कांग्रेसको सुध्रिएको मार्कसीट, बिग्रिएको क्यारेक्टर सर्टिफिकेट – Nepal Press
टिप्पणी

कांग्रेसको सुध्रिएको मार्कसीट, बिग्रिएको क्यारेक्टर सर्टिफिकेट

यसपटकको स्थानीय निर्वाचन नेपाली कांग्रेसले जित्यो । निर्वाचन परिणामको अंकगणितले कांग्रेसले निर्वाचन जितेको तथ्य पुष्टी गर्छ । अघिल्लो निर्वाचनमा भन्दा आफ्नो आकार बढाएर कांग्रेसले स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दलकारुपमा आफूलाई स्थापित गर्यो ।

सबैभन्दा ठूलो पार्टीका रुपमा स्थापित भएपनि राजधानी काठमाडौंसहित ठूला सहरहरु पोखरा, भरतपुर र वीरगञ्जमा कांग्रेसको नेतृत्व स्थापित हुन सकेन । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै तालमेल गरेको कांग्रेसले विगतभन्दा पौने नौ प्रतिशत बढी पालिकामा नेतृत्व हासिल गर्यो ।

तालमेलबाट पार्टीलाई फाइदा पुगेको निष्कर्षमा कांग्रेसको मूल नेतृत्व छ । यद्यपि निर्वाचनअघि तालमेल गर्ने वा नगर्ने भन्नेमा कांग्रेसभित्र तीव्र असन्तुष्टी थियो । स्थानीय निर्वाचनको सफलताकै कारण कांग्रेस नेताहरु प्रदेश र संघीय संसदको निर्वाचनमा पनि तालमेल जारी राख्नुपर्ने पक्षमा छन् । यद्यपि कांग्रेसभित्र निर्वाचनको समग्र समिक्षा र आगामी रणनीतिबारे छलफल सुरु भइसकेको छैन ।

सुध्रिएको मार्कसीट

कुनैपनि परीक्षामा विद्यार्थीले प्राप्त गर्ने उपलब्धीको सूची नै ‘मार्कसीट’ हो । मार्कसीट विद्यार्थीको मेहेनतको परिणाम मात्रै होइन तत्काल सहभागी परीक्षामा गरेको प्रदर्शन पनि हो । यसर्थ मार्कसीट दीर्घकालीन नभएर तत्कालीन उपलब्धी हो ।

कांग्रेसलाई स्थानीय निर्वाचनको परीक्षामा सहभागि विद्यार्थीका रुपमा बुझ्ने हो भने कांग्रेसको मार्कसीटमा सुधार देखिन्छ । तर विद्यार्थीका लागि मार्कसीट सबैथोक होइन । हाम्रो शैक्षिक प्रणालीमा मार्कसीटभन्दा ‘क्यारेक्टर सर्टिफिकेट’ अर्थात चारित्रिक प्रमाणपत्र महत्वपूर्ण मानिन्छ ।

तत्काल सम्पन्न परीक्षामा विद्यार्थीले ल्याएको अंकभन्दा विद्यार्थीले हासिल गरेको ज्ञान, सिकेको सीप, निर्माण गरेको चरित्र दीर्घकालीन दृष्टिले महत्वपूर्ण हुन्छ । राजनीति पनि त्यस्तै हो ।

कुनैपनि राजनीतिक दलका लागि एउटै निर्वाचन सबैथोक होइन । हरेक निर्वाचनले राजनीतिक दलहरुको ‘मार्कसीट’ मात्रै होइन ‘क्यारेक्टर सर्टिफिकेट’ समेत निर्माण गर्छ । यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसको मार्कसीट सुध्रियो तर क्यारेक्टर सुध्रिएन ।

यतिबेलासम्म कांग्रेसले ३ सय २८ स्थानीय तहको नेतृत्व जितिसकेको छ । परिणाम आउन बाँकी २ मध्ये एकमा कांग्रेसको अग्रता छ । अघिल्लो निर्वाचनमा कांग्रेसले २ सय ६५ स्थानीय तहको नेतृत्व जितेको थियो ।

कांग्रेसबाट उपप्रमुख र उपाध्यक्षमा ३ सय जना निर्वाचित भएका छन् । देशभरका ६ हजार ७ सय ४३ वडामध्ये कांग्रेसले २ हजार ६ सय ६१ वडामा नेतृत्व जितेको छ । यो परिणामले कांग्रेसले मार्कसीटमा सुधार गरेको पुष्टी हुन्छ ।

बिग्रिएको क्यारेक्टर

सुध्रिएको मार्कसीट भएपनि कांग्रेसको क्यारेक्टर सर्टिफिकेट कैफियतविहीन छैन । कांग्रेसले प्राप्त गरेको मार्कसीट उसको एकल मेहेनतको परिणाम होइन । चुनावी तालमेलका कारण नेकपा माओवादी, नेकपा एस , जसपा र राष्ट्रिय जनमोर्चा समेतले कांग्रेसको मार्कसीटमा योगदान गरेका छन् ।

कांग्रेसकै शीर्ष नेताहरु एक्लै निर्वाचन लडेको भए कांग्रेसले यहीस्तरको सुधार गर्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । यसर्थ कांग्रेसले निर्वाचनको अंकगणित जितेपनि दीर्घकालीन राजनीति जितिसकेको छैन । अझ कांग्रेसवृत्तमा त यसबारे छलफलसमेत हुन छाडेको छ ।

कांग्रेसले विगतभन्दा ६३ स्थानीय तहको नेतृत्व बढी जितेको छ । त्यसका लागि उसले १ सय १९ स्थानीय तहको नेतृत्व कुरबान गरेको छ । किनकी १ सय १९ स्थानीय तहको नेतृत्वमा कांग्रेसले दावेदारी समेत दिएन ।

तथ्यको यो कोणबाट हेर्ने हो भने दीर्घकालीन दृष्टिले कांग्रेस घाटामा परेको छ । अर्कोतिर कांग्रेसले जितेका मध्ये ६० प्रतिशत स्थानीय तह एक्लै जितेको छ । तालमेल नभएका स्थानमा ६० प्रतिशत जितेको कांग्रेसले तालमेल भएका स्थानमा ४० प्रतिशत मात्रै परिणाम निकालेको छ ।

यो तथ्यले कांग्रेसको क्यारेक्टरमा प्रहार गर्छ । चीट चोरेर राम्रो अंक ल्याएको विद्यार्थीले मार्कसीटमा सफलता पाएपनि क्यारेक्टरमा सफलता पाउँदैन ।

तालमेलको बलमा सबैभन्दा ठूलो पार्टी बनेपनि कांग्रेसले गठबन्धनका घटकहरुको पूर्ण विश्वास आर्जन गर्न सकेन । पार्टीभित्रको आन्तरिक विवाद र अन्तर्घात रोक्न सकेन । निर्वाचन परिणामपछि पनि गठबन्धन र सरकार जोगिन्छ भन्नेमा कांग्रेस नेतृत्व अझै निश्चिन्त भइसकेको छैन ।

क्षणिक लाभ र दीर्घकालीन तागतको भेद नबुझेका कारण निर्वाचन जितेपनि कांग्रेसजनमा अपेक्षित उत्साह देखिएको छैन । सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसको ‘टालाटुली बटुली’ खालको राजनीतिले उसको लोकतान्त्रिक चरित्र र एकल प्रतिस्पर्धा गर्ने क्षमतामा निरन्तर ह्रास ल्याउने डरले कांग्रेसजनमा डेरा जमाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर