नेपाली चलचित्रमा ओइरिए दर्शक, कबड्डी ४ ले तोड्यो रेकर्ड – Nepal Press

नेपाली चलचित्रमा ओइरिए दर्शक, कबड्डी ४ ले तोड्यो रेकर्ड

काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ४– द फाइनल म्याच’ लाई नेपाली चलचित्रको इतिहासमै  सबैभन्दा ठूलो ओपनिङ मिलेको छ । पहिलो दिनमा फुल अकुपेन्सीका साथ चलचित्रले व्यापारको नयाँ कीर्तिमान रच्न सफल भयो ।

नेपाली चलचित्रलाई हेला गर्ने परम्परा विपरीत कबड्डी–४ लाई मल्टिप्लेक्सहरुले उच्च शो दिएका थिए । नेपाली चलचित्रमा अहिलेसम्मकै उच्च संख्यामा शो पाएपछि र दर्शकले पनि त्यही अनुसार साथ दिएपछि कबड्डी ४ को व्यापार चम्किएको छ ।

यो चलचित्रले क्यूएफएक्समा १०५ शो र बिग मुभिजमा १७ शो प्राप्त गरेको छ । अहिलेसम्म कुनै पनि नेपाली वा विदेशी चलचित्रले यति धेरै शो पाएका थिएनन् । आज सबै शोहरु हाउसफुल भए ।

कबड्डी ४ ले पहिलो दिन साढे दुई करोडदेखि ३ करोड रुपैयाँ कलेक्सन गर्ने वितरक गोविन्द शाहीको आँकलन छ । यो अहिलेसम्म नेपालमा कुनै पनि चलचित्रले एक दिनमा गरेको सर्वाधिक व्यापार हो ।

यसअघि सर्वाधिक व्यापारको कीर्तिमान दक्षिण भारतीय चलचित्र ‘केजिएफ २’ ले राखेको थियो । शाहीका अनुसार सो चलचित्रले पहिलो दिन दुई करोड हाराहारी कलेक्सन गरेकोमा त्यो रेकर्ड ‘कबड्डी ४’ ले तोडेको छ । देशभरका साना–ठूला सबै हलहरु हाउसफुल रहेको शाहीले बताए ।

‘यो अहिलेसम्मकै उच्च शो पाएको र उच्च व्यापार गरेको चलचित्र हो,’ उनले भने, ‘हलिउड र बलिउडका चलचित्रमा पनि यो लेभलको क्रेज देखेको थिइनँ । यसले अल नेपाल नयाँ इतिहास रचेको छ ।’

चलचित्रका निर्देशक रामबावु गुरुङले पनि चलचित्रले उत्साहजनक ओपनिङ गरेको जानकारी पाएको बताए ।

‘मल्टिप्लेस वा थिएटरको स्क्रिनको हिसाब र शोको हिसाब गर्दा रेकर्ड ब्रेक नै भएको हो,’ उनले भने, ‘प्रामाणिक व्यापार कति गर्छ भन्ने चाहिँ अलिक पछि मात्रै थाहा हुन्छ ।’

चलचित्रले अबको दुई दिन उच्च व्यापार गर्ने निधो भइसकेको छ । भोलि शनिवारका लागि पनि देशव्यापी रूपमा शतप्रतिशत बुकिङ भएको छ भने आइतबारको ६५ प्रतिशत टिकट बिकिसकेको छ ।

आइतबार पनि सार्वजनिक बिदा भएकाले फुल अकुपेन्सीको अनुमान छ । त्यसो भएको खण्डमा तीन दिनमै चलचित्रले झण्डै सात करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सक्छ ।

वितरक शाही भन्छन्, ‘पछि कस्तो होला के होला थाहा छैन, तर नेपाली चलचित्रको इतिहासमा अहिलेसम्म यस्तो दिन आएको थिएन । आउने दिनमा पनि यो रेकर्ड ब्रेक गर्न अरू चलचित्रलाई गाह्रो छ ।’

रिलिज अगाडि नै लगानी सुरक्षित

त्यसो त कबड्डी ४ ले रिलिज हुनु अगाडि नै लगानी सुरक्षित गरिसकेको थियो । यो चलचित्रले डिजिटल राइट र ओभरसिज राइट् विक्रीबाट पहिल्यै तीन करोड रुपैयाँ कमाइसकेको छ ।

चलचित्रको निर्माण पक्षका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड लगायतका देशमा प्रदर्शन अधिकार विक्री भएको छ ।

ओभरसिज राइट र डिजिटल राइट विक्री गरेर फिल्मले तीन करोड रुपैयाँ पहिल्यै प्राप्त गरिसकेको थियो । अब नेपालका हलहरूबाट हुने आम्दानी फिल्मको पूर्ण मुनाफा हो ।

निर्माताहरूका अनुसार पहिलो सप्ताहमा ग्रस कलेक्सनको करिब ३० प्रतिशत निर्माताको गोजीमा जान्छ । त्यस हिसाबले यदि फिल्मले पहिलो हप्ता ६ करोड हाराहारी व्यापार गर्‍यो भने निर्माताले झण्डै दुई करोड रुपैयाँ मुनाफा कमाउने छन् । त्यसपछि निर्माताको सेयर घट्दै जान्छ ।

सिक्वेलमा भर परेको उद्योग

पछिल्लो समय नेपाली चलचित्र राम्रो अवस्थाबाट गुज्रिरहेको छैन । अत्यन्त थोरै चलचित्रले मात्रै लगानी उठाउन सफल भइरहेका छन् ।

कोरोनाले दुई वर्ष जति चलचित्र उद्योग ठप्प भयो । करिब एक वर्षदेखि कोरोनाको तेस्रो कहर सकिएर चलचित्र उद्योग सुचारु भएको हो । त्यसयता भारतीय चलचित्रको दबदबाले नेपाली चलचित्रलाई हलमा टिक्न गाह्रो परिरहेको छ । पछिल्लो समय दक्षिण भारतीय चलचित्रहरू नेपाली चलचित्रका प्रमुख दुस्मन बनेका छन् ।

हलहरु खुलेयता एक दर्जनभन्दा बढी चलचित्र प्रदर्शनमा आइसके तर दुई वटा नेपाली चलचित्रले मात्रै राम्रो व्यापार गर्न सफल भएका थिए । ती दुवै सिक्वेल थिए । पूजा शर्माले निर्माण गरेको म यस्तो गीत गाउँछु २ र सुनिलकुमार थापाले निर्माण गरेको ए मेरो हजुर ४ ले निर्मातालाई राहत दिए । यी दुवै चलचित्र हिट सिक्वेल हुन् । अहिले दर्शक तानिरहेको कबड्डी ४ पनि सिक्वैल नै हो । यस अर्थमा नेपाली चलचित्र सिक्वेलमा निर्भर हुँदै गएको छ ।

कहिलेसम्म सिक्वेलमा रमाउने त भन्ने प्रश्नमा कबड्डी निर्देशक गुरुङ भन्छन्, ‘दर्शकले रुचाउनुभएकाले नै सिक्वेलहरु बनेका हुन् । कबड्डी चाहिँ लगभग यो नै अन्तिम भनेर हामीले ‘द फाइनल म्याच’ भनेका हौँ । बनाएका हौँ र कथाको पनि अन्त्य भएको छ यो सिरिजमा । तर यदि समय र परिस्थितिको माग भयो भने जे पनि हुन सक्छ ।’

सन् २०१४ मा पहिलो पटक कबड्डी चलचित्र बनेर रिलिज भएको थियो । अर्ग्यानिक विषयवस्तुमा बनेको चलचित्रलाई दर्शकले रुचाए । त्यसपछि उही कथालाई तन्काउँदै ४ सम्म ल्याइएको छ । अझै पनि दर्शकले रुचाइरहेकै छन् । कबड्डी ४ मा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर मुख्य भूमिकामा छन् । मिरुनालाई पाउनका निम्ति दया र सौगातको संघर्ष नै चलचित्रको मुख्य विषय हो ।

हिजो आयोजित प्रिमियरमा चलचित्रलाई राम्रो रेस्पोन्स मिलेको थियो ।

यस चलचित्रको ‘केशरी’ बोलको गीत केही समयअघिदेखि बहुचर्चित छ ।

दर्शकको मुखमुखमा झुण्डिएको यो गीतले चलचित्रको व्यापारमा पनि योगदान गरेको अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *