उपचारमा लापरबाहीः अमेरिकामा पढ्ने नेपाली विद्यार्थीले पाए १३ अर्ब ७६ करोड क्षतिपूर्ति – Nepal Press

उपचारमा लापरबाहीः अमेरिकामा पढ्ने नेपाली विद्यार्थीले पाए १३ अर्ब ७६ करोड क्षतिपूर्ति

काठमाडौं । उपचारको क्रममा लापरबाही भएको ठहर गर्दै अदालतले अमेरिकामा एक नेपाली विद्यार्थीलाई ११ करोड १० लाख अमेरिकी डलर (१३ अर्ब ७६ करोड रूपैयाँ) बराबर क्षतिपूर्ति दिन आदेश गरेको छ ।

अमेरिकाको सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालले शल्यक्रियामा लापरबाही गरेको भन्दै अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई उक्त रकम बराबर क्षतिपूर्ति भराउन आदेश दिएको छ । अमेरिकी समाचार संस्था एसोसिएट प्रेस (एपी) का अनुसार अदालतले गत साता तोकेको उक्त क्षतिपूर्ति राज्यको अहिलेसम्मकै सम्भवत: ठूलो व्यक्तिगत क्षतिपूर्ति हुनसक्ने हो ।

थापाले तीन वर्षअघि सन् २०१९ मा अस्पतालविरूद्ध क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर गरेका थिए । सन् २०१७ मा फुटबल खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । उपचारका लागि सेन्ट क्लाउडमा पुर्‍याइएका उनलाई जाँचको क्रममा खुट्टा भाँचिएको र तत्काल शल्यक्रिया गरिनुपर्ने भनिए पनि अनुज तत्काल शल्यक्रिया गराउने पक्षमा नरहेको बताइएको छ ।

डा. चाड होलियनको नेतृत्वमा उनको शल्यक्रिया गरिएकोमा भोलिपल्ट बिहान खुट्टामा झन् पीडा भएसँगै शरीरका अन्य भागमा पनि समस्या आएको र अस्पतालले आफ्नो कुरा नसुनेको अनुजले रिटमा उल्लेख गरेका थिए । पीडाको बाबजुद अस्पातलबाट डिस्चार्ज गरिएका थापाको अवस्थामा केही सुधार नआएपश्चात पुन: अस्पताल भर्ना भएकोमा हड्डी र मांसपेशीमा पहिल्यैदेखि समस्या रहेको र सोही कारण शल्यक्रियापछि समस्या थप बढेको निष्कर्ष अस्पतालले निकालेको थियो ।

समस्या बल्झिँदै जाँदा अनुजले अहिलेसम्म १२ वटा शल्यकृया गरेकोमा अस्पतालको लापरबाहीको कारण खुट्टा नै चलाउन नसक्ने अवस्थामा पुगेको समाचारमा जनाइएको छ ।

अनुजले चिकित्सकीय लापरबाहीका कारण आफू शारीरिकरूपले अपांगता भएको दाबी गर्दै अस्पतालमा मुद्दा हालेका हुन् । अदालतमा लामो सुनुवाइपश्चात अनुजको पक्षमा फैसला भएको हो ।

यद्यपि अस्पतालले सुरूदेखि नै थापाको उपचार र शल्यक्रिया निर्धारित मापदण्डअनुसार नै भएको दाबी गर्दै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *