मधेसमा खुम्चियो माओवादी, २०७४ मा जितेका ११ स्थानीय तह खोसिए – Nepal Press

मधेसमा खुम्चियो माओवादी, २०७४ मा जितेका ११ स्थानीय तह खोसिए

काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा नेकपा (माओवादी केन्द्र) मधेस प्रदेशमा कमजोर बनेको छ । स्थानीय निर्वाचनको अन्तिम मत परिणाम आउँदा माओवादी यस प्रदेशमा पहिलेभन्दा खुम्चिएको हो ।

मधेस प्रदेशमा २०७४ को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले १३ नगरपालिका र ८ गाउँपालिका सहित २१ स्थानीय तहमा जित हासिल गरेको थियो ।

तर, यो स्थानीय निर्वाचनमा पहिले जितेका ११ स्थानीय तह गुमाउँदै ९वटामा सीमित हुन परेको छ । मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये ९ वटामा माओवादीले आफ्नो साख जोगाउन सफल भएको छ ।

मधेस प्रदेशमा माओवादीले ७ नगरपालिका र २ नगरपालिकामा जितेको छ । २०७४ मा प्रमुख र उपप्रमुख जितेको स्थानीय तहमध्ये दुई वटा पालिका मात्रै जोगाउन सफल भयो भने महोत्तरी र पर्सामा खातासमेत खोल्न सकेन ।

अघिल्लो निर्वाचनमा महोत्तरीको गौशाला, बर्दिबास, रामगोपालपुर नगरपालिका सहित साम्सी गाउँपालिका र पर्साको छिपहरमाई तथा ठोरी नगरपालिकाको प्रमुख–उपप्रमुख नै माओवादीले जितेको थियो ।

अघिल्लो निर्वाचनमा जितेकामध्ये सिरहाको मिर्चैया नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा मात्रै माओवादीले पुरानो साख जोगायो । बाँकी अन्य दलले खोसेका छन् ।

माओवादीबाट सबैभन्दा बढी सिट एमालेले खासेको छ । सिरहाको धनगढीमाई नगरपालिका, गोलबजार नगरपालिका, कर्जन्हा नगरपालिका, अर्नमा गाउँपालिका र औरही गाउँपालिकाको प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो पकड बनाएको थियो । तर, यो पटक मिर्चैया नगरपालिकाको प्रमुख–उपप्रमुखले मात्र निरन्तरता पाउन सकेका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा सप्तरीको एउटा पनि स्थानीय तहको प्रमुख वा उपप्रमुख जित्न नसकेकोमा यसपालिको चुनावमा खडक नगरपालिकाको प्रमुख र छिन्नमस्ता गाउँपालिकाको उपाध्यक्ष माओवादीले जितेको छ ।

२०७४ मा धनुषाको सहिदनगर नगरपालिका र विदेह नगरपालिकाको प्रमुख–उपप्रमुख जितेको माओवादीले यस वर्ष ती दुवै स्थानीय तह गुमायो । तर सबैला नगरपालिकामा प्रमुख र उपप्रमुख जितेर माओवादीले आफ्नो अस्तित्व जोगाउन सफल भएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनमा सर्लाहीको बागमती नगरपालिका, बरहथवा नगरपालिका र चक्रघाटा गाउँपालिकामा जितेको माओवादी केन्द्रले बागमती नगरपालिकामा आफ्नो पुरानो साख जोगाउँदा बरहथवा र चक्रघट्टा गाउँपालिका गुमाएको छ । हरिवन नगरपालिका, बलरा गाउँपालिकामा माओवादीले जित हासिल गरेर सर्लाहीमा जितेको स्थानीय तहको संख्या चार पुर्‍याएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर, यमुनामाई, कटहरिया माधवनारायणमा जित हासिल गरेको माओवादीले यसपालिको निर्वाचनमा ती सबै पालिका गुमाउँदा दुर्गा भगवती गाउँपालिकामा अध्यक्ष–उपाध्यक्ष मात्र जित्न सफल भयो ।

मधेस प्रदेशका तीन उपमहानगरपालिकामध्ये दुई वटा उपमहानगरपालिकासहित १६ स्थानीय तह रहेको बारामा पनि माओवादी कमजोर देखिएको छ ।

अघिल्लो निर्वाचनमा बाराको एउटा पनि स्थानीय तह जित्न नसकेको माओवादी यसपालिको निर्वाचनमा भने गठबन्धनका कारण फाइदामा गएको छ ।

पाँचदलीय गठबन्धनका कारण बाराको सिमरा उपमहानगरपालिकाको प्रमुख माओेवादीको भागमा पर्दा उपमहानगरपालिकाको प्रमुख पद माओवादीलाई जित्न जुरेको छ ।


प्रतिक्रिया

One thought on “मधेसमा खुम्चियो माओवादी, २०७४ मा जितेका ११ स्थानीय तह खोसिए

  1. पार्टी फुट, गठबन्धन र सत्ताकाे चरम दुरूपयाेग हुँदा समेत एमालेले पार्टी विभाजन पछि आफूलाई व्यवस्थित गर्नुका साथै दाेश्राेमा कायम राख्न र मतका हिसाबले सबैभन्दा धेरै मत ल्याउन सफल भयाे । अब गठबन्धन एकातिर र एमाले एक्लै लडेर आगामी निर्वाचनमा बहुमत सहित एक नम्बर पार्टी बन्ने र देशकाे मुहार फेर्ने हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर