रुपन्देही: एमालेका नेतैनेताको घर, तर मतदातालाई किन लागेन भर ? – Nepal Press

रुपन्देही: एमालेका नेतैनेताको घर, तर मतदातालाई किन लागेन भर ?

रुपन्देही । अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेका रुपन्देहीका कुनै पनि नगरपालिका तथा गाउँपालिकाको नेतृत्व एमालेले कायम राख्न सकेन । एमालेले बलियो आधार क्षेत्र दाबी गर्दै आएका बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर नगरपालिका तथा कन्चन, सियारी, शुद्धोधन गाउँपालिकामा नेतृत्व गुमाएपछि अहिले पार्टी नेतृत्वभित्रै घात–अन्तरघातको आरोप–प्रत्यारोप सुरु भएको छ ।

स्थानीय नेता कार्यकर्ताहरु रुपन्देहीमा एमाले पराजित हुनु सत्तारुढ पाँच दलको गठबन्धन मात्रै कारण नभएर पार्टीभित्रकै समस्या भएको तर्क गरिरहेका छन् । जिल्लामा पार्टीका नेताहरु धेरै हुनु, टिकट वितरण प्रणाली पारदर्शी र समयमा गर्न नसक्नु, संगठनलाई भुत्ते बनाउनु, पार्टी नेतृत्वमा भएका कामलाई जनस्तरमा पुर्याउन नसक्नु, नेताहरुभित्रै एक पक्षले अर्को पक्षका उम्मेदारलाई सहयोग गर्न नखोज्नु, नेकपा एसले काट्ने मतलाई हचुवाको भरमा लिनु, नेताहरुले घरमै बसेर जित्ने तथ्यांक निकाल्नु, रुपन्देहीबाट प्रदेश राजधानी सार्ने विषयमा यहाँको नेतृत्व मौन रहनु एमाले पराजित हुनुका मूल कारण भएको तथ्यसहितका विवरण विश्लेषक तथा एमालेका नेताहरुले सार्वजनिक गरेका छन् ।

रुपन्देही नेकपा एमालेका नेतैनेताहरुको घर हो । जिल्लाको उत्तरी क्षेत्रका पालिकामा लामो समयदेखि आधार इलाका बनाएको एमालेले केही समययता दक्षिणी क्षेत्रका पालिकामा आफ्नो बलियो उपस्थिति देखाउन थालेको थियो । तर वैशाख ३० मा भएको स्थानीय तहको परिणामले एमालेको दाबीलाई कमजोर बनाएको मात्र छैन, एमालेका शीर्ष नेताहरुकै राजनीतिक भविश्यमा प्रश्न उठाएको छ ।

यहाँबाट नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव छविलाल बिश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, पोलिटब्युरो सदस्यहरु खिमलाल भट्टराई, राधा ज्ञवाली, लिला गिरी, दधिराम न्यौपाने, केन्द्रीय सदस्य शिवराज सुवेदी, कमल गौतम, गोमा आचार्य, सावित्रा अर्याल, भूमिश्वर ढकाल, प्रदेश उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठसहित विभिन्न विभागमा गरेर दर्जनौं नेताहरु केन्द्रमा पुगेका छन् ।

एमाले विभाजन भएर बनेको नेकपा एसमासमेत यहाँबाट कम नेता तथा जनप्रतिनिधि गएको अवस्थामा अघिल्लो स्थानीय तहको निर्वाचनभन्दा निकै कमजोर अवस्थामा पार्टीको उपस्थिति पुगेको छ ।

२०५४ सालयता बुटवलमा बलियो बन्दै आएको एमाले एकाएक कमजोर अवस्थामा पुगेको छ । २०५४ यताका सबै चुनावमा एमाले भारी मत अन्तरले जित्दै आएको थियो । २०७० सालको संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एमालेका विष्णु पौडेलले निकै फराकिलो मतान्तरले पराजित गरेपछि बुटवल एमालेको विरासतजस्तै बनेको थियो ।

२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा नेपाली कांग्रेसलाई थला पारेको एमालेलाई गठबन्धनको साथमा नेपाली कांग्रेसले २०४९ सालको अवस्थामा पार्टीलाई पुर्याएको छ ।

एमालेविरुद्ध सत्तारुढ दलहरुको गठबन्धन भएको अवस्थामा पनि बलियो सांगठनिक आधार भएका पालिकामा आन्तरिक मतभेतकै कारण अधिकांश पालिका एमालेले गुमाएको पार्टी निकट नेताहरुको विश्लेषण छ ।

कांग्रेसनिकट बुद्धिजीवीको धारणामा रुपन्देहीका एमालेकै कमजोरीका कारण पराजित भएको निष्कर्ष छ । एमालेकै नेता कार्यकर्ताले बुटवलमा पार्टी इतिहासकै कमजोर अवस्थामा देखिएको भन्दै निर्मम समीक्षा आवश्यक भएको बताउँदै आएका छन् ।

एमाले रुपन्देहीका जिल्ला सदस्य तथा क्षेत्र नं २ का संयोजक बाबुराम पन्थीले पार्टीले रुपन्देहीमा चुनाव हार्नुको मूल कारण जिल्ला पदाधिकारीको भूमिका, टिकट वितरण मै बसेका नेताहरु आफूले टिक नपाएपछि आधिकारिक उम्मेदार हराउन योजना बनाउनु भएको बताउँदै मातहतका कमिटी र कार्यकर्तालाइ अन्तरघार गरे भन्न नसुहाउने बताएका छन् ।

एमाले जिल्ला सदस्य तथा युवा समितिका संयोजक देवराज पोखरेलले पार्टी संगठनमा व्यक्तिवाद बढ्नु, पार्टी संस्थागत ढंगले परिचालन नहुनु, उम्मेदार छनौटमा ध्यान नदिइनु, पार्टीको राष्ट्रिय मुद्दामा डिफेन्सिभ हुन नसक्नु एमाले पराजयको मूल कारण भएको बताएका छन् ।

उनले प्रथम सहिद लखन थापा होइनन् भन्ने पार्टी अध्यक्षको अभिव्यक्तिका कारण जनजातिको मत काटिएको, प्रदेश राजधानीको मुद्दामा वास्तविक कुरा भन्न नसकेको, सुकुम्बासी समस्याका बिषयमा तत्कलीन सरकार गम्भीर नभएको र विपक्षीका रणनीतिविरुद्ध योजनाबद्ध तरिकाले परिचालन हुन नसक्नु र नेता धेरै भएकै कारण परिचालनमा समस्या आउनु रुपन्देहीमा एमाले पराजित हुनुका कारण रहेको बताएका छन् ।

बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले रुपन्देहीलाई प्रदेश राजधानी कायम गर्न नसक्नु, २०७४ मा निर्वाचित एमाले नेतृत्वले गरेका वाचा अधिकांश पूरा गर्न नसक्नु, अनावश्यक कर बढाउनु, विपक्षी दल र संघसंस्थालाई नसमेट्नु, सुशासन र पारदर्शिता कायम गर्न नसक्नुले एमालेको विपक्षमा जनमत आएको बताएका छन् ।

बुटवलका स्थानीय निराजन गौतम लाकौलको विचारमा पार्टी कमिटी र स्थानीय सरकारबीचको अन्तरविरोध नै एमाले पराजयको मूल कारण भएको तर्क गर्छन् । ‘सेवा गर्न पठाएका व्यक्ति शासक भए, स्थानीय सरकार र स्थानीयबीच दूरी बढ्यो, नीतिअनुसार काम भएन, त्यही नै कारण हो । यसैबाट समीक्षा खोज्नुपर्दछ’, उनले भने ।

एमाले लुम्बिनी प्रचार विभाग प्रमुख डी.आर.घिमिरेले पार्टीभित्रैबाट अन्तरघातबाट यस्तो परिणाम आएको बताउँछन् । ‘आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने आत्मकेन्द्रित प्रवृत्तिको प्रभावमा परेर भोट खसालेको देखियो’, घिमिरेले भने ।

‘असन्तुष्टिको व्यवस्थापन गर्न नसक्नु, उम्मेदवारका आकांक्षी धेरै हुनु र एकले अर्कोलाई स्वीकार्न नसक्नु, पार्टी नेतृत्वका वीचमा एकमत नहुनु, अर्थात् निर्णयलाई सवैले आत्मसात नगर्नु, विगत कार्यकालको असन्तुष्टि प्रकट हुनु, प्रदेश राजधानी प्रकरणमा कार्यकर्तालाई एक ठाउँ राखेर सहमत गराउने प्रयास नहुनु नै रुपन्देहीमा एमाले पराजयका मूल कारण हुन्’, घिमिरेले भने ।

विश्लेषक हरि ज्ञवालीले संगठन बलियो भएपनि पार्टीभित्रै घात अन्तरघातका कारण एमाले पराजित भएको बताउँछन् । ‘एमालेका उम्मेदवारहरु गठबन्धनको चौतर्फी घेराबन्दीमा पर्नु, उम्मेदवारका आकांक्षी धेरै भएकाले असन्तुष्ट पक्षलाई समेट्न नसक्नु, एमालेको उम्मेदवार भएपछि जितिहालिन्छ भन्ने भ्रममा पर्नु, पार्टीको भूगोलमा काम नगरेका उम्मेदवार बनाइनु, प्रदेश अस्थायी राजधानी सानु उम्मेदवारका आकाक्षी नेतामुखी हुनु पराजयका कारण हुन्’, ज्ञवालीले भने ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी कल्पना नै नगरेको परिणाम देखिएको बताउँछन् । एमालेका उम्मेदवारमा टिकट मात्र पाए जितिन्छ भन्ने ‘ओभर कन्फिडेन्ट’ले पनि परिणाम सोचेजस्तो नआएको उनी बताउँछन् । ‘दक्षिणी क्षेत्रमा यति राम्रो एमालेको जनमत आउँदा पहिले जितेका स्थान गुमाउनुपरेको छ, एमाले हराउन ठूलो शक्ति लागेको थियो, त्यसमा पार्टीभित्रका व्यक्ति पनि सहयोगी बनेका आशंका धेरैले उठाउनुभएको छ, निर्मम समीक्षा गरेर अगाडि बढ्छौं’, केसीले भने ।

एमाले केन्द्रीय सदस्य कमल गौतमले एमालेभित्रकै आन्तरिक समस्याले अहिलेको नतिजा आएको बताए । ‘एमाले लुम्बिनीका उपाध्यक्ष तथा बुटवलका पूर्वमेयर भोजप्रसाद श्रेष्ठ भने रुपन्देहीमा एमालेको पक्षमा अप्रत्यासित परिणाम आउनुमा प्रदेशको स्थायी राजधानी बुटवल कायम गराउन नसक्नु मुख्य कारण भएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर