सोती हत्याकाण्ड: आक्रोशित ‘नवराजका आमाहरु’ र अर्थमन्त्रीको आश्वासन – Nepal Press

सोती हत्याकाण्ड: आक्रोशित ‘नवराजका आमाहरु’ र अर्थमन्त्रीको आश्वासन

काठमाडौं । अन्तरजातीय प्रेम गरेकै कारण नवराज विकसहित रुकुमपश्चिमको सोती हत्याकाण्डमा मारिएका पाँचजना मृतकका आमाहरुले निकै मेहनतपछि बिहीबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरे । सोमबार काठमाडौं आइपुगेका नवराजका आमाहरुले निकै लामो कसरतपछि अर्थमन्त्री शर्मासँग केही मिनेट भेट गर्न पाएका हुन् ।

अर्थमन्त्री शर्मालाई भेटेर उनिहरुले आफ्ना पीडा सुनाउनुका साथै संसदमा आफूहरुलाई थप पीडा हुने गरी दिएको वक्तव्यको पनि जवाफ मागेका छन् । त्यसैअनुसार अर्थमन्त्री शर्माले संसदमा दिएको वक्तव्यबारे पनि स्पष्ट पार्का छन् ।

हत्याकाण्डको स्मृतिमा जेठ १० गते संयुक्त दलित संघर्ष समिति र विभिन्न संघ संस्थाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका थिए, नवराजका आमाहरु । जाजरकोटबाट आउनुअघि नै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मालाई जसरी पनि भेटेरै जाने प्रण गरेका थिए ।

त्यसै अनुसार ९ गते काठमाडौं आइपुगेको उनीहरु १० गते माइतीघरमा आयोजित विरोध प्रर्दशनमा सहभागि भए । ११ गते उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने प्रयास गरे पनि सफल भएनन् र गृहमन्त्रीलाई भेटे । गृहमन्त्रीमार्फत प्रधानमन्त्रीलाई सन्देश छोडे ।

१२ गते बिहानैदेखि अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने प्रयास गरेका नवराजका आमालाई सुरुमा अर्थमन्त्री शर्माको सचिवालयका कर्मचारीले अर्थमन्त्री सारै व्यस्त रहेको भन्दै भेट्न अस्वीकार गरे । निकै आग्रहपछि दिउँसो ३ बजे भेट्ने समय दिइयो । तर सचिवालयमा कार्यरत एक कर्मचारीले भने, ‘तपाईहरुका कुराकानी त सुन्न भ्याउनुहुन्न मन्त्री ज्यूले । दुई मिनेट देखादेख मात्रै गराइदिन्छौं ।’

त्यसपछि पनि उनीहरुले करिब तीन घण्टा भेटका लागि प्रतीक्षा गरे । अन्नतः राति ८ बजे मन्त्री शर्माले पीडितलाई कार्यकक्षमा बोलाए । र छोटोमा कुरा राख्न भने ।

अर्थमन्त्री शर्माको नजिकै बसेकी नवराज विककी आमा उर्मिला विकले बोल्न सुरु गर्नुअघि नै झोलामा रहेका छोराहरुका फोटो निकालेर आँशु बगाउँदै बोल्न सुरु गरिन्, ‘हाम्रा छोरा आफैं मरेका हुन भनेर तपाईंले भन्नुभयो भन्ने सुनेका छौं ।’

अर्थमन्त्री शर्माले बीचैमा रोक्दै भने, ‘मैले संसदमा बोलेको भन्ने कुरा जुन छ नि । त्यो मैले प्रहरीको रिपोर्टअनुसार भनेको हो । म सबै कुरा भन्न खोज्दै थिएँ । तर, संसदमा मलाई पूरा कुरा राख्न नै दिएनन् ।’

मन्त्री शर्माले बोल्दै गर्दा टिकाराम नेपालीकी आमा गीता नेपालीले प्रश्न गर्दै भनिन्, ‘मार्ने मान्छे तपाईंका भएर जोगाउनका लागि त्यसो भन्नु भएको हो कि, किन भन्नुभएको हो ? हामीलाई यसको जवाफ चाहियो ।’

‘ती घटनामा संलग्न मेरा मान्छे होइनन् । यसमा तपाईंहरु भ्रममा नपर्नुहोला’, मन्त्री शर्माले यसो भन्दै गर्दा लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले झोलाबाट छोराहरुका फोटो देखाउँदै ‘कसरी हाम्रा छोरा भिडन्तमा मारिए ? कसरी हाम फालेर मरे ? भिडन्तमा मारिएका र हाम फालेका भए, यस्ता हुन्थे ? भनिन् ।

मन्त्री शर्माले जवाफ दिँदै भने, ‘फोटो देखाउनु पर्दैन । मैले पहिले नै हेरिसकेको छु । मलाई सबै कुरा थाहा छ । तपाईहरु ढुक्क भएर बस्नुस्, न्याय पाउनुहुन्छ ।’

सञ्जु विककी आमा सविता विकले भनिन्, ‘हाम्रा छोराहरुको पोष्टमार्टम रिपोर्ट पनि बिगारे । घटनाको मुचुल्का पनि बिगारे । के हामी गरिब र दलित भएकै कारण हेपिएको हो ?’

मन्त्री शर्माले सविताको जवाफ दिँदै भने, ‘यो अत्याचार नै भएको हो । म तपाईंहरुको पक्षमा छु ।’

गणेश बुढाकी आमाले भनिन्, ‘ती मार्ने मान्छे तपाईंले चिनेका, तपाईंका आफन्त भएकाले हाम्रा छोरा आफैं भेरीमा हाम फालेर मरेका भन्नु भएको हो ? यदि नभएको भए काठमाडौं बसेको मान्छेले भेरी नदीमा हाम फालेको कसरी देख्नुभयो ?’

त्यसपछि पीडित महिलाले नवराजकी प्रेमिका सुस्मा मल्ल र उनकी आमा प्रकाशी मल्ल घटनाको मुख्य योजनाकार भए पनि उनीहरुलाई साधारण तारेख तथा धरौटीमा छोडिएकोप्रति आपत्ति जनाए र आजिवन काराबास हुनुपर्ने माग गरे । मन्त्री शर्माले आफूले सधैं न्यायको पक्षमा काम गर्ने जवाफ दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर