भक्तपुर नगरमा गरियाे मेलम्चीको पानी वितरण परीक्षण – Nepal Press

भक्तपुर नगरमा गरियाे मेलम्चीको पानी वितरण परीक्षण

काठमाडौं । भक्तपुर नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरणसम्बन्धी परीक्षण गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि) भक्तपुर शाखाले बोडे खानेपानी प्रणालीको पाइपलाइनमा मेलम्चीको पानी वितरणसम्बन्धी परीक्षण गरेको हो ।

काउखालि भक्तपुरका प्रमुख सुरेन्द्र हिमालयले भक्तपुरको सूर्यविनायक नगरपालिका ६ कटुञ्जेस्थित पानी ट्यांकीबाट भक्तपुर नगर क्षेत्रमा मेलम्चीको पानी वितरण परीक्षण गरिएको जानकारी दिए । उनले नियमित पानी वितरण भने अझै अनिश्चित भएको स्पष्ट पारे ।

‘मेलम्चीको पानी वितरण गरेका होइनौं’, प्रमुख हिमालयले भने, ‘परीक्षण गरेका हौं । बोडे खानेपानी प्रणालीको पाइपलाइनमा मेलम्चीको पानी खसालेका हौं ।’

करिब २ घन्टा पानी परीक्षण गर्दा वर्षौंदेखि बन्द निजी धारामा पानी आएको उनले बताए । पानीको चाप उच्च भएकाले केही ठाउँमा वितरण पाइपमै क्षति पुगेको उनको भनाइ छ ।

‘पानीको चाप उच्च नै पायौं । यसले भक्तपुर नगरका अधिकांश क्षेत्रका धारामा पानी खसेको जानकारी पाएका छौं’, प्रमुख हिमालयले भने, ‘वर्षौंदेखि एकथोपा नझर्ने निजी धारामा समेत पानी आएको पायौं । मेलम्चीको पानी भक्तपुर आयो भने खानेपानी समस्या समाधान हुने परीक्षणबाट स्पष्ट भयौं ।’

भक्तपुर नगरमा मात्रै वितरण गर्ने गरी कटुञ्जेमा २० लाख लिटर क्षमताको पानी पहिल्यै निर्माण गरिएको थियो । सोही ट्यांकीमा बुधबार मेलम्चीको पानी भरेर आज परीक्षण वितरण गरिएको हो । उक्त पानी भक्तपुर नगरपालिका वडा नं १, २, ३, ४ र ५ सम्मका धाराहरुमा परीक्षण वितरण गरिएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काउखालि भक्तपुरका प्रमुख हिमालयले सूर्यविनायक नपा ६ पाण्डोबजारमा मेलम्चीको पानी वितरण गर्ने चाबी खोलेर बिहीबार पानी परीक्षण गरेका थिए ।

काउखालिले कटुञ्जेमै थप ६० लाख लिटर क्षमताको अर्को ट्यांकी निर्माण गरेको छ । तर उक्त ट्यांकीसम्म पुग्ने र त्यहाँबाट वितरण हुने पाइपलाइन निर्माण हुन बाँकी रहेको काउखालि भक्तपुर शाखाले जनाएको छ ।

१० दिन बिराएर पानी वितरण

भक्तपुरमा खानेपानीको स्रोत कम हुँदै गएपछि काउखालि भक्तपुरले अहिले कतै ५ दिन त कतै १० दिन बिराएर पानी वितरण गर्दै आएको छ । भक्तपुरका प्रमुख हिमालयले भक्तपुरमा मागको आधामात्रै पानी वितरण गर्न सकिएको जानकारी दिए ।

‘भक्तपुरमा दैनिक ८० लाख लिटर पानी माग छ । तर, हामीले आधामात्रै आपूर्ति गर्न सकेका छौं’, उनले भने, ‘मेलम्चीको पानी आयो भने २÷३ दिनको फरकमा पानी वितरण गर्न सकिन्छ ।’

प्रमुख हिमालयले बोडे प्रणालीमा पानीको मात्रा र चाप निरन्तर घट्दा पनि भक्तपुरमा खानेपानीको समस्या बढेको बताए । वर्षा सुरु भएसँगै नगरकोटस्थित मुहानपोखरीबाट वितरण हुने पानीसमेत प्रभावित भएको उनको भनाइ छ ।

उनले भक्तपुरमा तत्काल मेलम्चीको पानी नियमित वितरण नहुने बताए । असार लागेसँगै मेलम्चीको पानी सुरुङमा पठाउन बन्द गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर