्ने पाठ सिकाइदियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *