ओलीको प्रश्न- गठबन्धन सरकार एक चीन नीतिको पक्षमा छ कि छैन ? (भिडिओ) – Nepal Press

ओलीको प्रश्न- गठबन्धन सरकार एक चीन नीतिको पक्षमा छ कि छैन ? (भिडिओ)

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा पुगेको घटनालाई लिएर सरकारको चर्को आलोचना गरेका छन् । उनले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरे ।

संसद बैठकमा आज लामो सम्बोधन गर्ने क्रममा ओली सरकारको परराष्ट्र नीति लाचार बनेको टिप्पणी गरेका थिए । छिमेकी राष्ट्रहरूको संवेदनशीलता र सन्तुलित सम्बन्धमा सरकारले ध्यान दिन नसकेको उनको आरोप छ ।

ओलीले प्रश्न गरे, ‘एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्छन् ? कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?’

बातैपिच्छे सत्ता उम्किहाल्छ कि भन्ने चिन्ता नपाल्न ओलीले आग्रह गरे ।

‘एउटा सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ,’ उनले भने, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?’

ओलीले थपे, ‘नेपालको एक चीन नीतिको पक्षमा छ कि छैन ? छिमेकीहरूसँग मुखले एउटा कुरा व्यवहारमा अर्को कुरा गर्न मिल्छ ? आफ्नो भूमि अर्को देशको विरुद्ध प्रयोग गर्न नदिने नीतिमा सरकार अडिक छ कि छैन ?’

सरकारसँग राष्ट्रिय खण्डता र स्वाधीनताको संरक्षण गर्ने आँट नरहेको ओलीले बताए । वैदेशिक मामलामा सरकारले सिंगो राष्ट्रको प्रतिनिधित्व गर्न नसकेको उनको आरोप थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर