प्रेस युनियनभित्रको एकता अपरिहार्य : सिग्देल – Nepal Press

प्रेस युनियनभित्रको एकता अपरिहार्य : सिग्देल

काठमाडौं । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले चाहँदा-चाहँदै पनि प्रेस युनियनको महाधिवेशन गर्न नसकिएको बताएका छन् ।

प्रेस युनियनभित्र समयमै महाधिवेशन नभएको भन्दै असन्तुष्ट समूहले छुट्टै भेला राखेपछि अध्यक्ष सिग्देलले यस्तो बताएका हुन् ।

‘तीन वर्ष पुग्दानपुग्दै अधिवेशन गर्न खोजिएकै हो । त्यो बेला निर्वाचन पर्‍याे’, नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसका अवसरमा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले भने, ‘अर्को पटक महासमिति बैठक पर्‍याे । त्यसपछि नेपालगञ्जमा गर्न खोजेका थियौं । लकडाउन पर्‍याे । अहिले फेरि पार्टीबाट दबाब आएपछि सार्न बाध्य भयौं ।’

संगठन सञ्चालनका क्रममा देखिएका यस्ता व्यवहारिक समस्या बुझिदिन उनले आग्रह गरे । ‘बजारमा धेरै हल्ला छ । सबैभन्दा बढी नोक्सानी मलाई भएको छ । साथीहरूको वृत्तिविकासमा पनि अवरोध भएको छ । यो सबै समस्याको भदौ र २१ र २२ गते हेटौंडामा महाधिवेशनबाट समाधान हुन्छ’, उनले भने ।

अध्यक्ष सिग्देलले असन्तुष्ट समूहलाई पनि व्यवहारिक पक्ष बुझेर एकतामा आउन आग्रह गरे । उनले भने, ‘प्रेस युनियनको एकता अपरिहार्य छ । युनियनको एकतामा देशको लोकतन्त्र बलियो हुन्छ ।’

असन्तुष्टि जनाउँदैमा कुनै कसैप्रति आग्रह/पूर्वाग्रहको भाव आफूमा नरहेको उनले बताए ।

प्रेस युनियनले पछिल्लो समय आजबाट सुरू हुनेगरी हेटौंडामा महाधिवेशनको मिति तोकेको थियो । तर, निर्वाचनका कारण कांग्रेसको आग्रहमा महाधिवेशन स्थगित गरिएको थियो । नयाँ मिति भदौ २१ र २२ लाई तोकिँदा युनियनभित्रै अझै महाधिवेशन अनिश्चित पार्न खोजिएको भन्दै असन्तुष्टि उठेको थियो ।

असन्तुष्ट समूहले आज बत्तीसपुतलीमा छुट्टै भेला गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर