प्रधानमन्त्री पदको ‘प्रोक्सी अफर’ को अन्तर्य – Nepal Press

प्रधानमन्त्री पदको ‘प्रोक्सी अफर’ को अन्तर्य

२०५३ सालतिर पाटनढोकाभित्र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको घर अगाडि हाम्रो डेरा थियो । मुस्किलले एउटा खाट र स्टोभ अट्ने ४ सय रुपैयाँ मासिक भाडा तिरेको कोठा । पाहुना आउँदा पालो गरेर सुत्ने वा रातभर जाग्राम बस्नेबाहेक अरु विकल्प थिएन ।

एक साँझ गाउँबाट दुईजना शिक्षक एकजना भाइसहित हाम्रो डेरामा आइपुगे । अब पर्यो फसाद । कसरी व्यवस्थापन गर्ने भन्ने हाम्रो चिन्ता एकातिर, अर्कोतिर उनीहरु भन्दै थिए– कोटेश्वरदेखि आफन्तले यतै बस्नुपर्छ भनेर जिद्दी गरिरहेका थिए । तर, तपाईंहरु रिसाउनुहुन्छ भनेर यही आयौं ।

सुन्दा जोक लाग्न सक्ने यो सत्य घटना थियो । हामी त्यो रातभर पालो गर्दै सुत्यौं । एउटा टोली सुतुन्जेल अर्को टोली कलब्रेक (तास) खेलेर पालो कुर्यौं । शिक्षक मित्रहरुको न कोटेश्वरदेखि अन्यत्र कोही आफन्तले बस्न कर गरेका थिए न त उनीहरु नआएकोमा हामी रिसाउँथ्यौं । तर, त्यो समय त्यस्तै थियो ।

ठ्याक्कै यहाँनेर हाम्रा ती दुईजना सरलाई ‘आज मेरोमै बस्नुपर्छ’ भनेर अफर गर्ने कोटेश्वरदेखिका काल्पनिक आफन्त जस्तै एमाले बनेको छ । न ती शिक्षक मित्रलाई कुनै आफन्तले आफ्नोमा बस्न कर गरेका थिए न त प्रचण्ड–माधवलाई एमालेले प्रधानमन्त्रीको अफर नै गरेको छ । कांग्रेस भने २६ वर्षअघिको सत्य घटनाको पात्र हामी जस्तै बनेको छ ।

त्यो समय त बितेर गयो, पछिल्ला दुई तीन दिनयता त्यही समयको याद दिलाउने अभिव्यक्ति शीर्ष राजनीतिक तहबाट आएपछि एकाएक ‘नोस्टाल्जिया’ भएकाले यो टिप्पणी लेख्नु परेको हो । माथि उल्लेखित सन्दर्भ र पात्रहरु सत्य घटनामा आधारित हुन् र अब उल्लेख हुने पात्र र सन्दर्भ पनि सत्य घटनामै आधारित हुनेछन् ।

प्रचण्ड–माधवलाई प्रधानमन्त्री अफर

स्थानीय तह चुनावको परिणाम आइसकेपछि (बाजुराको बुढीगंगाबाहेक) यो साता सत्ता गठबन्धनका दुई शीर्ष नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले ती नै हाम्रा दुईजना शिक्षक मित्रलाई सम्झाउने खालका अभिव्यक्ति दिएका छन् । जसका कारण सत्ता र विपक्ष दुवै राजनीतिक कित्ता प्रतिक्रियात्मक भएका छन् ।

दुवै नेताले आफूहरुलाई प्रधानमन्त्री बन्ने र अहिलेको गठबन्धन भत्काउने अफर आएको तर आफूहरु यही गठबन्धन जोगाएर आउने संसदीय चुनावसम्म लैजाने पक्षमा रहेकाले मुखैमा आएको प्रधानमन्त्री पद अस्वीकार गरेको अभिव्यक्ति गर्वका साथ दिए । प्रस्ट छ, यो गठबन्धन भत्काएर अर्को सरकार बनाउने र प्रधानमन्त्रीको अफर गर्ने हैसियत नेकपा एमाले र केपी अ‍ोलीले मात्र राख्छन् । नेताहरुको आशय पनि त्यही नै आएको छ ।

ठ्याक्कै यहाँनेर हाम्रा ती दुईजना सरलाई ‘आज मेरोमै बस्नुपर्छ’ भनेर अफर गर्ने कोटेश्वरदेखिका काल्पनिक आफन्त जस्तै एमाले बनेको छ । न ती शिक्षक मित्रलाई कुनै आफन्तले आफ्नोमा बस्न कर गरेका थिए न त प्रचण्ड–माधवलाई एमालेले प्रधानमन्त्रीको अफर नै गरेको छ । कांग्रेस भने २६ वर्षअघिको सत्य घटनाको पात्र हामी जस्तै बनेको छ ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलदेखि महासचिव शंकर पोखरेलसम्मका नेताहरुले प्रचण्ड–माधवलाई प्रधानमन्त्रीको अफर गर्ने त परै जाओस्, सोच्न पनि नसकिने बताइसकेका छन् । दुवै शीर्ष नेताले पनि एमालेका कुन तह वा नेताबाट त्यो अफर आयो भन्न सकेका छैनन् । एमालेको चाहना अवश्य पनि यो गठबन्धन भत्काउने नै छ । तर, उसले चाहँदैमा न गठबन्धन भत्किन्छ न त प्रधानमन्त्रीको अफर कसैलाई गर्दैमा सरकार फेरिन संवैधानिक र राजनीतिक आधार नै छ ।

त्यसैले नेताहरुले एमाले देखाएर कांग्रेससँग बढीभन्दा बढी सिट बार्गेनिङ गर्न ‘प्रोक्सी प्रधानमन्त्री अफर’को स्टन्टबाजी गरेको आरोप लगाएका छन् । हामीलाई प्रधानमन्त्रीको अफर आएको छ तर कांग्रेसलाई नै प्रधानमन्त्री मानेर चुनावसम्मै गठबन्धन लैजान्छौं भन्ने नेताहरुको अभिव्यक्तिलाई २६ वर्ष पुरानो प्रसंगसँग जोडेर टिप्पणी गर्न खोजिएकोमात्र हो ।

गठबन्धनबाट पाँचै दल लाभान्वित

स्थानीय तह निर्वाचनअघि पनि गठबन्धनमा भागबन्डाको समस्या परेका बेला माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसले हेप्न खोजे एमालेसँग मिल्न सक्ने अभिव्यक्ति नदिएका होइनन् ।

त्यतिबेला पनि एमालेले माओवादीसँग चुनावी गठबन्धन नहुने स्पष्टीकरण दियो तर प्रधानमन्त्री तथा कांगे्रेस सभापति शेरबहादुर देउवा आश्वस्त हुन सकेनन् । सुवास नेम्वाङले त भेटेरै पनि देउवालाई आउने ती नै तहका चुनावमा एमाले–माओवादी गठबन्धन नहुने आश्वासन दिएका थिए ।

कांग्रेसले जितेका ३२९ पालिका प्रमुखमध्ये १११ जना गठबन्धनकै सहारामा जितेको परिणामले देखाउँछ । त्यस्तै माओवादी केन्द्रबाट निर्वाचित १२१ पालिका प्रमुखमध्ये ६६ जनाको जितमा गठबन्धनको सहयोग छ भने नेकपा एसबाट निर्वाचित २० वटा पालिका प्रमुखमध्ये डोल्पाका दुईजना निर्विरोध र रौतहट, सिरहा तथा सप्तरीका ६ बाहेक अन्य १२ पालिकाको जितमा गठबन्धनकै साथ छ ।

देउवाले पार्टीका कार्यक्रम र बैठकहरुमा ‘हार्ने चुनाव प्रचण्ड लड्दैनन्, हामीले नदिए एमालेतिर जान्छन्’ भनेर सहकर्मीहरुलाई गठबन्धनप्रति लचिलो बनाए । देउवाले आफूलाई प्रधानमन्त्री बनाउन पार्टी फुटाउने माधव नेपाललाई सडकमा छाड्न नसक्ने पनि सार्वजनिक रुपमै बताएका थिए । गठबन्धनको विरोध गर्नेलाई कारबाही गर्नेसम्मको चेतावनी दिएपछि कांग्रेसजनहरु एकाएक लचिलो बनेका थिए ।

कांग्रेसले गठबन्धन नगरे प्रचण्ड एमालेतिर जाने र २०७४ सालको संसदीय चुनावकै हालतमा कांग्रेस पुग्ने डर देउवाले सार्वजनिक रुपमै व्यक्त गरेका थिए । नभन्दै देउवा तालमेलप्रति उदार भए । तर, तलका कतिपय कांग्रेस देउवा जस्तो दानवीर नबन्दा गठबन्धनले सोचेजस्तो तालमेल भएन । करिब ४ सय स्थानीय तहमा मात्र तालमेल भयो ।

चुनावी तालमेलबाट फाइदा नभएको भन्ने माधव नेपाल र उपेन्द्र यादवदेखि सोचेजस्तो नभएको भन्ने प्रचण्डसम्मका अभिव्यक्ति आइरहँदा निर्वाचनको परिणामले पनि गठबन्धनका सबै दल लाभग्राही भएको देखिन्छ । कांग्रेसले जितेका ३२९ पालिका प्रमुखमध्ये १११ जना गठबन्धनकै सहारामा जितेको परिणामले देखाउँछ ।

त्यस्तै माओवादी केन्द्रबाट निर्वाचित १२१ पालिका प्रमुखमध्ये ६६ जनाको जितमा गठबन्धनको सहयोग छ भने नेकपा एसबाट निर्वाचित २० वटा पालिका प्रमुखमध्ये डोल्पाका दुईजना निर्विरोध र रौतहट, सिरहा तथा सप्तरीका ६ बाहेक अन्य १२ पालिकाको जितमा गठबन्धनकै साथ छ ।

तुलनात्मक रुपमा जसपाले गठबन्धनबाट फाइदा लिन नसकेको यथार्थ हो । जनकपुरको मेयर र विराटनगरको उपमेयर गठबन्धनबाटै हारेको जसपाले वीरगञ्जको मेयरमात्र गठबन्धनबाट जितेको हो । गठबन्धनको सबैभन्दा सानो घटक राजमोले जितेका चार पालिका प्रमुखमा समेत गठबन्धनकै साथ छ ।

झापाको कचनकवलदेखि रोल्पा र रुकुममा कांग्रेसले एमालेसँग तालमेल गरेकै हो । सिन्धुपाल्चोकको सुनकोशीदेखि प्यूठानको झिमरुकसम्म माओवादीले एमालेसँग तालमेल गरेकै हो भने अछामको मेल्लेखदेखि हुम्लाको चंखेलीसम्म नेकपा एसले पनि एमालेसँग तालमेल गरेको हो । जसपाले इलाम, पाँचथरदेखि ओखलढुंगाका विभिन्न पालिकामा एमालेसँग तालमेल गरेकै हो । पाँच दलीय गठबन्धनको राजमोमात्र एक पार्टी हो, जसले गठबन्धन बाहिरका दलसँग तालमेल गरेन ।

वास्तवमा गठबन्धनबाट सबै दलले उल्लेख्य जित निकालेका छन् र उनीहरुले यसको महत्व पनि बुझेका छन् । यतिसम्म कि गठबन्धनकै दलहरुमध्ये राजमोबाहेक अन्य सबै दलले ठाउँअनुसार एमालेसँग समेत मिल्न बाँकी राखेनन् । झापाको कचनकवलदेखि रोल्पा र रुकुममा कांग्रेसले एमालेसँग तालमेल गरेकै हो ।

सिन्धुपाल्चोकको सुनकोशीदेखि प्यूठानको झिमरुकसम्म माओवादीले एमालेसँग तालमेल गरेकै हो भने अछामको मेल्लेखदेखि हुम्लाको चंखेलीसम्म नेकपा एसले पनि एमालेसँग तालमेल गरेको हो । जसपाले इलाम, पाँचथरदेखि ओखलढुंगाका विभिन्न पालिकामा एमालेसँग तालमेल गरेकै हो । पाँच दलीय गठबन्धनको राजमोमात्र एक पार्टी हो, जसले गठबन्धन बाहिरका दलसँग तालमेल गरेन ।

त्यसो भए पछिल्ला अभिव्यक्ति केको लागि ? यसको सीधा जवाफ छ आगामी मंसिर वा फागुनसम्म हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सिट लिन कांग्रेसलाई अहिलेदेखि नै दबाबमा राख्ने रणनीतिबाट ‘प्रधानमन्त्रीका प्रोक्सी अफर’हरुका कथ्य निर्माण भइरहेका छन् । जसरी स्थानीय चुनावअघि एमालेसँग मिल्न सकिने धम्कीले देउवा हच्किए, फेरि पनि त्यही फर्मुला प्रयोग हुँदैछ ।

प्रचण्ड–माधव र उपेन्द्रहरुले गठबन्धनप्रति देउवा र कांग्रेसको संस्थापन पक्ष हदैसम्म लचिलो भएको महसुस गरेका छन् । तर, स्थानीय चुनावको परिणामले गठबन्धनका विपक्षमा रहेका शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माको क्षेत्रमा एमालेले जितेको परिणाम देखाएर सिंगो कांग्रेसलाई दबाबमा पार्न चाहन्छन् । जसले गर्दा आउने संघ र प्रदेशको सिट बाँडफाँटमा आफ्नो बार्गेनिङ पावर बढोस् ।

स्थानीय चुनावलगत्तै आएका गठबन्धनका पराकम्पहरुले सरकार र सत्ता गठबन्धनलाई हल्लाउने सम्भावना छैन । कांग्रेसलाई दबाबमा राख्ने र धेरै सिट लिने रणनीतिको प्रारम्भिक रुझानमात्र हुन् प्रचण्ड–माधव र उपेन्द्रका अभिव्यक्तिहरु । खासमा भोलि १६५ सिटको भागबन्डामा कांग्रेसको एकल बहुमत नपुगोस् भन्नेमा गठबन्धनका दलहरु सचेत छन् ।

स्थानीय चुनावबाट माओवादी हौसिएको छ । १०६ पालिका जितेको माओवादीले गठबन्धनको बलबाट १२१ पालिकाको नेतृत्व गर्ने मौका पाएको छ । अझ नुवाकोट, गोरखा, कैलाली, कञ्चनपुर, सिन्धुपाल्चोकलगायतका जिल्लामा एक्लै लडेर पनि विगतको भन्दा राम्रो नतिजा ल्याएकाले माओवादीको बार्गेनिङ पावर बढेको छ ।

विगतमा एमालेसँग ४० प्रतिशतको हाराहारी सिट लिएर गठबन्धन गरेको माओवादीले स्थानीय चुनावको नतिजापछि गठबन्धनमा त्योभन्दा ठूलो हिस्साको दाबी गर्ने निश्चित छ । स्थानीय चुनावअघिको हैसियत अब नरहेको माओवादी नेताहरु बताइरहेका छन् । अबको वार्ता कांग्रेससँग फिफ्टी–फिफ्टीबाट शुरु हुने र ४५ प्रतिशत सिटमा माओवादीको दाबी रहने नेताहरु बताउँछन् ।

माधव नेपालले पनि बारम्बार आफूहरु अपमानित हुनका लागि जन्मिएका होइनौं भनिरहेका छन् । उपेन्द्रले स्थानीय चुनावमा कांग्रेस र माओवादीको मात्र गठबन्धन भएको बताएका छन् । यसबीचमा उनले एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटेका छन् । बाबुराम भट्टराई गठबन्धनबाट विरक्तिसकेका छन् । जसपाका नेताहरुको चाहना ओलीले माधव नेपालसहितको एमाले बनाऊन् र यो सरकार ढालौं भन्नेछ ।

स्थानीय चुनावलगत्तै आएका गठबन्धनका पराकम्पहरुले सरकार र सत्ता गठबन्धनलाई हल्लाउने सम्भावना छैन । कांग्रेसलाई दबाबमा राख्ने र धेरै सिट लिने रणनीतिको प्रारम्भिक रुझानमात्र हुन् प्रचण्ड–माधव र उपेन्द्रका अभिव्यक्तिहरु । खासमा भोलि १६५ सिटको भागबन्डामा कांग्रेसको एकल बहुमत नपुगोस् भन्नेमा गठबन्धनका दलहरु सचेत छन् ।

सारमा प्रचण्ड र माधव नेपाल दुवैजना केपी ओली र एमालेलाई सके जति बल लगाएर हराउन चाहन्छन् । त्यसका लागि कांग्रेससँगको अझ कसिलो गठबन्धन र सिट बाँडफाँटमा आफूहरु निर्णायक बनेर आउने पाँच वर्ष सरकारको नेतृत्वमा समेत हिस्सेदारी तथा राज्यका माथिल्ला पदमा भागबन्डा नै गठबन्धनको अन्तिम मिसन हो ।

स्वाभाविक रुपमा गठबन्धनको फाइदा सबैभन्दा धेरै कांग्रेसले नै पाएको छ र आउने चुनावमा पनि उसैले पाउने हो । कांग्रेसलाई थोरै मत गठबन्धनका दलहरुको थपिँदा पनि जित निश्चित हुन्छ, जुन सम्भावना साना दलको हकमा कम हुन्छ । कांग्रेसका कतिपय नेताले १६५ मध्ये कम्तिमा १०० सिटमा कांग्रेस लड्ने र बाँकी गठबन्धनमा भागबन्डा गर्ने प्रस्ताव स्थानीय चुनावअघि राखेका पनि थिए ।

तर, स्थानीय चुनावपछि त्यो अवस्था फेरिएको छ । माओवादी र गठबन्धनका अन्य दल समानुपातिक मतको समेत हिसाब गरेर बसेका छन् । कांग्रेसलाई धेरै सिट छाड्दा उसले अधिकांश ठाउँमा जित्ने र समानुपातिक मतसमेत जोडिँदा एकल बहुमत हुन सक्नेप्रति सचेत छन् । त्यसैले सिट भागबन्डामा अहिलेदेखि नै दबाब सिर्जना गर्न प्रोक्सी अफरका कुुराहरु ल्याएको हुनसक्छ ।

सामान्यतः प्रचण्ड–माधवहरुको प्रस्ताव यसअघि प्रत्यक्ष सिट ज–जसले जितेका छन् ती कायमै राखेर एमाले र लोसपाले जितेका ११२ सिट स्थानीय तह चुनावको परिणामलाई समेत मिलाएर भागबन्डा गर्नुपर्ने पक्षमा छन् । यो प्रस्ताव अहिलेसम्म गठबन्धनमा आएको छैन । तर, आन्तरिक छलफलहरु त्यही दिशामा भइरहेका छन् । पछिल्लोपटक प्रचण्ड र माधवबीच बानेश्वरको एक होटलमा पनि यिनै विषयमा छलफल भएको बताइन्छ ।

तर, कांग्रेसले त्यो प्रस्ताव मान्ने सम्भावना छैन । पहिलो कुरा त २०७४ को सिटलाई आधार मान्न कांग्रेस तयार हुन्न । किनकि बाम गठबन्धन र मधेसमा मधेसवादी गठबन्धनका कारण कांग्रेस १६५ मध्ये २३ सिटमा खुम्चिएको थियो । जबकि माओवादीले ३३ सिट जितेको थियो भने एमालेबाट फुटेको नेकपा एससँग १३ जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।

स्थानीय चुनावकै परिणामका आधारमा सिट बाँडफाँट गर्दा पनि कांग्रेस एक्लै ६० प्रतिशतभन्दा बढी हुन्छ । उसको प्रस्ताव पनि ६० आफू राखेर ४० गठबन्धनलाई बाँड्ने नै हुन्छ । अहिले गठबन्धनका शीर्ष नेताहरुबाट आइरहेका दबाबमूलक अभिव्यक्तिहरु र प्रचण्डको धम्की पनि आउने संघीय र प्रादेशिक निर्वाचन क्षेत्रको सिट कसले बढी लिने भन्नेमै केन्द्रित हुन् ।

चुनावी तालमेलबाट मालामाल भएका गठबन्धनका कुनै पनि दल यो गठबन्धन छाडेर एक्लै लड्ने वा अर्को गठबन्धन बनाउने पक्षमा छैनन् । मात्र एकले अर्कोलाई दबाबमा राखेर कसले बढी र सुरक्षित क्षेत्र हत्याउने भन्ने नै चूरो कुरा हो ।

यसो गरिरहँदा कांग्रेस पनि साइजमा बसोस् र आउने पाँच वर्ष संघ र प्रदेशका सरकारमा आलोपालो हुनुपर्छ भन्ने मनसायले सबै घटनाक्रमहरु अघि बढ्नेछन् । कांग्रेस र मधेसवादी वा साना दलको मात्र सरकार बन्नेगरी संसदीय समीकरण बन्यो भने प्रचण्ड–माधवको राजनीतिमा त्यही दिनबाट पूर्णविराम लाग्छ । त्यसैले आफू निर्णायक हुने गरीमात्र सिट बाँडफाँट गर्ने प्रचण्डको एकमात्र मिसन हुनेछ ।

जसले गर्दा प्रचण्डको तेस्रोपटक प्रधानमन्त्री बन्ने सपना पूरा हुनेछ । सारमा प्रचण्ड र माधव नेपाल दुवैजना केपी ओली र एमालेलाई सके जति बल लगाएर हराउन चाहन्छन् । त्यसका लागि कांग्रेससँगको अझ कसिलो गठबन्धन र सिट बाँडफाँटमा आफूहरु निर्णायक बनेर आउने पाँच वर्ष सरकारको नेतृत्वमा समेत हिस्सेदारी तथा राज्यका माथिल्ला पदमा भागबन्डा नै गठबन्धनको अन्तिम मिसन हो ।

देउवालाई दबाब दिएर होस्, धम्क्याएर होस् वा फकाएर होस् शीर्ष नेताहरु यही गठबन्धनलाई निरन्तरता दिँदा नै आफ्नो सुरक्षित राजनीतिक भविष्य देखिरहेका छन् । त्यसैले बेला बेलामा कांग्रेसले अपमान गरे एमालेतिर लाग्छौं है भन्दै प्रोक्सी अफरका पटकथा अझ धेरै बनाइनेछन् । अहिले प्रचण्ड–माधवलाई गरिएको प्रधानमन्त्रीको अफर त्यही पटकथाको सुरुवातमात्र हो ।


प्रतिक्रिया

2 thoughts on “प्रधानमन्त्री पदको ‘प्रोक्सी अफर’ को अन्तर्य

  1. विश्लेषण सटिक, तटस्थ र सहि छ, लेखका लागि मातृकाजीलाई धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर