महाराजगन्ज मेडिकल कलेजमा तनाव, नेविसंघको आक्रमणबाट विद्यार्थी घाइते – Nepal Press

महाराजगन्ज मेडिकल कलेजमा तनाव, नेविसंघको आक्रमणबाट विद्यार्थी घाइते

काठमाडौं । महाराजगन्जस्थित टिचिङ अस्पतालका इन्टर्न डाक्टरसहितको समूहको कुटाइबाट चिकित्सा क्याम्पसमा पढ्ने विद्यार्थी घाइते भएका छन् ।

राती साढे ११ बजेको समयमा सोही कलेजमा पढ्ने विद्यार्थीसहितको समूहले होस्टलभित्र गएर आक्रमण गरेको बताइएको छ ।

सुलभ आचार्य, सुमित बोहरा, विकास देव, रमेश बलायर,सूर्यप्रकाश जोशी र सिंबु सिंहसहितको समूहले झ्यालको सिसा फुटाएर बियरका बोतलले प्रहार गर्दा सोही कलेजका विद्यार्थी वीरेन्द्र कुँवर घाइते भएका हुन् । अन्य सामान्य घाइते छन् ।

पीडित विद्यार्थी वीरेन्द्र कुवर लाइब्रेरी बाट कोठातर्फ फर्किँदै गर्दा होस्टेलको अगाडी उक्त समूहसित जम्काभेट भएको र त्यस लगत्तै आक्रमण गरेको आरोप छ । घाइते कुँवरको हातमा चोट लागेको छ ।

घटना लगत्तै क्याम्पस प्रशासन समक्ष न्याय माग्न जाँदा बेवास्ता गरिएको विद्यार्थीहरूको आरोप छ । सहायक क्याम्पस प्रमुख सुनीति रावल जोशीले यसबारेमा आफूले कुरै नगर्ने बताइन् । कुटपिटको घटनामा उनको समेत साथ रहेको आरोप अर्को पक्षले लगाएको छ ।

महाराजगन्ज क्याम्पसमा विपर्फयुजन टेक्नोलोजी दोस्रो वर्षमा अध्ययनरत वीरेन्द्र कुँवर र एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत सागर खडकाले आफूहरूमाथि कुटपिट भएको भन्दै महाराजगन्ज प्रहरीमा उजुरी दिएका छन् ।

कुटपिटबाट कुँवरको खुट्टामा चोट लागेको छ । चिकित्सकले त्यसलाई शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् ।

यद्यपि झगडाको कारण भने खाली रहेको भवनमा अखिल पक्षका विद्यार्थीहरू गएर बसेपछि सुरु भएको थियो । क्याम्पस प्रशासनको आडमा आक्रमणकारी विद्यार्थीहरूले कलेजका कोठाहरू नियन्त्रणमा लिएर जाँडरक्सी तथा गाँजा खाने अखडा बनाएको आरोप लागिरहेको थियो ।

क्याम्पसका नयाँ ब्लक तीन वर्षदेखि कलेजले बन्द गरेर राखेको थियो । यसबीचमा अनेरास्ववियुमा आबद्ध विद्यार्थीहरूले बन्द कोठा खोलेर आफैँ बसेपछि विवाद बढेको क्याम्पस प्रशासन स्रोतले जनाएको छ ।

सहायक क्याम्पस प्रमुख जोशी भने नेपाल प्रेसको सम्पर्कमा आए पनि आफूले कुरै नगर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *