मिश्रको राजीनामापछि विवेकशील-साझा लथालिङ्‍ग, अबको अध्यक्ष को ? – Nepal Press

मिश्रको राजीनामापछि विवेकशील-साझा लथालिङ्‍ग, अबको अध्यक्ष को ?

काठमाडौं । रवीन्द्र मिश्रले अध्यक्षबाट राजीनामा दिएसँगै विवेकशील-साझा पार्टी नेतृत्वविहीन र अन्योलग्रस्त बनेको छ । पार्टीको बैठक बस्न नसक्दा नयाँ नेतृत्वको विषयमा अहिलेसम्म औपचारिक छलफल सुरू नै भएको छैन ।

विद्यमान संरचनाअनुसार यस पार्टीमा मुख्य नेतृत्वका रूपमा अध्यक्ष र संयोजक थिए । तर, संयोजक मिलन पाण्डेलाई केही समयअघि पार्टीले कारबाही गरेर हटाएको थियो । अहिले अध्यक्षले पनि राजीनामा दिएपछि पार्टी नेतृत्वविहीन बनेको हो । यस पार्टीमा अध्यक्ष र संयोजकबाहेक अरु पदाधिकारी छैनन् ।

सानो दल भए पनि विवेकशील साझामा तीनवटा गुटहरू छन् । पूर्वअध्यक्ष रवीन्द्र मिश्रनिकट संस्थापन पक्ष, पूर्वसंयोजक मिलन पाण्डेसहित कारबाहीमा परेको समूह र पछिल्लोपटक खडा भएको निर्देश सिलवालसहितको नयाँ असन्तुष्ट समूह । यी तीन गुट अहिले छिन्नभिन्न अवस्थामा रहेका छन् ।

मिश्रको राजीनामापछि संस्थापन समूह शिथिल बनेको छ । स्थानीय चुनावमा निराशाजनक परिणामका कारण संस्थापन समूहका नेताहरू रक्षात्मक अवस्थामा पुगेका छन् । कारबाहीमा परेको पाण्डे समूहले पार्टीका विभिन्न निर्णयहरू उल्टाउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको उक्त मुद्दा विचाराधीन छ । निर्देश सिलवाललगायतको नयाँ असन्तुष्ट समूहले आफूहरूसँग पार्टीको बहुमत रहेको भन्दै निर्वाचन आयोगमा पत्राचार गरेको थियो । तर, व्यवाहारमा बहुमत पुर्याउन सकेको छैन ।

अध्यक्ष रविन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक दस्तावेज ल्याएसँगै पार्टीभित्र बबण्डर सुरू भएको हो । उनको दस्तावेज प्रतिगमनकारी रहेको भन्दै संयोजक मिलन पाण्डे, केशव दाहाल, रञ्जु दर्शनालगायतले काउन्टर दस्तावेज ल्याएका थिए । तर, मिश्रको दस्तावेजलाई विवेकशीलको दुईतिहाइ बहुमतले पारित गर्‍यो । त्यसबाट असन्तुष्ट बनेका संयोजक पाण्डेले पार्टीको सुदृढीकरण गर्न भन्दै समानान्तर कमिटी बनाए । र, पार्टीले उनलाई साधारण सदस्यबाटै हटायो । त्यसको केही समयपछि पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै पाण्डे पक्षधर २६ जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट मुक्त गरिएको थियो ।

अबको अध्यक्ष को ?

पार्टीको भावी नेतृत्वको विषयमा अहिलेसम्म ठोस छलफल सुरू भएको छैन । यद्यपि संस्थापन पक्ष, पाण्डे समूह र सिलवाल समूहका आ-आफ्ना रणनीति छन् ।

संस्थापन समूहका केही नेताहरू किशोर थापालाई अध्यक्षका रूपमा अघि सार्न खोजिरहेका छन् । तर, थापा स्वयम् भने इच्छुक देखिएका छैनन् । संस्थापन पक्षबाटै नेतृत्व गर्न सक्ने नेताका रूपमा समिक्षा बास्कोटालाई पनि हेरिएको छ । तर, बास्कोटाले पनि आफू अध्यक्ष बन्ने दौडमा नरहेको बताएकी छन् ।

उनले नेपाल प्रेससँग भनिन्, ‘म विगतमा रवीन्द्रजीसँग निकट रहेर काम गरेको हुँदा चुनावमा पार्टीले व्यहोरेको हारको केही अंश जिम्मेवारी मैले पनि लिनुपर्ने हुन्छ । त्यसैले म अहिले अध्यक्ष बन्ने लाइनमा छैन ।’

बास्कोटा स्वयम्ले काठमाडौंको मेयरमा कमजोर परिणाम ल्याएकी थिइन् । त्यसैले उनी तत्काल अध्यक्षमा दाबी गर्ने पक्षमा छैनन् । यद्यपि, पार्टीको आगामी महाधिवेशनमा भने नेतृत्वको प्रतिस्पर्धाबाट नभाग्ने मुडमा छिन् ।

अहिले नेतृत्वका लागि सबैभन्दा बलियो दाबेदारी चाहिँ पूर्वसंयोजक मिलन पाण्डेकै छ । अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो राजीनामा वक्तव्यमा पाण्डेसहितका २६ केन्द्रीय सदस्यमाथिको कारवाही फिर्ता लिन पार्टीलाई अनुरोध गरेका थिए । स्रोतका अनुसार उनीहरूमाथिको कारबाहीलाई निर्वाचन आयोगले मान्यता दिएको छैन । त्यसैले केन्द्रीय कार्यसम्पादन समितिले निर्णय लिएको खण्डमा पाण्डे संयोजकमा स्वतः पुन:स्थापित हुनेछन् । अध्यक्ष नभएको अवस्थामा संयोजकलाई सबै अधिकार प्रत्यायोजन गरेर पार्टी सञ्चालन गर्ने विकल्प छ । अथवा, पाण्डेलाई अध्यक्षमा बढुवा गरेर अर्को व्यक्तिलाई संयोजक बनाउन सकिनेछ ।

निकट स्रोतका अनुसार पाण्डेले मिश्रको राजीनामापछि स्वतः आफू अध्यक्ष बन्ने भनेर दावी पेस गरिरहेका छन् । साथै मिश्रको दस्तावेज ‘विचारभन्दा माथि देश’ लाई निष्क्रिय तुल्याउन संस्थापन समूह सहमत हुनुपर्ने उनको पूर्वशर्त पनि छ । उक्त दस्तावेज फिर्ता लिन संस्थापनका नेताहरू तयार नभए आफूले अदालतमा दायर गरेको मुद्दा फिर्ता नलिने चेतावनी उनले दिएका छन् ।

भर्खरैमात्र पाण्डेनिकट मानिने पूर्वविवेकशीलका संस्थापक नेता पुकार बमले आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । पाण्डेले उनलाई बलियो समर्थन जनाइरहेका छन् । स्वतन्त्र उम्मेदवारलाई बोकेर हिँड्ने नेतालाई पार्टीको कमाण्ड कसरी दिन सकिन्छ भन्ने प्रश्न संस्थापनभित्र उठेको छ ।

निर्देश सिलवाल नेतृत्वको अर्को असन्तुष्ट समूह पनि अलमलमा देखिएको छ । अध्यक्ष मिश्रले पार्टीलाई मनोमानी ढंगले सञ्चालन गरेको र राप्रपासँग विलय गराउने प्रयास गरेको भन्दै सिलवालसहितका थुप्रै नेताहरूले विरोध जनाएका थिए । उनीहरूले अध्यक्ष मिश्रविरुद्ध निर्वाचन आयोगमा समेत निवेदन दिएका छन् । अब मिश्रले राजीनामा दिइसकेपछि यो समूह कसरी प्रस्तुत हुन्छ भन्ने हेर्न बाँकी छ ।

अब जो अध्यक्ष बने पनि छिट्टै हुने महाधिवेशनसम्मका लागि हो । महाधिवेशनमा प्रतिस्पर्धामार्फत जितेर आउने अध्यक्षले नै पार्टीको दीर्घकालीन नेतृत्व पाउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर