आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ ? अर्थमन्त्रीलाई कर्णालीवासीका यस्ता छन् सुझाव – Nepal Press

आगामी आर्थिक वर्षको बजेट कस्तो हुनुपर्छ ? अर्थमन्त्रीलाई कर्णालीवासीका यस्ता छन् सुझाव

सुर्खेत । संयोगले नेपाल सरकारका अर्थमन्त्री कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्छन् । स्वभावले नै अहिले कर्णालीका जनताको आशा पनि बढी छ ।

योजना छनोट र बजेट वितरणमा आफूलाई पछाडि पारिँदै आएको गुनासो गर्ने कर्णालीवासीहरू प्रदेश विकासका लागि आगामी आर्थिक वर्षको बजेट आउनेमा आशावादी देखिएका छन् ।

५२ प्रतिशत बढी नागरिक गरिबीको चपेटामा रहेका छन् । अहिले पनि कर्णालीका लाखौँ युवाहरू रोजगारीका लागि भारत लगायत तेस्रो मुलुक जाने गरेका छन् । यो अवस्थाका अन्त्यका लागि बजेटमा आवश्यक व्यवस्था हुनुपर्नेमा मध्यपश्चिम विश्वविद्यालयका पूर्व डिन पीताम्बर ढकालको जोड छ ।

उनी भन्छन्, ‘पहिलो कुरा सडक सञ्जाल बनाउन आवश्यक छ । हुम्लामा सडक पुगेको छैन । जुम्ला, डोल्पामा सडकको अवस्था दयनीय छ । कर्णाली राजमार्गको अवस्था दयनीय छ ।’

सुर्खेतको पश्चिममा रहेको चुनढुंगा उत्खनन गरेर सिमेन्ट कारखाना सञ्चालन गर्न आवश्यक कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ ।

उनले भने, ‘सिमेन्ट कारखाना सञ्चालन भइदिएको भए हजारौँले रोजगारी पाउँथे । रोजगारीको अवसर सिर्जना गर्दा जीवन स्तर सुधार हुन्छ । रोजगारीका अवसर दिन प्रयास गर्ने बजेट आओस् । जडीबुटीको हब कर्णाली हो । जडीबुटी तर्फ पनि सरकारको ध्यान जानुपर्छ भन्ने मेरो मत हो ।’

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले कर्णालीमैत्री बजेट आउनेमा आफू आशावादी भएको बताए ।

‘करको दायरा बढाउने मात्रै होइन, दायरा फराकिलो बनाउनुपर्ने, करका दायरा घटाउनुपर्ने, मूल्यवृद्धि घटाउनुपर्ने अवस्था आएको छ । मूल्यवृद्धि कोभिडका कारण निजी क्षेत्र धराशायी भएको छ । निजी क्षेत्रलाई प्रोत्साहन दिने बजेट आउनु पर्छ,’ उनी भन्छन्, ‘पेट्रोलियम पदार्थलाई जनताका लागि अनुदानमा दिनुपर्छ । कर्णालीमा एयरपोर्ट अत्यावश्यक छ । तीन सय देखि चार सय मिटर बढाउने हो भने विमानस्थल राम्रो हुने देखिएको छ । यसकालागि आवश्यक बजेट आओस् ।’

देशका ६ प्रदेशमा औद्योगिक क्षेत्र बनिसकेपनि कर्णालीमा अझै सुरुआत नभएको गुनासो गर्दै उनले भने, ‘अबको बजेटले कम्तीमा कर्णालीका गाउँ बस्तीमा बाटोघाटोमा सहज पहुँच हुने, विद्युत्मा पहुँच हुने खालको योजना ल्याउन आवश्यक छ ।’

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले कर्णालीको रूपान्तरण गर्ने खालको बजेट आउनुपर्ने बताइन ।

‘कर्णालीको मुख्य समस्या भनेको बाटोघाटो नै हो । बाटोघाटोको विकास भएको खण्डमा धेरै विकास हुने देखिन्छ । त्यस्तै, महिला, बालबालिका लक्षित कार्यक्रमहरू पनि सरकारले बजेटमा ल्याउन आवश्यक छ ।’ उनी भन्छिन्, ‘त्यसका अलावा भारत जाने युवाहरूलाई नेपालमै बस्ने खालको बजेट ल्याउनुपर्ने, अपर कर्णाली हाइड्रो तथा यस्ता अन्य हाइड्रो निर्माणका लागि बजेट सुनिश्चित गर्ने खालको बजेट आउनुपर्छ । खास गरी रोजगारी मूलक बजेट ल्याउनुपर्छ ।’

जुम्लाको चन्दनाथ नगरपालिकाका मेयर राजु सिंह कठायतले बजेट वितरणमुखी भन्दा पनि विकासमुखी आउनुपर्नेमा जोड दिए ।

‘कर्णालीका अर्थमन्त्री भएका कारण कर्णालीवासीमा बढी अपेक्षा हुन स्वाभाविक हो । विद्युतको अवस्था दयनीय छ । पालिकाले खनेका सडकहरूको अवस्था भयावह छ । कम्तीमा यी सडक ग्राभेल सम्म गर्ने खालको बजेट आउन आवश्यक छ’ उनी भन्छन्, ‘शिक्षामा कोभिडका कारण असाध्यै समस्या आएको छ । स्वास्थ्य क्षेत्र पनि कमजोर नै छ ।’

उनले जिल्ला वा पालिकामा आउने बजेट व्यक्तिको नाम लेखेर आउने गरेको पाइएको बताए ।

उनले भने, ‘त्यस्ता बजेटले विकास हुने सम्भावना नै छैन । राज्यको खर्बौँ बजेट दुरुपयोग भएको छ । साना योजना भन्दा ठूला योजनामा केन्द्रित हुँदै कर्णालीको मुहार फेर्ने बजेट आओस् भन्ने हाम्रो अपेक्षा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर