पश्चिमा मुलुकको टिप्पणीबीच प्यासिफिक भ्रमणमा चिनियाँ विदेशमन्त्री – Nepal Press

पश्चिमा मुलुकको टिप्पणीबीच प्यासिफिक भ्रमणमा चिनियाँ विदेशमन्त्री

काठमाडौं । दक्षिण प्रशान्तीय क्षेत्रमा चीनले सैन्य र आर्थिक हस्तक्षेप गरिरहेको भनेर पश्चिमा मुलुकहरूले आरोप लगाइरहेको बेला चिनियाँ विदेशमन्त्री वाङ यी दक्षिण प्रशान्तीय क्षेत्रका ८ देशको भ्रमणमा निस्किएका छन् ।

वाङ यी नेतृत्वको २० जना उच्च अधिकारीको टोलीसहितको भ्रमण दल बिहीबार सोलोमन आइल्यान्ड पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले यस भ्रमणलाई चीन र दक्षिण प्रशान्तीय राज्यहरूको मित्रतालाई थप प्रगाढ बनाउने सेतुको रूपमा व्याख्या गरेको छ ।

वाङले सोलोमन आइल्यान्डको राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डता कायम राख्ने प्रयासमा चीनले दृढतापूर्वक समर्थन गर्ने बताएका छन् । चीनले गत महिना मात्र सोलोमन आइल्यान्डसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको थियो ।

जसका आधारमा चीनले अस्ट्रेलियासँग नजिकको दूरीमा रहेको सोलोमन आइल्यान्डमा सैन्य शिविर बनाउन सक्ने भन्दै विश्व समुदाय तरंगित भएको थियो । सोलोमन आइल्यान्ड र चीनले उक्त कुराको खण्डन गर्दै आएका छन् ।

चीनले उक्त भ्रमण सुरु गरेलगत्तै अस्ट्रेलियाले पनि नवनियुक्त विदेशमन्त्री पेनी ओङलाई फिजी भ्रमणमा पठाएको छ । बुधबार मात्र जापानको भ्रमणबाट अस्ट्रेलिया पुगेका ओङले बिहीबार फिजी पुगेर कुनै पनि दक्षिण प्रशान्तीय राष्ट्रहरूले जुनसुकै देशसँग सम्बन्ध विस्तार गर्न सक्ने तर अस्ट्रेलियासँगको सम्बन्ध प्रगाढ बनाइ राख्दा कति फाइदा हुन्छ भन्ने मनन गर्दा राम्रो हुने बताएका छन् ।

‘अस्ट्रेलिया प्यासिफिक संस्थाहरूको मूल्य मान्यतालाई नष्ट नगरी, कुनै पनि आर्थिक बोझ नथुपारी एक साझेदार राष्ट्रको रूपमा मात्र रहन चाहन्छ’, उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर