कबड्डी: लोकल कथाको ‘ब्रान्डेड कलेक्सन’ – Nepal Press

कबड्डी: लोकल कथाको ‘ब्रान्डेड कलेक्सन’

नेपाली सिनेमाको बजार सानो छ । छिमेकी भारतीय चलचित्रले नेपालमा करोडौंको ब्यापार गर्दा हाम्रा सिनेमा भने पोस्टर टाँस्न प्रयोग हुने गमको रकम समेत ‘कलेक्सन’ गर्न असमर्थ बनेको तितो यथार्थबीच केही सिनेमाले रहरलाग्दो व्यापार गरेका छन् ।

गत शुक्रबारबाट नेपाली सिनेमाघरमा प्रर्दशनमा आएको कबड्डी सिरिजको चौथो श्रृङ्खला कबड्डी –४ ले रहरलाग्दो व्यापार गर्ने चलचित्रमा आफूलाई दर्ज गर्न सफल भएको छ । प्रर्दशनको एक साता नपुग्दै १३ करोड व्यापारनजिक पुग्नु नेपाली सिनेमाको लागि एउटा उत्साहजनक समाचार हो । रामबाबु गुरुङद्वारा लिखित तथा निर्देशित कबड्डी–४ को व्यापारले कथा र पात्रको संयोजनलाई सही ढंगले प्रयोग गर्न सके नेपाली चलचित्र पनि अब्बल बन्छ भन्ने प्रमाणित गरेको छ ।

२०–२५ रुपैयाँमा पाइने एक ग्लास लोकल तीनपाने रक्सीको स्वाद जत्तिको मीठो हजारौं रुपैयाँ पर्ने ‘ह्स्किी’मा पनि हुन्न भन्ने सराबीहरुको मान्यतालाई ठ्याक्कै प्रमाणित गर्दै ‘लोकल स्टोरी’ समावेश भएका, विनातामझामका चलचित्रले ‘ब्राण्डेड कलेक्सन’ गरेका छन् ।

पछिल्लो केही वर्षदेखि नेपालमा रिलिज भएका छक्कापञ्जा सिरिज, कबड्डी सिरिजले एउटा सानो गाउँको कथालाई समावेश गरेर सहरीया अर्थात आफूहरुलाई ‘ब्राण्डेड सोसाईटी’मा रहेको बताउने दर्शकहरुको ध्यान खिच्न सफल भएको छ । नेपाली मल्टीप्लेक्समा धेरै शोहरु पाउने विदेशी चलचित्रलाई समेत विस्थापित गर्दै लोकल कथा समावेश भएका नेपाली सिनेमाले ‘ब्राण्डेड’ कलेक्सन गर्न थालेका छन् ।

छक्का पञ्जा तथा कबड्डीले नेपालको एउटा गाउँको समसमयिक कथालाई केन्द्रमा राखेर सहरीया दर्शकबाट करोडौं कमाउन सफल बन्नुले नेपाली गाउँले समाजमा रहेको विविधतालाई दर्शकले रुचाउने रैछन भन्ने सोचलाई अझ अघि बढाएको छ । नेपालको ७० प्रतिशतभन्दा धेरै क्षेत्र ग्रामीण छ । त्यहाँको जीवनशैलीलाई मीठो ढंगबाट उठान गर्नसके नेपाली ‘अग्र्यानिक’ सिनेमाले करोडौं क्लबमा आफूलाई सहजै उभ्याउन सक्छन भन्ने मान्यता पछिल्लो समय सफल भएका चलचित्रबाट बुझ्न सकिन्छ ।

कथा सामान्य गाउँले भएपनि त्यसलाई प्रस्तुत गर्ने निर्देशकीय क्षमता, त्यसमा अभिनय गर्ने कलाकारको कौशलताले ती चलचित्रलाई भव्य बनाउछ भन्ने मानक स्थापित भएको छ । करोडौं लगानी गरेर निर्माण भएका सेट, लाखौँ रुपैँया खर्च गरेर विदेशमा छायाङ्कन हुने गीतका भिडिओे र चलचित्रलाई भव्य देखाउन सहरको पाँचतारे होटल भाडामा लिनु पर्छ भन्ने मान्यतालाई पछिल्लो समय सफल भएका गाउँले चलचित्रले खारेज गरिदिएको छ ।

अझ नेपाली दर्शकहरुले सहरीया वातावरणमानै निर्माण गरिएको गाउँले चरित्र, संघर्षरत मानिसहरुको जीवनशैली भएका चलचित्रलाई समेत मन पराएको पाइएको छ । जात्रा सिरिज र पशुपतिप्रसाद यसको उदाहरण हुन् । आधुनिक जीवनशैलीमा आधारित भएर करोडौंको लगानीमा निर्माण भएका चलचित्र असफल भैरहेको अवस्थामा गाउँले कथाका चलचित्र सफल मात्र भएका छैनन्, नाफामा पनि गएका छन् ।

विभिन्न गाउँबाट सहर छिरेर आफूलाई सफल बनाउन अनेक क्रियाकलाप गर्ने, फस्ने, फसाउने युवाहरुको कथालाई मीठो ढंगबाट प्रस्तुत गर्दै निश्चल बस्नेतले निर्देशन गरेको ‘लुट’ सफल भएपछि सुरु भएको भएको नेपाली चलचित्रको ‘न्यू ट्रेन्ड’ले नयाँ कथा र सुहाउँदो तथा जीवन्त अभिनय गर्ने कलाकार भए चलचित्र सफल हुन एउटा खाईलाख्दो ‘हिरो’ चाहिँदैनरैछ भन्ने धारणा स्थापित गर्न सफल बनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *