सोती हत्याकाण्ड: सिंहदरबारमा पीडित आमाहरुको आँशु बगिरह्यो, तर प्रधानमन्त्रीले भेट्न मानेनन् – Nepal Press

सोती हत्याकाण्ड: सिंहदरबारमा पीडित आमाहरुको आँशु बगिरह्यो, तर प्रधानमन्त्रीले भेट्न मानेनन्

काठमाडौं । रुकुमपश्चिमको सोतीमा अन्तरजातीय प्रेम गरेकै कारण नवराज विकसहित मारिएका ६ जनाका आमालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न अस्वीकार गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नका लागि उनीहरुले धेरै प्रयास गरे पनि सफल भएनन् । प्रधानमन्त्री देउवाले भेट्न अस्वीकार गरेपछि उनीहरुले गृहमन्त्री बालकृष्ण खाणलाई भेटे ।

‘यसपटक जसरी भए पनि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई भेटेर जान्छौं’, बुधबार बिहान नवराजका आमाले भनेकी थिइन्, ‘गत वर्ष आउदाँ केपी शर्मा ओलीलाई भेटेर गएका थियौं । उहाँले न्याय दिन्छु भन्नुभएको थियो । तर, अहिलेसम्म न्याय पाइएन । अहिलेका प्रधानमन्त्रीले न्याय दिनहुन्छ कि भन्ने आश छ ।’

तर उनीहरुको आश निरासामा बदलियो । उनीहरुले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्न त के देख्न पनि पाएनन् ।

नवराजका आमालाई अधिवक्ता त्रिलोकचन्द्र विस्वास विश्वकर्माले भेटघाटको वातावरण बनाउने प्रयास गरेका थिए । उनले प्रधानमन्त्री, गृहमन्त्री तथा अर्थमन्त्रीसँग भेटघाट मिलाउनका लागि पहल गरिहेका थिए । उनीहरुले नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभाका सदस्य मीन विश्वकर्मालाई भेटघाटका लागि समय मिलाइदिन आग्रह गरेका थिए । मीन विश्वकर्माले पहल पनि गरे । तर, भाइको भर्खरै मुत्यु भएको हुनाले सार्वजनिक कार्यक्रममा सहभागी नहुने भन्दै प्रधानमन्त्री पन्छिए । त्यसपछि उनीहरुले गृहमन्त्रीसँग भेटेका थिए ।

अरुसँगको भेटघाटका लागि भने प्रधानमन्त्री समय दिए

भाइको मृत्यु भएकाले कसैसँग भेटघाट नगर्ने र सार्वजनिक कार्यक्रममा सहभागी नहुने भन्दै नवराजका आमालाई भेट्न अस्वीकार गरेका देउवाले बुधबार नेपाली कांग्रेसका महिला नेताको टोलीले बलात्कारसम्बन्धी बुझाएको ज्ञापनपत्र भने बुझे । नवराजकी आमा उर्मिला विकले नेपाल प्रेससँग भनिन्, ‘हामी दलित र गरिबलाई प्रधानमन्त्रीले पनि भेट्न नमिल्ने रहेछ । कोही नभए पनि सरकार हाम्रो पक्षमा छ, हाम्रो कुरा प्रधानमन्त्रीले सुन्नुहोला भनेर जाजरकोटबाट ऋण गरेर काठमाडौं आएका थियौं । तर, हामीसँग भेट्न मान्नुभएन ।’

गृहमन्त्री खाणको बैठक कक्षमा रुवाबासी

गृहमन्त्री बालकृष्ण खाणसँग काँग्रेस नेता मीन विश्वकर्माले समय मिलाइदिएपछि भेट्ने समय तय भयो, अपरान्ह ४ बजे । झरी परिरहेको भए पनि नवराजका आमाहरु भिज्दै गृहमन्त्रालयमा छिरे । चार बजे छिरेका उनीहरुलाई दुई घण्टापछि मात्रै गृहमन्त्री बालकृष्ण खाणसँग भेट्ने समय मिल्यो ।

गृहमन्त्री खाणको बैठक कक्षमा नवराजसहित सोती घटनामा मारिएका ६ जनामध्ये पाँच जनाका आमाहरु लहरै बसे । उनीहरुसँगै पुगेका अधिवक्ता त्रिलोकचन्द्र विश्वासहित दलित अधिकारकर्मीले तयार पारेको ज्ञापनपत्र गृहमन्त्री बालकृष्ण खाणलाई बुझाए । त्यसपछि गृहमन्त्री खाणले ‘कुरा राख्न’ भने ।

सुरुमा नवराजकी आमा उर्मिला विकले निन्याउरो अनुहार लगाउँदै मलिन स्वरमा भनिन्-

मन्त्री ज्यू, हामीलाई न्याय दिनुपर्यो । ३४ जना सुरुमा पक्राउ परेका भए पनि अहिले २३ जना मात्र प्रहरीको हिरासतमा छन् । यसरी नै छुट्दै जाने हो भने त हामी ज्यूँदै मरितुल्य हुन्छौं । त्यसैले हामीलाई न्याय दिलाइदिनुपर्यो । भित्र रहेका र बाहिर छुटेकालाई पनि जन्मकैदको फैसला हुनुपर्यो । हामी त्यहीं बिन्ती बिसाउन हजुर कहाँ आएका हौं ।

लगत्तै लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनारले छोराको हत्या भएको फोटो देखाएर आँशु झार्दै भनिन्–

श्रीमान हाम्रा छोरा कुटीकुटी मारेका हुन् । तर, पोष्टमार्टमको रिपोर्ट पनि डाक्टरले राम्रो निकालेनन् । हामी जाजरकोटबाट रुदैँ कराउदैँ हजुरसम्म आइपुगेका छौं । ११ जनालाई छोडिसकेको छ । हाम्रा छोरालाई मार्ने अपराधीलाई कडाभन्दा कडा कारबाही हुनुपर्यो । गरिब दलितका कुरा नसुनेर हो कि, दलित र गरिबका लागि कानून नै नभएर हो कि । हाम्रा छोरालाई कुटीकुटी मारेर पनि अर्थमन्त्री जनार्दन शर्माले त दोहोरो भिडन्त भएपछि आफैं हाम फालेर मरेका भन्नुभयो । उहाँ काठमाडौं भएर पनि हाम्रा छोराले आफैंले हाम फालेको कसरी देख्नुभयो । दोहोरो भिडन्त भएको भए खै उनीहरु किन घाइते भएनन्, एकजना पनि किन मरेनन् । ११ गते नै नवराजको शव भेटिए पनि प्रहरीले किन लापरबाही गर्यो । समयमा नै खोज खबर गरेको भए अरु छोरा त मर्ने थिएनन् । हामी अहिलेसम्म गरेर तीनपटक काठमाडौं आइसक्यौं । हाम्रा कुरा पहिलेका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई पनि राख्यौं । अहिलेसम्म हामीले न्याय पाएनौं । हाम्रो अब यत्ति चाहाा हो कि निर्दोषी नफसुन् । दोषी कोही पनि नछुटुन् ।

सञ्जु विकको आमा सविता विकले भने बोल्न सुरु नगर्दै आँखाबाट आँशु झारिन् । र सम्हालिँदै भनिन्-

श्रीमान हाम्रा छोरा मार्ने सबैलाई आजिवन कारावास हुनुपर्यो । यदि अहिले जसरी ११ जना छुटे, त्यसरी नै सबैजना छुट्ने हुन भने त हाम्रा छोराको आत्माले शान्ति पाउँदैन । मुख्य योजनाकार नवराजकी प्रेमीका सुष्मा मल्ल र उनकी आमा प्रकाशी मल्ललाई धरौटीमा छोडिएको छ । उनीहरुलाई यसरी छोडेपछि हामीलाई झन् पिडामाथि पीडा थपिएको छ । उनीहरु पैसावाला भएर होला सबैजना पैसामा बिकेका छन् । हामीसँग न त पैसा त न त ठूला बडासम्म पुग्ने हात नै छ ।

त्यसपछि गणेश बुढाकी आमा राधिका बुढा पनि बोल्न सुरु गर्न नपाउँदै डाको छोडेर रुन थालिन् । र भनिन्, ‘हाम्रा छोरा मारेको दुई वर्ष बितिसक्यो । हामी रुँदारुँदै आँशु नै सुक्ने बेला भैसक्यो । हामीलाई जसरी पनि न्याय दिलाइ दिनुपर्यो ।’

उनीहरुले कुरा राखिरहेकै बेला गृहमन्त्री खाणले ज्ञापनपत्रलाई पनि पाना पल्टाउँदै हेरिरहेका थिए । नवराजकी आमा उर्मिलासहित पाँचैजनाले आफ्ना कुरा राखिसकेपछि गृहमन्त्री खाणले सुरुमा नै प्रधानमन्त्री देउवाको बचाउ गर्दै भने, ‘प्रधानमन्त्री ज्यूको भर्खरै भाइ बित्नुभएको छ । त्यसैले उहाँ सार्वजनिक कार्यक्रममा सहभागी हुनुहुन्न र यस्तो भेटघाटमा पनि सहभागी भइरहनुभएको छैन । उहाँले नै मलाई भेट्न भन्नुभएको हो र यो ज्ञाप पत्र म प्रधानमन्त्री ज्यू समक्ष पुर्याउनेछु ।’

गृहमन्त्री खाणले सरकार पीडितको पक्षमा रहेको र अदातलतले न्याय दिलाउने आश्वासन दिए । उनले भने, ‘घटनाबारे सरकार जानकार छ । संसदीय समितिले नै छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । कार्यान्वययमा केही कमजोरी र ढिलाइ भएको पक्कै हो । यो घटना पीडितका लागि मात्र दुखद नभएर देशका लागि नै दुखद घटना हो । यस घटनाले मुलुकलाई नै ठूलो धक्का दिएको छ । यसले हाम्रो प्रतिष्ठामा नै असर पुर्याएको छ ।’

उनले सुरक्षाको प्रत्याभूति नभएको भए सरकार सुरक्षा दिन तयार रहेको पनि बताए ।

गृहमन्त्री खाणले पोष्टमार्टको रिपोर्टमा पनि केही समस्या भएसंलग्न चिकित्सकलाई बयान दिनका लागि सरकारले अनुरोध गर्नसक्ने बताए ।

नवराज विककी आमा उर्मिला विक, टिकाराम नेपालीको आमा गीता नेपाली, गणेश बुढाको आमा राधिका बुढा, सञ्जु विककी आमा सविता विक र लोकेन्द्र सुनारकी आमा लक्ष्मी सुनार जाजरकोटबाट ऋण काढेर सोमबार काठमाडौं आइपुगेका हुन् । उनीहरु सुन्धारमा रहेको एक होटलमा बस्दै आएका छन् ।

उनीहरु काठमाडौं आएको जानकारी पाए लगत्तै विभिन्न अधिकारकर्मी तथा सञ्चारकर्मी पालैपालो नवराजका आमा बसेको होलटमा पुगेर उनीहरुका कथा व्यथा लेखिरहेका छन् । सोमबार काठमाडौं आइपुगेका नवराजका आमाहरु मंगलबार नवराजसहित ६ जना मारिएको दिन अर्थात जेठ १० गते दिनभरी नै माइतीघर मण्डलामा धर्नामा बसे ।
संयुक्त दलित संघर्ष समिति तथा विभिन्न राजनीतिक दलका भ्रातृ संगठन र विभिन्न संघ संस्थाका प्रमुख तथा प्रनिनिधिले उक्त धर्ना तथा बिरोध कार्यक्रममा पुगेर ऐक्यवद्धता जनाएका थिए ।

२०७७ साल जेठ १० गते रुकुम चौरजहारीकी गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न गएका नवराज विकसहित ६ युवक केटी पक्षका गाउँलेको आक्रमणबाट मारिएका थिए । उनीहरू सबैको शव भेरी नदीमा फेला परेको थियो  । चौरजहारी–८ को सोतीमा गाउँलेको आक्रमणमा परेका उनीहरूको शव १५ दिनसम्म लगाएर प्रहरीले भेटाएको थियो । प्रहरीका अनुसार उनीहरूमाथि घरेलु हतियारको प्रयोग भएको थियो । घटनामा अरू १२ जनाले भने भागेर ज्यान बचाएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले २०७७ जेठ २६ गते नेकपा (माओवादी केन्द्र)का नेताससमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेका थिए । छानबिन समितिले घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही र मृतकसँग आश्रित पीडित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारी र भरणपोषणको व्यवस्था सरकारले गर्न भन्दै सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर