उपमहानगरमा गठबन्धनभन्दा एमाले र स्वतन्त्रको दबदबा, नगरसभामा कहाँ कसको बहुमत ? (सूचीसहित) – Nepal Press
स्थानीय चुनाव

उपमहानगरमा गठबन्धनभन्दा एमाले र स्वतन्त्रको दबदबा, नगरसभामा कहाँ कसको बहुमत ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले भागबन्डा गरेर ११ उपमहानगरपालिकाको नेतृत्व ‘कब्जा’ गर्ने रणनीति बनाएका थिए । सोहीअनुसार सबै तहमा तालमेल भयो ।

सत्तामा रहेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, अघिल्लो निर्वाचनको ठूलो पार्टी नेकपा एमाले विभाजित भएर बनेको दल नेकपा एकीकृत समाजवादी, मधेसको ‘शक्ति’ रहेको जनता समाजवादी पार्टी र केही जिल्लामा शक्तिशाली प्रभाव रहेको राष्ट्रिय जनमोर्चाले चुनावी गठबन्धन गरेका थिए ।

गठबन्धनपछि उनीहरू भीमकाय बन्दा प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती स्वाभाविक नै हो । अन्य दललाई पनि सहज थिएन ।

यही कारण सत्ता गठबन्धनले ११ वटै उपमहानगरपालिका एकलौटी बनाउने सबैले लख काटेका थिए । वैशाख ३० गते ११ वटै उपमहानगरमा निर्वाचन सम्पन्न भयो । अहिले ११ वटै उपमहानगरको अन्तिम नतिजासमेत आइसकेको छ । जुन नतिजा पूर्वानुमानभन्दा निकै भिन्न देखिएको छ । नतिजाले गठबन्धन दललाई तीतो बनाएको छ ।

नतिजाअनुसार गठबन्धनका दलहरूले ११ मध्ये ५ तहमा मात्रै जित निकालेका छन् । बाँकी ६ वटामा एमाले र स्वतन्त्र उम्मेदवारहरूले कब्जा जमाएका छन् । जितेका ठाउँमा पनि गठबन्धनका उम्मेदवारहरूले सानदार विजय हात पार्न सकेनन् । कार्यपालिका र नगरसभाहरूमै उनीहरू अल्पमतमा पर्ने देखिएको छ ।

नतिजाले केन्द्रबाट सत्ता गठबन्धनको भागबन्डासहित तालमेल भए पनि चुनावी मैदानमा न ‘ताल’ न ‘मेल’ देखिएको छ ।

गठबन्धनले तालमेल गरेकामध्ये कांग्रेसले आफ्नो भागमा परेका इटहरी, नेपालगञ्ज र बुटवल उपमहानगरमात्रै जोगाएको देखिन्छ । तर, कांग्रेसले एकल नै बलियो देखिएको र अघिल्लो पटक एक्लै जितेको धनगढी गुमायो । २०७६ को उपनिर्वाचनमा शक्तिशाली एमालेलाई हराएर जितेको धरानको विरासत तीनवर्ष नबित्दै गुमायो कांग्रेसले । दुइटै उपमहानगरमा प्रतिस्पर्धी दल एमाले कमजोर देखिए पनि स्वतन्त्र उम्मेदवारसामु कांग्रेससमेत निरीह सावित भएको छ ।

यसले कांग्रेसका लागि चुनावी तालमेल फलिफाप हुनुको साटो अभिशाप सावित भएको उम्मेदवारहरूले नै स्वीकार गरेका छन् । कांग्रेसलाई आफ्नो भागमा परेको तुलसीपुर र कलैया उपमहानगर पनि जोगाउन सकेन । अघिल्लो पटक जितेको एमालेले यी उपमहानगरमा पुनः आफूलाई अब्बल सावित गर्दा कांग्रेसलाई गठबन्धनको सहारा काफी भएन ।

नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको जीतपुर सिमराको नेतृत्व जितेको छ । उसले घोराही उपमहानगर आफ्नो पक्षमा पार्न सकेन । माओवादी केन्द्रका लागि गठबन्धन जीतपुर सिमरामा फाप्दा घोराहीमा एमाले बाधक बन्यो ।

नेकपा एसले आफ्नो हिस्सामा परेको हेटौंडा गठबन्धनको बलमा जोगाएको छ । उसले यहाँ एमालेको वर्षौं पुरानो गढ भत्काएको छ ।

उता जनकपुर जसपाको भागमा परेको थियो । जसपालाई जनकपुर दिँदा स्थानीय कांग्रेस नेताहरू असन्तुष्ट थिए । जसले गर्दा जसपाले जनकपुर आफ्नो पक्षमा पार्न सकेन । त्यहाँ कांग्रेसकै बागी उम्मेदवारले मेयर पड्काइदिए ।

तहगत नतिजा र अवस्था विश्लेषण

धनगढी: वडलाई फापेन पाँच दलको साथ

निर्वाचनको अन्तिम नतिजापछि गठबन्धनको समर्थनबाट उम्मेदवार भएका कांग्रेसका नृपबहादुर वडले भावुक प्रतिक्रिया दिए । उनले भने, ‘मलाई दलले उम्मेदवारमात्र बनाएको थियो । खासमा मै स्वतन्त्र उम्मेदवार थिएँ ।’

उनले गठबन्धनले त साथ दिएन-दिएन, आफ्नै पार्टीबाट पनि साथ नपाएको गुनासो पोखे । वडले भनेजस्तै अवस्था धनगढीको रह्यो । धनगढीमा कांग्रेसले आफ्नो मत ३० हजार भएको दाबी गर्छ । त्यसमा गठबन्धन जोड्दा झन् नतिजा फराकिलो हुने कांग्रेसको अनुमान थियो ।

तर, नतिजा ठ्याक्कै उल्टो आयो । स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६ हजार ८६५ मतले विजयी हुँदा कांग्रेसका वड १४ हजार ८१७ मा सीमित भए । एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मतमात्रै पाए ।

उपमेयरमा पनि गठबन्धनकी उम्मेदवारले जितिनन् । एमाले उम्मेदवार नन्दकलाकुमारी राना १५ हजार ४७९ मतसहित विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले १२ हजार ६७० मतमात्रै पाइन् ।

स्थानीयका अनुसार स्वतन्त्र उम्मेदवार हमालले सबै दलका परम्परागत मत पाए । जसकारण उनले गठबन्धनका उम्मेदवारलाई ठूलो मतान्तरले धराशायी पारेर जितको झण्डा गाडे ।

उता वडाध्यक्षसहित बाँकी पदमा भने कांग्रेसकै उम्मेदवारहरूको वर्चश्व देखिएको छ । १९ मध्ये ११ वटा वडा कांग्रेसले जितेको छ । एमालेले ६ वटा वडामा अध्यक्ष जितेको छ । माओवादी केन्द्रले २ वटा वडामात्रै जितेको छ ।

सदस्यहरूमा कांग्रेसले महिला सदस्य १२, दलित महिला सदस्य १२ र खुला सदस्य २४ गरी ४८ जना वडा सदस्य जितेको छ । कांग्रेसले ९७ (यसमा पछि ३ जना खुलाबाट निर्वाचित हुने कार्यपालिका सदस्य पनि जोडिन्छन्) सदस्यीय नगरसभामा ५९ सदस्यसहित बहुमत कायम गरेको छ । कार्यपालिकामा पनि उसकै बहुमत देखिएको छ ।

उता एमालेको नगरसभामा ३१ जना सदस्य देखिएका छन् । उसको एक उपमेयरसहित ६ जना वडाध्यक्ष, १२ जना खुला सदस्य, ६ जना दलित महिला र ६ जना महिला सदस्य निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट दुई वडाध्यक्षसहित महिला सदस्य १, दलित महिला सदस्य १ र खुला सदस्य २ निर्वाचित भई ६ जना नगरसभा सदस्य कायम भएका छन् ।

नेपालगञ्जः कांग्रेसले मेयर जिते पनि नगरसभामा गठबन्धनको सहारा

पार्टीभित्रको घात-अन्तर्घातले विगतमा हार्दा राप्रपाले फाइदा उठाउँदै आएको यो उपमहागरमा यसपटक गठबन्धनको सहाराले कांग्रेसले जित सम्भव बनाएको छ । स्थानीय स्तरको शक्तिशाली दल जसपा र राम्रै पकड भएको माओवादी केन्द्रको साथले कांग्रेसका प्रशान्त विष्ट एमाले उम्मेदवार पशुपतिदयाल मिश्रालाई फराकिलो मतान्तरले पराजित गर्न सफल भए ।

विष्टले २३ हजार ४६० मत प्राप्त गर्दा मिश्राले ११ हजार ६७५ मत पाए । अघिल्लो पटक जितेको राप्रपाका उम्मेदवार नन्दलाल वैश्य ७ हजार ५९८ मतमा सीमित भए ।

उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार विजयी भए । जसपाका कमरुद्दीन राई १७ हजार ९५० मतसहित विजयी हुँदा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९१५ मत पाइन् । राप्रपाकी विन्दु चर्तिमगरले १० हजार १३५ मत ल्याइन् ।

नगरसभामा कांग्रेसको सुविधाजनक जित देखिएन । २३ वटा वडा रहेको उपमहानगरमा कांग्रेसले जम्मा ५ वटा वडाको वडाध्यक्ष जित्दा सदस्यहरू ३६ जनामात्रै भए । जसमा ९ महिला सदस्य, ८ दलित महिला सदस्य र १९ जना खुला सदस्य छन् ।

नगरसभामा कांग्रेसका मेयरसहित जम्मा ४२ जना सदस्यमात्रै कायम हुने भएका छन् । यहाँ ११७ सदस्यीय नगरसभा हुनेछ । जसमा पछि निर्वाचित तीनजना खुलाबाट निर्वाचित हुने कार्यपालिका सदस्य पनि जोडिन्छन् ।

एमालेले ५ वडाध्यक्ष र २० सदस्य पद जितेको छ । जसमा ६ जना महिला सदस्य, ४ जना दलित महिला सदस्य र १० जना खुला सदस्य रहेका छन् ।

जसपाले भने ६ वटा वडाध्यक्ष जितेको छ । जसपाले १८ जना वडा सदस्यमात्रै जितेको छ । जसमा ४ महिला सदस्य, ६ दलित महिला सदस्य र ८ जना खुला सदस्य रहेका छन् । यसरी नगरसभामा उसको एक उपमेयर, ६ वडाध्यक्षसहित २५ सदस्य कायम भएको छ ।

यस्तै ४ वटा वडाध्यक्ष जितेको माओवादी केन्द्रले ७ सदस्य पद पनि जितेको छ । जसमा २ महिला सदस्य, ३ दलित महिला सदस्य र २ जना खुला सदस्य रहेका छन् । नगरसभामा उसको ११ सदस्य कायम भएको छ । ३ वडाध्यक्ष र ११ वडा सदस्य जितेको राप्रपाबाट नगर सभामा १४ सदस्य कायम भएका छन् ।
नेपालगञ्जको नगरसभामा बहुमत पु¥याउन कांग्रेसका मेयरले सत्ता गठबन्धनका दलकै भर पर्नुपर्ने भएको छ ।

घोराहीः निस्प्रभावी गठबन्धन, एमालेको एकलौटी बहुमत

गठबन्धन दलबाट मेयरमा यहाँ माओवादी केन्द्रका हेमराज शर्मा पोखरेल उम्मेदवार थिए । कांग्रेससमेतको साथ पाएर हौसिएका उनलाई नतिजाले भने उल्टो बाटो देखाइदिएको छ । यहाँ एमालेका नरुलाल चौधरीले ३१ हजार ७२८ मतसहित विजयी भएर एमालेको विरासत थाम्नेमात्र नभई आफ्नो लोकप्रियता दोस्रो पटक पुष्टि गरे । माओवादी केन्द्रका पोखरेल २६ हजार ३६८ मतमा थन्किए ।

राप्रपाका सरिता देवकोटाले ५ हजार ३२४ मत पाइन् । केन्द्रको तालमेललाई गलहत्याएर उम्मेवार बनेका नेकपा एसका रामप्रसाद चौधरीले १ हजार १४३ मतमात्रै बटुले ।

उपमेयरमा पनि एमालेकै हुमाकुमारी डिसी ३० हजार ४०३ मतसहित विजयी भइन् । कांग्रेसका भूपबहादुर डाँगी क्षेत्री माओवादीको साथ पाएर पनि ३० हजार ३५४ मतमा रोकिँदा राप्रपा विभु बुढाथोकीले ३ हजार ५२१ र नेकपा एसकी शोभाकुमारी शाहले १ हजार १५८ मतमात्रै पाइन् ।

१९ वटा वडा रहेको घोराहीमा १३ वटा वडा एमालेले जित्यो । त्यससँगै एमालेले ५२ सदस्य पद पनि जित्यो । जसमा १४ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र २४ जना खुला सदस्य छन् ।

नगरसभामा एमालेका मात्रै ६७ जना सदस्य कायम भएका छन् । २७ सदस्यीय हुने कार्यपालिकामा ८ जनाको निर्वाचन हुनुअगावै १५ सदस्य कायम भइसकेका छन् । ८ जना पनि एमालेबाटै निर्वाचित हुने निश्चित भइसकेको छ ।

यता कांग्रेसले ५ जना वडाध्यक्ष र १८ जना सदस्य पदमा जितेको छ । सदस्यहरूमा ५ महिला सदस्य, ४ दलित महिला सदस्य र ९ जना खुला सदस्य रहेका छन् ।

माओवादी केन्द्रले भने एक वडाध्यक्ष र ६ सदस्य पद जितेको छ । सदस्यमा १ दलित महिला सदस्य र ५ जना खुला सदस्य छन् ।

तुलसीपुरः एमालेसामु गठबन्धन प्रभावहीन

यहाँ पनि एमाले अघि पाँचदलीय गठबन्धन असफल सावित भयो । एमालेका टीकाराम खड्का ३१ हजार ४०८ मतसहित विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७१७ मतमात्रै पाएका छन् ।

उपमेयरमा पनि एमालेकी स्यानी चौधरी ३० हजार ५९७ मतसहित विजयी हुँदा नेकपा एसका जोगबहादुर रानामगर २१ हजार ६५ मतमा सीमित भए ।

एमालेले १९ वडामध्ये एमालेले १० वडाध्यक्ष जितेको छ । यस्तै ५५ वडा सदस्य पद जितेको छ । जसमा १६ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र २५ जना खुला सदस्य छन् । जुन कार्यपालिकामा बहुमत पुर्‍याउन पर्याप्त छ ।

यस्तै नगरसभामा कांग्रेसको २३ सदस्य कायम भएको छ । जसमा ५ वडाध्यक्ष, १८ जना सदस्य पद जितेको छ । वडा सदस्यहरूमा २ महिला सदस्य, ४ दलित महिला सदस्य र १२ जना खुला सदस्य जितेको छ ।

माओवादी केन्द्रले ३ वडाध्यक्ष र ३ सदस्य पद जितेको छ । वडा सदस्यमा महिला सदस्य १ जना, १ दलित महिला सदस्य र १ जना खुला सदस्य छन् । यसरी नगरसभामा उसको ६ सदस्य भएको छ भने वडा नम्बर १६ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार शिवानन्द डिसी निर्वाचित भएका छन् ।

बुटवलः कांग्रेसलाई फापेको गठबन्धन

कांग्रेसका लागि यहाँको गठबन्धन भने फापेको छ । यहाँ गठबन्धन फाप्दा कांग्रेसले एमालेको ऐतिहासिक गढ ढलाएको छ । मेयरमा गठबन्धनको साथमा कांग्रेसका खेलराज पाण्डेय ३० हजार २४९ मतसहित विजयी हुँदा एमालेका बाबुराम भट्टराई २२ हजार ७१८ मतमा सीमित भए । राप्रपाका मृगेन्द्रकुमार शेरचन ४ हजार ३७९ मत ल्याए ।

उपमेयरमा भने नेकपा एसले गठबन्धनबाट धोका पाएको छ । यहाँ एमाले उम्मेदवार सावित्रादेवी अर्याल २५ हजार ६१ मतसहित विजयी हुँदा नेकपा एसका चीनबहादुर गुरुङले १७ हजार २३ मतमात्रै पाए । राप्रपाकी भगवती पाण्डेले ६ हजार ८२० मत पाइन् ।

१९ वटा वडामध्ये १२ जना वडाध्यक्ष कांग्रेसले जितेको छ । यस्तै ५३ जना सदस्य पद जितेको छ । जसमा १३ महिला सदस्य, १३ दलित महिला सदस्य र २७ जना खुला सदस्य छन् । यसरी ९७ सदस्यीय नगरसभामा कांग्रेसको ६६ सदस्य कायम भएको छ । जुन उसका लागि कार्यपालिकामा बहुमत पुर्‍याउनसमेत पर्याप्त छ ।

एमालेले ५ जना वडाध्यक्ष र २२ सदस्य पद जितेको छ । जसमा ६ जना महिला सदस्य, ६ जना दलित महिला सदस्य र १० जना खुला सदस्य रहेका छन् । यसरी नगरसभामा उपमेयरसहित उसको २८ सदस्य कायम हुन्छ ।

यस्तै नेकपा एसले एउटा र स्वतन्त्र उम्मेदवारले एउटा वडाध्यक्ष जितेका छन् ।

हेटौडाः मेयरमा एसको बाजी, नगरसभामा एमाले बढी

हेटौडा एमालेको परम्परागत गढ मानिँदै आएको थियो । त्यसैले सत्तारुढ गठबन्धनका दलहरूको भागबन्डामा एमालेबाट विभाजित नेकपा एसलाई नै हेटौंडा दिइएको थियो । एमालेसँग हेटौंडा खोस्न यो रणनीति सफल भयो । यहाँ नेकपा एसकी मीनाकुमारी लामा २३ हजार ७५ मतसहित विजयी भइन् । एमालेका अनन्तकुमार पौडेल २० हजार ९०८ मतसहित दोस्रो भए ।

राप्रपाका दीपकबहादुर सिंहले दुवै उम्मेदवारलाई जबरदस्त टक्कर दिए । तर, जित्न सकेनन् । उनी २० हजार ५३१ मतसहित तेस्रो भए ।

उपमेयर पनि गठबन्धन एमालेबाट खोस्न सफल भयो । उपमेयरमा कांग्रेसका राजेश बानियाँ ३२ हजार ५९३ मतसहित विजयी भए । एमालेकी सुमित्रा काफ्ले २३ हजार ९०९ मतमा सीमित हुँदा राप्रपाकी इन्दिरा न्यौपाने ५ हजार ४८६ मत पाइन् ।

मेयर/उपमेयर एमालेबाट खोस्न सफल भए पनि नगरसभामा भने एमालेले बहुमत जुटाएको छ । १९ वटा वडा रहेको हेटौंडामा उसले ९ वटा वडा जितेको छ ।

९७ सदस्यीय नगरसभामा एमालेले ९ वडाध्यक्षसहित ४२ सदस्य जितेर ५१ सदस्य कायम गरेको छ । एमालेबाट ४२ सदस्यहरूमा १२ जना महिला सदस्य, ११ जना दलित महिला सदस्य र १९ जना खुला सदस्य निर्वाचित भए ।

उता कांग्रेसका ८ जना वडाध्यक्ष विजयी भए । वडा सदस्य भने ३० जनामात्रै जितेको छ । जसमा ६ महिला सदस्य, ७ दलित महिला सदस्य र १७ जना खुला सदस्य छन् । एक उपमेयर र ८ वडाध्यक्षसहित कांग्रेसका ३९ नगरसभा सदस्य कायम भएका छन् ।

मेयर जितेका नेकपा एसले एक वडाको सिङ्गो सेट जितेको छ । उसको मेयरसहित नगरसभामा जम्मा ६ सदस्य कायम भएको छ । एउटा वडाध्यक्ष माओवादी केन्द्रले जितेको छ ।
यसरी नगरसभामा एमालेका ५१ सदस्य कायम हुँदा सत्ता गठबन्धनबाट जम्मा ४६ जनामात्रै भएका छन् । यसकारण यहाँ ८ जना कार्यपालिका सदस्यको निर्वाचन एमालेको पक्षमा जाने देखिएको छ । जसले नगर कार्यपालिकामा पनि एमालेकै बहुमत हुने देखिएको छ ।

जीतपुर सिमराः मेयरमा माओवादी केन्द्र, नगरमा एमालेकै वर्चश्व

अघिल्लो पटक एमालेले जितेको यो उपमहानगरको मेयर यसपटक गठबन्धनको सहाराले माओवादी केन्द्रले जितेको छ । माओवादी केन्द्रका राजन पौडेल १८ हजार ७४३ मतसहित विजयी हुँदा एमालेका सरस्वतीदेवी चौधरी १७ हजार ७७९ मतमा सीमित भइन् । लोसपाका सञ्जयकुमार साहले ५ हजार ३८२ मत प्राप्त गरिन् ।

उपमेयरमा भने गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार पराजित भए । एमाले उम्मेदवार भोलाप्रसाद अधिकारी १७ हजार ४९२ मतसहित विजयी हुँदा कांग्रेसकी मेघा शाहीले १५ हजार ८४२ मतमात्रै पाइन् ।

२४ वटा वडामध्ये एमालेले १३ जना वडाध्यक्ष जितेको छ । यसबाहेक एमालेले ५४ सदस्य पद पनि जितेको छ । जसमा १३ जना महिला सदस्य, १३ जना दलित महिला सदस्य र २८ जना खुला सदस्य छन् । १२२ सदस्यीय नगरसभामा एमाले एक्लैको ६८ जना कायम भएको छ ।

कांग्रेसले ५ जना वडाध्यक्ष र १९ सदस्य पद जितेको छ । वडा सदस्यमा ४ महिला सदस्य, ४ दलित महिला सदस्य र १० जना खुला सदस्य रहेका छन् ।

माओवादी केन्द्रले मेयर, ४ जना वडाध्यक्ष र १४ जना वडा सदस्य जितेको छ । जसमा महिला सदस्य ४ जना, दलित महिला सदस्य ४ जना र ६ जना खुला सदस्य छन् ।

नेकपा एसले एउटा वडाध्यक्ष र ३ सदस्य जित्दै नगर सभामा ४ सदस्य कायम गर्दा लोसपाले एक वडाध्यक्षसहित ५ सदस्य जितेर नगरसभामा ६ सदस्य कायम गरेको छ ।

कलैयाः नेतृत्वमा एमाले, कार्यपालिका र नगरसभामा गठबन्धन हाबी

कलैया उपमहानगरपालिकामा पाँचदलीय गठबन्धन एमाले हराउन असफल भएको छ । यहाँ मेयर र उपमेयर दुवैमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवार जितेका छन् । मेयरमा एमालेका विनोदप्रसाद साह २४ हजार १७४ मत ल्याउँदै विजयी हुँदा कांग्रेसका राजेश राय यादवले १८ हजार ५४० मत पाए ।

उपमेयरमा पनि एमालेकी उम्मेदवार रौशन परविन १९ हजार २५१ मतसहित विजयी भइन् । गठबन्धनबाट उम्मेदवार बनेका जसपाका प्रमोदप्रसाद गुप्ताले १८ हजार ३०४ मत पाए ।

नगरसभामा पनि एमाले नै ठूलो दल बनेको छ । यहाँका २७ वटा वडामध्ये ९ जना वडाध्यक्ष एमालेले जितेको छ । बाँकी ४६ सदस्य पद पनि उसैले जितेको छ । जसमा १२ जना महिला सदस्य, १२ जना दलित महिला सदस्य र २२ जना खुला सदस्य छन् । १३७ सदस्यीय नगरसभामा एमाले एक्लैको ५७ सदस्य कायम भएको छ । तर उसका लागि यो संख्या बहुमत जुटाउन पर्याप्त छैन ।

१० जना वडाध्यक्ष कांग्रेसले जितेको छ । कांग्रेसले ३२ जना सदस्य पद पनि जितेको छ । जसमा ७ महिला सदस्य, ८ दलित महिला सदस्य र १७ जना खुला सदस्य छन् ।

जसपाले ६ वटा वडा जितेको छ । थप २२ जना सदस्य पनि उसले जितेको छ । जसमा ६ महिला सदस्य, ५ दलित महिला सदस्य र ११ जना खुला सदस्य छन् ।
यहाँ कांग्रेस र जसपा मिलेरै ८ कार्यपालिका सदस्यका लागि हुने निर्वाचनमा आफ्ना उम्मेदवार जिताउने ताकत कायम गरेका छन् । यस्तै नगरसभामा पनि उनीहरू दुई मिलेको खण्डमा बहुमत कायम हुनेछ ।

यस्तै नेकपा एसले वडाध्यक्षसहित एक दलित महिला सदस्य र २ खुला सदस्य जितेको छ । यसरी नगर सभामा उसको पनि ४ सदस्य थप हुँदा नेपाल लोकतान्त्रिक पार्टीले एउटा वडाको पुरै प्यानल जितेर नगरसभामा पाँच सदस्य कायम गरेको छ ।

जनकपुरधामः कांग्रेसका बागीको जित, जसपालाई धोका

पाँचदलीय गठबन्धन दलको भागबन्डाअनुसार यो उपमहानगरको मेयर जसपा र उपमेयरमा कांग्रेसले पाएका थिए । जसअनुसार जसपाले मेयरमा लालकिशोर साहलाई उम्मेदवार बनाएको थियो ।

तर कांग्रेसका मनोजकुमार साह सुडीले उनीविरुद्ध (स्वतन्त्र) बागी उम्मेदवारी दिए । उनलाई कांग्रेसका स्थानीय नेता–कार्यकर्ताहरूले समेत साथ दिए । जसअनुसार उनले १३ हजार ४६५ मतसहित विजयी हुँदा कांग्रेसबाट धोका पाएका जसपा उम्मेदवार लालकिशोर ५ हजार १५४ मतसहित चौथो स्थानमा चित्त बुझाउन पुगे ।

दोस्रोमा एमालेका शिवशंकर साहले ९ हजार ५३२ मत र तेस्रो स्थानमा भने लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत पाए । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४ हजार २९० मत पाए ।

उपमेयरमा भने गठबन्धनबाट कांग्रेसकी किशोरी साह १५ हजार ५२५ मतसहित विजयी भइन् । दोस्रोमा एमालेकी रुणादेवी झाले १० हजार ८८५ प्राप्त गर्दा लोसपाकी रीताकुमारी मिश्र ५ हजार ८१७ मतसहित तेस्रो भइन् ।

२५ वटा वडा रहेको यो उपमहानगरमा ११ जना वडाध्यक्ष कांग्रेसले जितेको छ । यस्तै ५७ सदस्य पद पनि उसैले जितेको छ । जसमा १५ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र २८ जना खुला सदस्य छन् । यसरी १२७ सदस्यीय नगरसभामा कांग्रेसको एक्लै बहुमत पुगेको छ । कांग्रेसका एक उपमेयर, ११ वडाध्यक्ष र ५७ सदस्यसहित ६९ जना पुगेको छ ।

एमालेले ७ जना वडाध्यक्ष र २९ जना सदस्य जितेको छ । जसमा ७ महिला सदस्य, ७ दलित महिला सदस्य र १५ जना खुला सदस्य छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले २ वटा वडा प्यानलसहित जितेर नगरसभामा १० सदस्य कायम गर्दा जसपाले एक वडाध्यक्षसहित एक दलित महिला सदस्य र एकजना खुला सदस्य जितेर नगरसभामा ३ सदस्य कायम गरेको छ ।

माओवादी केन्द्र र तराई-मधेस लोकतान्त्रिक पार्टीले १/१ जना वडाअध्यक्ष जितेका छन् । दुईवटा वडामा स्वतन्त्र जितेका छन् । यस्तै स्वतन्त्रबाटै महिला सदस्य एकजना, दलित महिला एक जना र खुला सदस्य २ जना निर्वाचित भएका छन् ।

धरानः मेयरमा लौरोको सरप्राइज, एमालेको बहुमत

धरानको मेयरमा गठबन्धन र एमालेलाई सरप्राइज दिँदै स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ राईले २० हजार ८२१ मत ल्याएर जित हासिल गरे । उनलाई गठबन्धनको समर्थनप्राप्त कांग्रेस उम्मेदवार किशोर राई १६ हजार ५९ मतमा पछ्याउनमै रोकिए । एमालेकी मञ्जु भण्डारी सुवेदीले १२ हजार ८२५ मत प्राप्त गरिन् ।

उपमेयरमा भने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्रविक्रम वेघा २० हजार ५१० मतसहित विजयी भए । एमालेका पदमप्रसाद लिम्बू १७ हजार ६०६ मतसहित दोस्रो भए ।

२० वटा वडामध्ये १० वडाध्यक्ष एमालेले जितेको छ । यस्तै ४६ सदस्य पनि उसैले जितेको छ । जसमा १२ जना महिला सदस्य, १२ जना दलित महिला सदस्य र २२ जना खुला सदस्य छन् । यसरी १०२ सदस्यीय नगरसभामा एमालेले ५६ जना कायम गरेर बहुमत जुटाएको छ । कार्यपालिकामा पनि उसैको बहुमत हुने निश्चित छ ।

कांग्रेसले ७ जना वडाध्यक्ष र ३० जना सदस्य जितेको छ । जसमा ७ महिला सदस्य, ७ दलित महिला सदस्य र १६ जना खुला सदस्य छन् । यसरी नगरसभामा ३७ सदस्य कायम भएको छ ।

माओवादी केन्द्रले एउटा वडाको पुरै सेट र उपमेयर गरी ६ सदस्य कायम गर्दा राप्रपाले एक वडाध्यक्ष जितेको छ । एक वडाध्यक्ष स्वतन्त्र उम्मेदवार जितेका छन् ।

इटहरीः मेयरमा कांग्रेसको जित, नगरसभामा एमाले बलियो

इटहरी उपमहानगरपालिकाको मेयर गठबन्धनको सहारामा कांग्रेसले जितेको छ । कांग्रेसका हेमकर्ण पौडेल ३३ हजार ४९ मतसहित विजयी हुँदा एमालेका यामकुमार चुङ्गवाङ सुब्बा २८ हजार ३१ मत प्राप्त गरे । राप्रपा आकाश हाङ्ग लिम्बु ३ हजार ९०८ मत पाए ।

उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी ३२ हजार ४३६ मतसहित विजयी हुँदा गठबन्धनको सहारामा नेकपा एसका केशवबहादुर विष्ट चौधरीलाई हराउन असफल रहे । विष्टले १८ हजार ३१ मत पाए । राप्रपाकी बबिताकुमारी चौधरी ४ हजार ७१९ मत पाए ।

२० वटा वडामध्ये १४ वटा एमालेले जितेको छ । एमालेले थप ६० सदस्य पनि जितेको छ । जसमा १५ जना महिला सदस्य, १४ जना दलित महिला सदस्य र ३१ जना खुला सदस्य रहेका छन् । १०२ सदस्यीय नगरसभामा एमालेले एक उपमेयरसहित ७५ सदस्य कायम गरेको छ ।

कांग्रेसले ५ जना वडाध्यक्ष जितेको छ । थप १६ जना सदस्य पनि उसैले जितेको छ । जसमा ४ महिला सदस्य, ५ दलित महिला सदस्य र ७ जना खुला सदस्य छन् ।

यस्तै एउटा वडाध्यक्ष प्यानलसहित स्वतन्त्रले जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर