शिक्षण संस्थामै असुरक्षित हुँदैछन् छात्राहरू, यसरी हुन्थ्यो सर्वनाम स्कूलमा यौन दुर्व्यवहार (भिडिओ) – Nepal Press

शिक्षण संस्थामै असुरक्षित हुँदैछन् छात्राहरू, यसरी हुन्थ्यो सर्वनाम स्कूलमा यौन दुर्व्यवहार (भिडिओ)

काठमाडौं । बालबालिकाका लागि सबैभन्दा सुरक्षित र शान्ति क्षेत्र विद्यालय हो भनिन्छ । असल चरित्र सिकाउने गुरु नै चरित्रहीन भएपछि विद्यालयमै बालबालिका असुरक्षित हुन थालेका छन् ।

पछिल्लो समय राजधानी काठमाडौँकै स्कूल र कलेजमा भएका केही यौनजन्य दुर्व्यवहार घटनलाई शैक्षिक संस्थामै छात्राहरू असुरक्षित हुने अवस्था आएको त होइन ? अभिभावकहरू छोरी चेलीहरूलाई विद्यालय पठाउन पनि डराउनुपर्ने अवस्थामा पुगेकाले यो प्रश्न उब्जिएको छ ।

बहसमा बलात्कार सम्बन्धी मुद्दाहरूमा हदम्याद हटाउनुपर्ने विषय आइरहेको र संसद्मा कानून संशोधनको लागि विधेयक समेत पेस भएको बेला धमाधम यौन दुर्व्यवहारका घटना सार्वजनिक भइरहेका छन् । यसमा पनि शिक्षकबाट नै छात्राहरू दुर्व्यवहारको सिकार भएका घटना अझ बढी छन् ।

शनिवार राजधानीको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयमा होस्टल वार्डेनले छात्राहरूमाथि यौन दुर्व्यवहार गर्ने गरेको घटना बाहिर आएको छ ।

वार्डेन रामजी बस्नेतले छात्राहरूमाथि दुर्व्यवहार गर्ने गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । अभिभावकहरूले घटनाबारे थाहा हुँदा हुँदै विद्यालयका प्रिन्सिपल समेत चुपचाप बसेकाले उनको पनि मिलेमतोमा घटनाहरू हुने गरेको आरोप लगाएका छन् ।

पीडित छात्राको बयान- विभिन्न धम्की दिँदै पाइपले कुट्थ्यो

विगत ६ महिनादेखि आफू दुर्व्यवहारको सिकार भएको बताउने एक छात्राले हामीसँगको अनौपचारिक कुराकानीका क्रममा घटनाबारे सविस्तार सुनाइन् ।

आमाबुवा नेपालमा नभएका छात्राहरूलाई वार्डेन बस्नेतले टार्गेट गर्ने गरेको उनले बताएकी छन् । वार्डेनले एक्लो मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘वार्डेनले तिम्रो (वेट) तौल कति छ भनेर सोध्ने गरेको थियो । मैले आफ्नो तौल सही बताउँदा होइन होला म बोकेर चेक गर्छु भन्ने गर्दथ्यो । एक्लो पाएको मौका छोपेर शरीरका संवेदनशील अंगमा छुने गरेको थियो । कक्षामा होमवर्क हेर्छु भनेर बोलाउने गरेको थियो । बोलाएर पछाडि भागमा छुने गरेको थियो ।’

घटनाका बारेमा विद्यालयका प्रिन्सिपल दुर्गानाथ सिवाकोटी र उनकी श्रीमतीलाई जानकारी गराउँदा समेत कुनै एक्सन नलिएको पीडितहरूको आरोप छ । उल्टै सिकायत गरेको भिडिओ बनाएर वार्डेनलाई देखाउने र वार्डेनले टर्चर दिने गरेको उनले बताइन् ।

‘प्रिन्सिपल र म्याडमसँग कुरा राख्दा यो कुरा बाहिर नल्याऊ बाहिर कुरा आयो भने स्कुलको बेइज्जत हुन्छ भनेर भन्ने गरेका थिए । स्कुलको बेइज्जत हुनु भनेको तिमीहरूको बेइज्जत हुनु हो भन्थे’, उनले भनिन्, ‘पछि प्रिन्सिपलको श्रीमतीले कम्प्लेन गरेको भिडिओ बनाएर वार्डेनलाई देखाएको रहेछ । भिडिओ हेरेपछि वार्डेन हाम्रो रूममा आएर धम्की दिएर गयो ।’

वार्डेनले परिवारलाई यो कुरा नभन्नु भनेर धम्की दिने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘ परिवारका मान्छेलाई यो कुरा भन्यौ भने फेरि तिमीहरूको बेइज्जत हुन्छ । रेस्टिकेट गरिदिन्छु भने धम्क्यायो ।’

वार्डेनले अनेक बहाना बनाएर पाइपले पछाडि भागमा कुट्ने गरेको पीडित छात्राहरूको भनाई छ ।

पहिले पनि यस्तै घटना भएपछि वार्डेन निकालिएका थिए ।

अहिले शिक्षालयका प्रिन्सिपल र उनकी श्रीमतीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । आरोपी वार्डेन भने फरार रहेका छन् ।

तीन कक्षामा पढ्ने बालिकामाथि पनि दुर्व्यवहार

शिक्षालयमा अध्ययनरत आठ जना बालिकाहरू दुर्व्यवहारको सिकार भएका छन् । पीडितका आफन्तहरुकाअनुसार कक्षा तीनमा अध्ययन गर्नेदेखि १० मा अध्ययन गर्नेसम्मका छात्राहरूमाथि दुर्व्यवहार भएको छ ।

पीडितका एक आफन्त भन्छन्, ‘कक्षा तीनमा पढ्नेदेखि १० मा पढ्नेसम्मका छात्रा नानीहरू पीडित छन् । वार्डेनले बाउआमा नेपालमा नभएकाहरूलाई टार्गेट गर्ने गरेको देखियो । उनीहरूको संवेदनशील अंगमा हात लगाउने, कुरा कतै भनेको खण्डमा विद्यालयबाट निकाल्ने धम्की दिने, राति राति पाइपले कुट्ने गरेको पाइएको छ ।’

घटनामा प्रिन्सिपल र उनकी श्रीमतीको पनि हात रहको उनीहरूको आरोप छ । घटनाका बारेमा जानकारी हुँदा हुँदै पनि वार्डेनलाई कारबाही गर्नुको सट्टा संरक्षण भएको आरोप उनीहरूको छ ।

पीडक रामेछापबाट पक्राउ परे

प्रहरीका अनुसार पीडक भनिएका रामजी बस्नेत पक्राउ परेका छन् । उनलाई रामेछापको मन्थलीबाट पक्राउ गरिएको महानगरी प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

उनले भने, ‘घटनाको बारेमा अभिभावकहरूले जानकारी दिएपछि हामीले अनुसन्धान गरिरहेका छौँ । पीडक भनिएका व्यक्तिलाई रामेछापबाट नियन्त्रणमा लिइएको छ । उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।’

प्रहरीका अनुसार विद्यालयका प्रिन्सिपल र उनकी श्रीमतीसँग पनि सोधपुछ भइरहेको छ । घटनाका बारेमा सोधपुछका लागि मात्रै प्रिन्सिपललाई बोलाइएको प्रहरीले जनाएको छ ।

प्रहरीसँग विद्यालयका प्रिन्सिपलले तीन दिन अगाडि आफूले घटनाका बारेमा जानकारी पाएका बताएका छन् । उनले घटनाका बारेमा थाहा हुने बित्तिकै विद्यार्थी र वार्डेनलाई राखेर कुरा गरेको प्रहरीलाई बताएका छन् ।

प्रिन्सिपलको भनाई उद्धृत गर्दै डीएसपी न्यौपानेले भने ‘दुवै पक्षलाई बोलाएर कुरा गर्दा विद्यार्थीहरूले यौन दुर्व्यवहार नगरेको तर ब्याड टच चाहिँ गरेको भनेका थिए ।’

विद्यार्थीहरूले घरमा अभिभावकहरूलाई वार्डेनबाट यौन दुर्व्यवहार भएको बताएपछि आन्दोलन भएको उनको भनाई छ । प्रहरीले घटनाका बारेमा प्रिन्सिपलसँग थप बुझ्ने काम भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *