पर्यटकले भेडेटार र नाम्जे भरिभराउ, ड्रिम प्रोजेक्ट बनाउँदै गाउँपालिका – Nepal Press

पर्यटकले भेडेटार र नाम्जे भरिभराउ, ड्रिम प्रोजेक्ट बनाउँदै गाउँपालिका

भेडेटार । गर्मी बढेसँगै सुनसरीको पर्यटकीय क्षेत्र भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । तराईका जिल्लाबाट गर्मी छल्न निस्कने नेपाली तथा भारतीय पर्यटकले भेडेटार र नाम्जे भरिभराउ भएको छ ।

भेडेटारमा गर्मी छल्नेसँगै जिपलाइन, प्याराग्लाइडिङ, स्काइवाक जस्ता साहसिक खेलको मज्जा लिन सकिन्छ । त्यसैले आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा भेडेटार र नाम्जे पर्दै आएका छन् ।

यहाँ पर्यटकमात्रै पुग्दैनन् । सरकारी तथा गैरसरकारी संस्थाका ठूला–साना कार्यक्रम पनि भेडेटार र नाम्जेमा हुन थालेका छन् । जसले यो सिजनमा भेडेटार र नाम्जेमा मानिसहरुको चहलपहल बाक्लिँदै आएको छ ।

कोरोना संक्रमणले पछिल्लो दुई वर्ष पर्यटन क्षेत्र ठप्पप्रायः भएको थियो । मानिसहरुको आवतजावतमा कमी आउँदा पर्यटन व्यवसायीहरु निराश बनेका थिए । तर, अहिले आन्तरिक तथा बाह्य पर्यटकको आवगमन बढेसँगै यहाँका पर्यटन व्यवसायीमा उत्साह बढेको छ । उनीहरुले दुई वर्षपछि राहत महसुस गरेका ।

भेडेटार र नाम्जेमा ठूला–साना गरी करिब दुई सय होटलका कोठा पाहुनाले भरिन थालेको होटल एसोसियसन अफ भेडेटारका पूर्वअध्यक्ष विष्णुराज श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार कोराना अन्त्य भएसँगै यो सिजनमा दैनिक ४ सय नेपाली तथा एकसय बढी भारतीय पर्यटक भेडेटारमा गर्मी छल्न पुग्ने गरेका छन् ।

भेडेटार सूर्योदय र सूर्यास्त दृश्यावलोकनका लागि पनि प्रख्यात छ । छिनछिनमा लुकामारी खेल्ने मौसमकै विशेषताका कारण प्रायः पर्यटकहरु घुमफिरका लागि यहाँ पुग्ने गरेको श्रेष्ठ बताउँछन् ।

होटल व्यवासायीका अनुसार उखरमाउलो गर्मी छल्न तराईका जिल्लाहरु झापा, सुनसरी, मोरङ, सप्तरी र उदयपुरलगायतबाट पर्यटक आउने गरेका छन् । भारतका विभिन्न स्थानबाट समेत यहाँ पुग्नेको संख्या उल्लेख्य छ । यहाँबाट मकालु, मनास्लु, बरुण, ल्होत्से, कुम्भकर्णलगायतका हिमालको प्रत्यक्ष अवलोकनसमेत गर्न सकिन्छ ।

यहाँ विशेष गरी भारतीय पर्यटक आकर्षित गर्न सरकारी र निजी क्षेत्रबाट प्रचारप्रसारका प्रयास भएका छन् । जसले पछिल्लो समय भेडेटार पुग्ने भारतीय पर्यटकहरुको संख्या ह्वात्तै बढेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

कोसी करिडोरको मुख्य पर्यटकीय हबका रुपमा विकास हुँदै गएको भेडेटार र नाम्जेलाई सबै किसिमले व्यवस्थित गर्न स्थानीय सरकारले गुरुयोजना नै बनाएको छ । गुरुयोजनाअन्तर्गत भेडेटारमा आसपासको अन्य क्षेत्रलाई जोडेर यहाँको पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय सरकारले जोड दिएको छ ।

सागुँढीगढी गाउँपालिकाका अध्यक्ष धीरेन्द्र रुम्दालीले सुनसरीको बराह क्षेत्रदेखि सागुँरीगढीको धोजेडाँडालाई समेटेर हाइकिङ रुट निर्माण गर्ने योजना बनाएको बताए । उनले सुनसरी, भोजपुर र उदयपुरको संगमस्थल रहेको त्रिवेणीदेखि धोजेडाँडासम्म ट्रेल मार्ग निर्माणको लागि नीति कार्यक्रम तथा बजेटमा समेट्ने तयारी भइरहेको अध्यक्ष रुम्दालीले जानकारी दिए ।

उनले गाउँपालिकाले अघि सारेका यी दुई योजनालाई ड्रिम प्रोजेक्टका रुपमा लिएर सोहीअनुसार प्रदेश र संघीय सरकारको सहयोगमा काम अघि बढाउने तयारी रहेको बताए ।

इलामको सूर्योदय, सोलुखुम्बुको नाम्चे र धनकुटाको भेडेटारलाई पर्यटकीय ग्रामको रुपमा विकास गर्ने प्रदेश १ सरकारको नीति नै छ । नीति तथा कार्यक्रम र बजेट भए पनि प्रदेश १ सरकारले भेडेटारमा पर्यटन विकासका लागि ठोस कार्ययोजना भने अघि सारेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर