एकै परिवारका सात जनाको मृत्युपछि शोकमा गाउँ, मन्त्री महतोका आँखा रसाए – Nepal Press
तारा एयर विमान दुर्घटना

एकै परिवारका सात जनाको मृत्युपछि शोकमा गाउँ, मन्त्री महतोका आँखा रसाए

जनकपुरधाम । तारा एयरको जहाज दुर्घटनामा एकै परिवारका सात जनाको मृत्यु भएपछि धनुषाको मिथिला नगरपालिका शोकमा डुबेको छ ।

जहाज दुर्घटनामा मिथिला नगरपालिका ११ का राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङको मृत्यु भएको हो । उनीहरु मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरको विमानमा जोमसोम जाँदै थिए ।

गोले र उनका आफ्न्तहरु सवार जहाज सम्पर्कविहीन बनेको समाचार थाहा पाएदेखि नै मिथिला नगरपालिका ११ का बासिन्दा चिन्तित थिए । सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र सवार सबैको निधन भएको खबर बाहिरिएको छ । गोलेको घरमा बिहानैदेखि मानिसहरुको भीड लागेको छ ।

मृतक गोले मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोको निजी सचिवालयमा काम गर्थे । गोलेसहित परिवारका ७ जनाकै मृत्यु भएपछि मन्त्री महतोले उनको घर पुगेर परिवारलाई सान्त्वना दिएका छन् । उनको घर पुगेका मन्त्री महतो भावविह्वल देखिए । मृतक गोलेका

आफ्न्तसँग भेटेपछि मन्त्री महतोको आँखा रसाए ।

नसोचेको घटना भयो : मन्त्री महतो

म भावुक छु अहिले । बोल्न सक्ने अवस्थामा छैन । उहाँहरुसँग मेरो पारिवारिक सम्बन्ध थियो । जे भए पनि यो एउटा आकस्मिक घटना हो । सम्पूर्ण परिवारलाई अहिले धैर्यधारण गर्न भन्छु । मकरबहादुर तामाङ जो, मिथिला नगरपालिका ११ स्थित विद्यालयबाट केही दिनअगाडि सेवा निवृत्त भएर जीवनयापन गर्दै हुनुहुन्थ्यो । उहाँका भाञ्जा राजन गोले सामाजिक काममा पनि लागिरहने मान्छे । त्यसपछि मकर सरको परिवार, दिदी, भिनाजुलगायत ७ जना सबै आफन्त थिए ।

हिजो पोखरा गएर आज बिहानको फ्लाइटबाट मुक्तिनाथ जाने कुरा थियो । हिजो पनि कुरा भएकै थियो । उहाँले पोखरामा छु २/३ दिनपछि फर्किन्छु भन्नुभएको थियो । त्यो कुरा अहिले पनि मेरो दिमागमा ताजै छ । एउटै परिवारको ७ जनाको दुर्घटनामा मृत्युपछि यो गाउँ नै शोकमा छ । विपद्को बेलामा पीडित परिवारलाई सान्त्वना दिनुपर्छ । यो नसोचेको घटना भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर