आरजुले भनिन्- कैलालीमा बेकारको आन्दोलन भइरहेको छ, भ्रम सिर्जना नगरौँ – Nepal Press

आरजुले भनिन्- कैलालीमा बेकारको आन्दोलन भइरहेको छ, भ्रम सिर्जना नगरौँ

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले कैलालीमा गेटा मेडिकल कलेजका लागि भइरहेको आन्दोलनको कुनै अर्थ नभएको टिप्पणी गरेकी छन् ।

भिडियो सन्देश मार्फत उनले गेटा मेडिकल कलेजको लागि यसै आर्थिक वर्षमा बजेट व्यवस्था हुने आश्वासन दिँदै बेकारको आन्दोलन भइरहेको अभिव्यक्ति दिएकी हुन् ।

‘निर्वाचनका कारण ढिला भएको हो । एक दुई हप्तामै समिति बन्छ । सञ्चालनको लागि यो बजेटमा बजेट आउँछ’ उनले भनिन् ‘यो बेकारको आन्दोलन गर्ने र बेकारको भ्रम सिर्जना नगर्न म अनुरोध गर्न चाहन्छु ।’

उनले गेटा मेडिकल कलेज बारे भइरहेको आन्दोलन सुन्दा अचम्म लागेको समेत बताएकी छन् । ‘गेटामा रहेको क्याम्पस सम्बन्धी विभिन्न टिका टिप्पणी भइरहेको र आन्दोलन समेत भइरहेको सुन्दाखेरि कैलालीमा अचम्म लागेको छ’ उनले भनेकी छन् ।

आफूले चुनावमा समेत यस विषयमा बताउँदै आएको उनले स्मरण गराएकी छन् । ‘मैले चुनावको दौरानमा अवगत गराएको थिए र त्यहाँको डाक्टरलाई पनि अवगत नै छ । चैत्र ४ गते त्यहाँ ३०० शय्याको अस्पताल खोल्ने निर्णय भइरहेको कुरा बाहिर आइसकेको छ’ उनले भनिन्, ‘नेपाल सरकारको नियम अनुसार तीन वर्ष अस्पताल चलाएपछि मात्रै क्याम्पस चलाउन सकिन्छ । त्यही नियम अनुसार पहिला गेटामा अस्पताल सञ्चालन चाडै हुन गइरहेको छ ।’

मंगलबार सरकारले ल्याएको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभए पनि कैलालीमा आन्दोलन भइरहेको छ । नीति तथा कार्यक्रममा मेडिकल कलेज नसेटिएपछि करिब ९० प्रतिशत पूर्वाधार तयार भइसकेको गेटामा अन्यौलता सृजना भइरहेको छ ।

यहाँ सबै पक्षले तत्काल बजेट व्यवस्था गरेर गेटा मेडिकल कलेजलाई अगाडी बढाउन दबाब दिइरहेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्री पत्नी समेत रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्यले बेकारको आन्दोलनको संज्ञा दिँदा उनको अभिव्यक्ति समेत विवादमा तानिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर