१० रुपैयाँ कर घट्दा पेट्रोलियम पदार्थको मूल्य घट्छ कि घट्दैन ? – Nepal Press

१० रुपैयाँ कर घट्दा पेट्रोलियम पदार्थको मूल्य घट्छ कि घट्दैन ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको कर घटाउने तयारी गरेको छ । बजेटमा नै सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ घटाउने तयारी गरेको छ ।

सरकारले कर घटाएपछि बजार मूल्य प्रभावित हुन्छ की हुँदैन भन्ने आम चासोको विषय बनेको छ । नेपाल आयल निगमले भने सरकारले कर घटाए पनि मूल्य तत्काल नघट्ने जनाएको छ ।

नेपाल आयल निगमका प्रवक्ता विनितमाणि उपाध्यायले सरकारले पेट्रोलियम पदार्थको १० रुपैयाँ कर घटाए पनि मूल्य घटाउन नसक्ने अवस्थामा रहेको बताए ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रममा नै परल मूल्य अनुसार नै पेट्रोलियम पदार्थ बिक्री गर्ने भन्ने उल्लेख रहेको छ । त्यसैले पनि मूल्य घट्दैन होला ।’

नेपाल आयल निगमले २ पटक पेट्रोलियम पदार्थको मूल्य २० रुपैयाँ वृद्धि गर्दा पनि घाटा रहेको बताउँदै आएको छ ।

उनकाअनुसार अहिले पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ६४ पैसा घाटा रहेको छ । भने डिजेलमा प्रतिलिटर २६ रुपैयाँ ४२ पैसा घाटा रहेको छ ।

त्यस्तै खाना पकाउने ग्यास प्रति सिलिन्डर ८७९ रुपैयाँ ७५ पैसा घाटा रहेको छ ।

बजेटमा कर घटेर आए पनि निगमको घाटा मात्रै कम हुने उल्लेख गर्दै उनले सरकारले नै निर्णय गरेर घटाए मात्रै मूल्य घट्ने बताए ।

२ पटक १०÷१० रुपैयाँको दरले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दा पनि अहिले निगमलाई १५ दिनमा ३ अर्ब ३५ करोड घाटा हुने अवस्था रहेको छ ।

अहिले नेपाल सरकारले १ लिटर पेट्रोल खरिद गर्दा ५४ रुपैयाँ ४७ पैसा कर उठाइ रहेको छ । अब १० रुपैयाँ कर घट्दा ४६ रुपैयाँ ४७ पैसा कर उठाउने छ । भने डिजेलमा सरकारले ३७ रुपैयाँ कर लिन्छ रहेको छ । १० रुपैयाँ कर घटेमा २७ रुपैयाँ कर लाग्ने छ ।

मन्त्रालय स्रोतका अनुसार बजेटमा १० रुपैयाँ कर घटेर आउने छ । कुन कुन शीर्षकमा कर घटाउने भन्ने निर्णय भने हुन बाँकी छ ।

कर घटाउने प्रस्ताव भने मन्त्रिपरिषद्मा आपूर्ति मन्त्रालयले लगेको हो । आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । भन्सार र पूर्वाधार कर ५/५ रुपैयाँ घटाउने विषय अघि बढेको छ ।

भारतको केन्द्रीय सरकारले समेत पेट्रोलियम पदार्थको मूल्य धेरै मंहगो भएको भनेर कर घटाएको थियो ।

भारतको केन्द्रीय सरकारले त्यहाँका जनतालाई महंगीको मार केही कमी आओस् भनेर पेट्रोल र डिजेलमा लाग्ने अन्तःशुल्क घटाएको हो । मे २२ मा देखि लागू हुने गरेर पेट्रोलमा भारु ८ र डिजेलमा ६ रुपैयाँ अन्तःशुल्क घटेको हो ।

योसँगै भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल ९६.७२ र डिजेल ९९.६२ भारुमा झरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर