पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर – Nepal Press

पार्टीले फिर्ता बोलाएकोबारे नेकपा एसका मन्त्रीहरु बेखबर

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले पार्टीको तर्फबाट सरकारमा सहभागीलाई फिर्ता बोलाउन गरेको निर्णयबारे मन्त्रीहरु नै बेखबर रहेको पाइएको छ । पार्टीको सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूहरुसँग सल्लाह नै नगरी पार्टीले उक्त निर्णय गरेको बताइन् । ‘आधिकारिक जानकारी थिएन, सञ्चारमाध्यमबाट पार्टीको निर्णयबारे सुनेको हुँ’, उनले भनिन् ।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पनि पार्टी निर्णयबारे आफू बेखबर रहेको बताए । ‘हामीलाई त्यस्तो कुनै जानकारी थिएन, सञ्चारमाध्यमबाट थाहा पाएँ’, उनले भने ।

नेकपा (समाजवादी)कै केन्द्रीय सदस्य रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पनि आफुलाई मन्त्रीबाट फिर्ता बोलाएको बारेमा आधिकारिक जानकारी नआएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘आधिकारिक रुपमा जानकारी नआए पनि पार्टीको बैठकले फिर्ता बोलाएको र अरु साथीहरुलाई सिफारिस गरेको भन्ने सुनियो । सुरुमा नै ६ महिनाका लागि भनेर हामीहरुलाई मन्त्रीमा पठाइएको हो । २ महिना थपेर ८ महिनासम्म काम गर्ने मौका पार्टीले दियो । यसमा मेरो कुनै पनि गुनासो र चित्त दुखाई छैन । मन्त्री बनाउने र हटाउने जिम्मेवारी पार्टीलाई छ । त्यसैले मैले मन्त्रालय सम्हालेपछी गरेका काम प्रती म एकदमै खुसी छु । पार्टीको निर्णय अनुसार छाती फुलाएर बाहिरिन तयार छु ।’

बाँकी मन्त्रीले पनि फिर्ता बोलाएको बारेमा आफूहरुलाई आधिकारिक जानकारी नभएको बताएका छन् । नेकपा एसले हिजो सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री सिफारिस गर्ने निर्णय गरेको थियो । नयाँ मन्त्रीहरुको आजै सपथग्रहण कार्यक्रम राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर