ट्रोल गर्नेप्रति करिश्माको आक्रोशः बिहान फोन हेर्नासाथ तपाईंहरुको जे पायो त्यही भनाइ पढ्नुपर्ने ? – Nepal Press

ट्रोल गर्नेप्रति करिश्माको आक्रोशः बिहान फोन हेर्नासाथ तपाईंहरुको जे पायो त्यही भनाइ पढ्नुपर्ने ?

काठमाडौं । चर्चित नायिका करिश्मा मानन्धरले २०७९ को स्थानीय चुनाव नजिकिँदै गर्दा एमालेमा प्रवेश गरिन् । पार्टीको प्रचार र उम्मेदवारलाई जिताउन वा भोट माग्न घरदैलो अभियानमा समेत लागिन् । एमालेको एक चुनावी सभामा उनले, ‘मेरो न्वारनको नाम सूर्जेकुमारी हो र एमालेको चुनाव चिन्ह पनि सूर्य नै हो’ भन्दै भाषण गर्दा निकै चर्चा पनि भएको थियो । उनले अहिले पनि आफ्नो भेरिफाइड फेसबुक पेजमा करिश्मा मानन्धर ९सुर्यकुमारी० भनेर नै राखेकी छन् ।

अहिले चुनाव सकिएर मतगणना लगभग अन्तमा आइपुग्दा धेरैले करिश्मालाई ट्रोल गरिरहेका छन् । ‘करिश्मा जता जान्छिन्, त्यही पार्टीलाई अशुभ’ भन्ने खालका समाचार र कमेन्टहरुले करिश्मालाई दुःखी बनाएको छ । उनले यस विषयमा स्टाटस लेखेर गुनासो गरेकी छन् ।

उनले यस्तो कोणबाट समाचार लेख्ने मिडियाको स्क्रिनसटसहित आफ्नो पेजमा हालेकी हुन् । यत्रो वर्ष चलचित्र क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किँदासम्म पनि कहिल्यै यस्तो तल्लोस्तरको टिप्पणी भोग्नु नपरेको उनको भनाइ छ । उनले आफूलाई मानसिक पीडा दिने शब्द धेरै प्रयोग गरेमा कानुनी उपाय खोज्नेसम्मको चेतावनी दिएकी छन् ।

उनको स्टाटस यस्तो छः
‘जीवनमा कसैको नराम्रो चिताएको छैन । कसैको नराम्रो गरेको छैन । सके बरु आफूसँग भएको बाँडेको छु । यत्रो वर्ष चलचित्र क्षेत्रमा काम गरेर देश र जनतालाई पस्किएँ । कुनै चलचित्र चले, कुनै चलेनन् । तर कहिल्यै यस्तो तल्लोस्तरको टिप्पणी भोग्नु परेन । राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । मलाई जीवनभर पुग्ने सबै छ मसँग । सबैको आवाज बन्न सकुँ । उहाँहरुको लागि केही गर्न सकुँ भनेर नै हो ।
मानसिकतालाई पीडा दिने शब्द प्रयोग गर्ने कसैलाई अधिकार छैन । नत्रभने कानुनी उपाय खोज्नुपर्ने हुन्छ । हो एक–दुई पटकसम्म सहनु ठीक छ । तर बारम्बार गर्दा अति हुन्छ । के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई ? बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो तेइ भनाइ हेर्नु पर्ने ?

राम्रो सोच्नुस्, राम्रो बोल्नुस्, राम्रो हुन्छ र यी मिडियाका साथीहरूलाई सुझाव, अलि तथ्य समाचार लेख्नुस् । यस्तो पनि समाचार हुन्छ ? आधारविहीन आरोप लगाउनेहरु अँध्यारोमा हिँडिरहेका मानिस जस्तै हुन् ।’

उनले आफ्नो स्टाटस केहीबेरमा हटाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *