अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टिमको विदाई (भिडिओ) – Nepal Press

अमेरिका भ्रमणका लागि नेपाली क्रिकेट टिमको विदाई (भिडिओ)

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय क्रिकेट श्रृंखला लागि अमेरिका जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको विदाई गरिएको छ ।

शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलगायत क्यान पदाधिकारी हरूले टीमको विदाई गरेका हुन् ।

कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले नेपाल विश्वकप छनोटको अघिल्लो चरणमा प्रवेश गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘एकदिवसीय मान्यता कायम राख्न यो श्रृंखला निकै महत्वपूर्ण छ,’ अध्यक्ष चन्दले भने, ‘यस श्रृंखलासँगै नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ को अघिल्लो चरणमा प्रवेश गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

यस्तै, युवा तथा खेलकुदमन्त्री गहतराजले नेपालले विगतका कमिकमजोरी सुधार्दै राम्रो प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।

‘नेपालले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छु । विगतको कमिकमजोरीलाई सुधार्दै राम्रो प्रदर्शन गर्नेछ भन्ने मेरो विश्वास छ,’ मन्त्री गहतराजले भने ।

विदाई कार्यक्रममा कप्तान सन्दीप लामिछानेले अमेरिका जानुभन्दा त्यहाँको प्रदर्शन महत्वपूर्ण रहेको बताए ।

‘यो श्रृंखला हाम्रो लागि निकै महत्वपूर्ण छ । अमेरिका जानुभन्दा त्यहाँ गर्ने प्रदर्शन मुख्य उपलब्धी हो,’ सन्दीपले भने, ‘लिग २ अब हामीले २४ खेल खेल्न बाँकी छ र अहिले टिम पनि सन्तुलित छ । लिग २ मा धेरैभन्दा धेरै अंक जोड्दै विश्वकप सम्भावनालाई कायम राख्न चाहन्छौं ।’

यस्तै, नेपाली टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले टिम सन्तुलित रहेको र लिगको चौथो स्थानमा उक्लिने आफूहरुको लक्ष्य भएको बताए ।

‘अमेरिका भ्रमण नेपालका लागि निकै महत्वपूर्ण छ । यसैका लागि हामीले पछिल्लो दुई तीन हप्तादेखि निकै कडा मेहनत गरिरहेका छौं, दासानायकेले भने, ‘टिममा युवा प्रतिभा राम्रो छ । टिम सन्तुलित छ र श्रृंखलासँगै लिगको चौंथो वा पाँचौ स्थानमा उक्लिने हाम्रो लक्ष्य छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *