दुई ‘भाग्यमानी’ मुख्यमन्त्री, रहलान् त पूरै कार्यकाल ? – Nepal Press

दुई ‘भाग्यमानी’ मुख्यमन्त्री, रहलान् त पूरै कार्यकाल ?

कैलाली । मुलुकका सातवटै प्रदेश सरकारले चार वर्ष पूरा गरिसकेका छन् । यो अवधिमा दुईप्रदेशबाहेक सबै सरकार फेरिएका छन् । कुनै प्रदेशमा तीनजना त कुनैमा दुई जना मुख्यमन्त्री भएका छन् । तर, मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने क्रमशः लालबाबु राउत, त्रिलोचन भट्ट भने अहिलेसम्म कायमै छन् ।

पार्टी विभाजनपछि एमालेले नेतृत्व गरेको सबै प्रदेशका मुख्यमन्त्री गुमाएको थियो । त्यसपछि फेरिएको राजनैतिक समीकरणले कांग्रेस र माओवादीले नेतृत्व गरेको सरकार पनि गुम्यो । तर, माओवादीले नै नेतृत्व गरेको सरकार पटकपटक पुनर्गठन भए पनि मुख्यमन्त्री कायमै रहे ।
प्रदेश १ मा शेरधन राईपछि राजेन्द्र राई मुख्यमन्त्री बने, मधेस प्रदेशमा भने समीकरण फेरिँदा पनि राउतले नै निरन्तरता पाए ।

बागमती प्रदेशमा तीन मुख्यमन्त्री फेरिसकेका छन् । अब चौथाको चर्चा सुनिन थालेको छ । यहाँ डोरमणी पौडेल, अष्टलक्ष्मी शाक्य हुँदै अहिले राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री छन् ।

अब बजेटलगत्तै सत्ता गठबन्धन दलहरूको सहमति बमोजिम नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आगामी असारमा प्रदेश सरकारको नेतृत्व गर्ने कांग्रेसका नेताहरूले बताइसकेका छन् ।

यता गण्डकी प्रदेशमा पनि दुईपटक मुख्यमन्त्री फेरिएका छन् । पृथ्वीसुब्बा गुरुङपछि अहिले कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री छन् । लुम्बिनीमा शंकर पोख्रेलपछि कुलप्रसाद केसी, र कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही पछि जीवनबहादुर शाही मुख्य मन्त्री भए । तर, सुदूरपश्चिम प्रदेशमा त्रिलोचन भट्टले नै सुरूबाट सरकारको नेतृत्व गरिरहेका छन् ।

अझै रहन सक्छन् भट्ट

सुदूरपश्चिम प्रदेशमा अहिले ५१ जना प्रदेश सभा सदस्य छन् । तीमध्ये सबै भन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीका १४ माओवादी केन्द्रका १३, कांग्रेसका ११, एमालेका सभामुखसहित ११ , जसपा र लोसपाका १/१ जना सांसद छन् ।

अहिले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा माओवादीले सरकारको नेतृत्व गरिरहेको छ । केही समयअघि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसले दाबी गरेको थियो । तर, निर्वाचनको आचारसंहिता लाग्नु भन्दा केही घण्टा अघि कांग्रेस सरकारमा सहभागी यो । अब कांग्रेसले मुख्यमन्त्री पाउने सम्भावना पनि कमै छ ।

माओवादीपछि सरकारको नेतृत्व गर्न सक्ने पार्टी संख्यातम हिसाबले नेकपा एकीकृत समाजवादी हो । वागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पद कांग्रेसलाई हस्तान्तरण गर्दा सुदूरपश्चिम प्रदेशमा माओवादीले एकीकृत साजवादीलाई हस्तान्तरण गर्न सक्ने सम्भावनाबारे चर्चा नभएको होइन । तर, नेकपा एकीकृत समाजवादीका प्रदेश सचिव दिनेश चन्द्र सुवेदी यस विषयमा छलफल नै प्रारम्भ नभएको बताउँछन् ।

‘अहिले सरकार फेर बदलको छलफल प्रारम्भ भएको छैन’ उनले भने ।

नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व नलिने अवस्थामा यही सरकार नै पुरै कार्यकाल जान सक्ने माओवादी नेताहरूको ठहर छ ।
‘यस पछि पनि सरकार ढाल्ने कुरा नभएको होइन तर, त्यति सजिलो छैन’ माओवादीका एक नेता भन्छन्, ‘यहाँ जति ठूलो कुरा गरे पनि केन्द्रीय सहमतिभन्दा बाहिर कोही जान सक्दैनन् । केन्द्रमा सुदूरपश्चिम प्रदेश सरकार ढाल्ने कुरै भएको छैन ।’

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्ट मात्रै होइन । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी पनि भाग्यमानी हुन् । कयौँ पटक मन्त्री फेरिदा र सरकार पुनर्गठन हुँदा पनि उनको न मन्त्री पद गयो नत मन्त्रालय नै फेरियो ।

चार वर्ष पहिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा पदभार ग्रहण गरेकि उनी अहिले पनि त्यहि मन्त्रालयमा छिन् । सुदूरपश्चिम प्रदेशमा अहिले एक मात्र महिला मन्त्री उनी हुन् ।

राउत पनि रहन सक्छन् पाँच वर्ष

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि ५ वर्षे पूरा कार्यकाल बिताउने देखिएको छ । ०७४ मा भएको प्रदेशसभा निर्वाचनमा दुई मधेसकेन्द्रित दल दल तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल २५ सिट र संघीय समाजवादी फोरम नेपाल २९ सिट जित्यो । दुवै दलले सरकार बनाउने बहुमत प्राप्त गरेको थियो । ठूलो दल भएकाले जनता समाजवादी पार्टीको समर्थनमा फोरम संसदीय दलका नेता लालबाबु राउत मुख्यमन्त्री बने ।

फागुन ३, ०७४ मा मुख्यमन्त्रीको सपथ लिएका राउत अहिलेसम्म सरकारको नेतृत्व गरिरहेका छन् । पटक पटक मुख्यमन्त्री राउत नेतृत्वको सरकार ढल्न लागे, तर हरेक पटक उनले जोगाउन सफल रहे । सरकार बनाएका दुवै दलबिच एकीकरण भयो, तर धेरै समय एकता टिक्न सकेन । पार्टी विभाजन हुँदा सरकार खसाउन अनेक चलखेल भएको थियो, पार्टी भित्र र बाहिरबाट । जनता समाजवादी पार्टी (जसपा) बाट महन्थ ठाकुरको नेतृत्वमा नेताहरू अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि राउत सरकार संकटमा परेको थियो ।

सरकार जोगाउन उपेन्द्र यादवले केन्द्रमा बनेको गठबन्धनमा सहभागी दलहरूको सहयोग लिए । उनले तत्कालै सरकारबाट तत्कालीन राजपाबाट मन्त्री बनेकाहरूलाई रातारात बर्खास्त गरे र नेपाली काँग्रेसलाई तत्कालै सरकारमा सहभागी गराए । पछि गठबन्धनमै रहेका दलहरू नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी पनि सहभागी भएपछि राउत अहिले ढुक्कसँग सरकार चलाइरहेका छन् ।

हुन त विपक्षी भन्दा पार्टीभित्रै पनि मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा पटक पटक छलफल नभएको होइन । यद्यपि पार्टी अध्यक्ष उपेन्द्र यादव अहिलेसम्म मुख्यमन्त्रीलाई टिकाउन सफल छन् ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयकी छात्राहरूलाई वितरण गर्न खरिद गरिएको साइकलमा भ्रष्टाचार भएको भन्दै मुख्यमन्त्री राउतलाई हटाउन नेतृत्वलाई नेताहरूले दबाब दिएको थियो । भ्रष्टाचार भएको उजुरी आधारमा मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली छापा मारेर कागजात नियन्त्रणमा लिइ छानबिन जारी राखेको छ ।

प्रारम्भिक अनुसन्धानमा साइकल खरिदमा भ्रष्टाचार भएको अख्तियारका अधिकारीले बताइरहेका छन् । तर, पनि मुख्यमन्त्री राउतलाई हटाउने हिम्मत पार्टी नेतृत्वले गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर