चुनाव लड्ने भनेपछि मान्छे तर्सन थाले : नेपाल – Nepal Press

चुनाव लड्ने भनेपछि मान्छे तर्सन थाले : नेपाल

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचन लड्न भनेपछि उम्मेदवारहरू तर्सने अवस्था बनेको बताएका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि बोल्दै नेपालले निर्वाचन खर्चमा बढेको विकृतिका कारण चुनाव लड्न पनि तर्सनुपर्ने अवस्था आएको बताएका हुन् ।

राजनीति स्वच्छ नभएकै कारण भ्रष्टाचार बढेको भन्दै अध्यक्ष नेपालले निर्वाचन पैसाले नभई विचारले लड्ने अवस्था बनाउनुपर्ने बताए ।

‘निर्वाचन अत्यन्तै महँगो भएको छ । मान्छे चुनावमा उठ्ने कुरा गर्दा तर्सन थालेका छन् । निर्वाचनमा भोजभतेर गर्ने, पैसा बाँड्ने क्रम न सरकारले रोक्न सकेको छ न आयोगले रोकेको छ । चुनाव जित्न खर्च गर्ने र जितेपछि भ्रष्टाचार गर्ने प्रवृत्ति मौलायो । निर्वाचनलाई कम खर्चिलो बनाउनेबारे छलफल गरौँ’, नेपालले भने ।

उनले नीति तथा कार्यक्रमको मुख्य ध्येय ठिक भए पनि कार्यान्वयनमा रहेको चुनौतीप्रति सचेत हुनुपर्ने बताए ।

कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिनुपर्ने नेपालको भनाई छ ।

वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक देखिएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोज्दा स्थगित गरिनु दुःखद भएको नेपालले बताए ।


प्रतिक्रिया

One thought on “चुनाव लड्ने भनेपछि मान्छे तर्सन थाले : नेपाल

  1. बालुवाटार बेचेकाेले जिन्दगीभर चुनाव लडन पाईन्छ नि । के काे पिर ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर