७५० पालिकाको नतिजा आउँदा १४ दल अस्तित्वमा, प्रमुख र उपप्रमुखमा कसको कति सिट ? (सूचीसहित) – Nepal Press

७५० पालिकाको नतिजा आउँदा १४ दल अस्तित्वमा, प्रमुख र उपप्रमुखमा कसको कति सिट ? (सूचीसहित)

काठमाडौं । देशभरका ७५३ मध्ये ७५० स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक हुँदा निर्वाचन आयोगमा दर्ता भएका १४ वटा राजनीतिक दलले प्रमुख पद जितेर दलीय अस्तित्व कायम गरेका छन् ।

सबैभन्दा बढी ३२७ स्थानमा प्रमुख पद जितेर नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले २०५ स्थानमा प्रमुख पद जितेर दोस्रो बनेको छ ।

उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाबाहेक सबै पालिकाको नतिजा आएको छ ।

काठमाडौं महानगरपालिकामा केही मत गन्न बाँकी रहँदै मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भइसकेकाले उनीहरुको समेत सिट संख्या जोड्दा ३५० तहको परिणाम सार्वजनिक भएको हो ।

प्रमुख पदमा १२१ सिट जितेर माओवादी केन्द्र तेस्रो भएको छ । कांग्रेस र एमालेबीच प्रमुख पदमा १२२ सिट फरक छ भने एमाले र माओवादीबीच ८३ सिटको फरक छ ।

संसदको चौथो पार्टी जनता समाजवादीले ३० सिट जितेर स्थानीय तहमा चौथो स्थान बनाएको छ भने संसदको तेस्रो पार्टी नेकपा एकीकृत समाजवादीले २० सिट जितेर पाँचौं स्थान सुरक्षित गरेको छ ।

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले प्रमुखतर्फ १६ सिट जितेर पाँचौं दल बन्दा राप्रपा, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी बराबरी चार–चार सिट जितेर छैटौं स्थानमा छन् ।

सिके राउत नेतृत्वको जनमत पार्टी २ सिट जितेर सातौं स्थानमा रहँदा नेपाल मजदुर किसान पार्टी, विवेकशील साझा, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टीले एक–एक सिट जितेका छन् ।

स्वतन्त्र र बागी उम्मेदवारहरुले १३ वटा स्थानीय तहमा प्रमुख पद जितेका छन् ।

उपप्रमुखमा कांग्रेस–एमाले नजिक

प्रमुख पदमा कांग्रेसभन्दा १२२ सिट पछि परेको एमालेले उपप्रमुखमा भने ३३ सिट बढी जितेको छ । कांग्रेसले ३०० सिट जित्दा एमालेले २३८ जितेर ६२ सिट पछि परेको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रमुख र उपप्रमुखको मतभार बराबर हुन्छ । यस हिसाबले कांग्रेसको ६२७ र एमालेको ४४३ मत हुनेछ । नेकपा माओवादी केन्द्रले उपप्रमुखतर्फ १२६ स्थान जित्दा जसपाले ३१ र नेकपा एसले २४ स्थान जितेका छन् ।

त्यस्तै लोसपाले १२ सिट जितेको छ भने राप्रपा र राष्ट्रिय जनमोर्चाको बराबरी चार–चार सिट छ । अन्य साना दलले एक–एक सिट उपप्रमुख जित्दा तमलोपाले एक सिट पनि जितेको छैन । देशभर ४ जना स्वतन्त्रले उपप्रमुख पद जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर