बालेनलाई पत्नीको शुभकामना- कहीँकतै नडगमगाउने शक्ति मिलोस् – Nepal Press

बालेनलाई पत्नीको शुभकामना- कहीँकतै नडगमगाउने शक्ति मिलोस्

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले भारी मतान्तरले जितेपछि समर्थकहरु खुसीयाली मनाइरहेका छन् । यो खुसीले उनको आफ्नै परिवारलाई नछुने कुरै भएन ।

श्रीमानको विजयीपछि उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत आफ्नो भावना अभिव्यक्त गरेकी छन् । बालेनलाई बधाई दिँदै उनले भनेकी छन्, ‘अब तिमी मेरो बालेनबाट हाम्रो बालेन भयौ ।’

सविनाले बालेनलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगाउने शक्ति मिलोस् भन्ने कामना गरेकी छन् । ‘अब तिमीले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु नपरोस् । हेर्न परे पनि कृतज्ञताका लागि मात्रै होस्, तिम्रा पाइला अगाडिमात्र बढिरहून्’, उनले भनेकी छन् ।
आफ्नो प्रेम, विश्वास र समर्थन सँगै रहने उनले प्रत्याभूति गराएकी छन् ।

यस्तो छ उनको स्टाट्स

‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शीर उचालिएको छ ।

तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिनरात नभनी तिमीले गरेको मिहेनतको फल आज सबैसामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् ।

घरी–घरी डर पनि लाग्छ । अगाडि विशाल भवसागर छ । बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमीप्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ । चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् । अब तिमीले जीवनमा पछाडि फर्केर कहिल्यै हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहून्, ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास, मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिल्यै पनि हार हुँदैन । म तिमीलाई कहिल्यै हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।

तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर