विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा: रवीन्द्र मिश्र – Nepal Press

विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा: रवीन्द्र मिश्र

काठमाडौं । पार्टीले चुनावमा पराजय व्यहोरेपछि विवेकशील साझाको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले ‘जे–जे भए पनि’ विचारभन्दा माथि देशलाई राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत चार बुँदामा राजीनामाबारे प्रष्टीकरण दिँदै उनले भनेका छन्– विचारभन्दा माथि देशलाई राख्नैपर्छ, बाँकी उपरवालेकी इच्छा ।

उनले आगामी दिनमा कविता, किताब, सिनेमा लेख्ने र परोकारी काम गर्न सकिने पनि बताएका छन् । काम जे गरे पनि विचारभन्दा देश माथि राख्ने कुरालाई उनले जोड दिएका छन् ।

‘बरु नष्ट हुँला, भ्रष्ट हुन्नँ’ भन्दै उनले लेखेको स्टाटस यस्तो छ–

मेरो राजीनामाको सन्दर्भमा ! बाँकी ‘उपरवालेकी इच्छा !’

हिजो मैले विवेकशील साझा पार्टीको अध्यक्षको पदबाट चुनावी परिणामका कारण नैतिकताको आधारमा राजीनामा दिएपछि पार्टीका साथीहरू तथा सञ्चार माध्यमबाट प्रशस्त फोनहरू आइरहेका छन्। त्यसै सन्दर्भमा निम्न अनुरोध गर्न चाहन्छु–

१. मैले भन्नुपर्ने कुरा हिजो जारी विज्ञप्तिमा भनिसकेको छु। हाललाई म कुनै पनि सञ्चार माध्यमसँग थप टिप्पणी गर्न चाहन्नँ।

२. यति धेरै प्रतिकुलताहरूबाट गुज्रिँदा पनि मलाई अझै स्नेह र सद्भाव देखाएर सन्देश पठाउने सबैप्रति हृदयदेखि आभारी छु। तपाईंहरूको मायाले त विविध प्रतिकूलताबीच आजसम्म मलाई अघि बढ्ने सम्पूर्ण शक्ति प्रदान गरेको छ। नत्र कहाँ सकिन्छ र, ममा कमजोरी छन्, हाम्रा विचार नमिल्ला, त्यो भिन्दै कुरा हो। तर यतिचाहिँ वाचा गर्छु । मबाट बेइमानी हुँदैन। यो समाज र देशलाई ठग्ने काम हुँदैन। ‘बरू नष्ट हुँला, भ्रष्ट हुन्न’ भनेर मैले भन्ने गरेकै छु।

३. पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यहीं नै गरेको हुँ। पार्टीको केन्द्रीय समितिको बैठक बस्न दिनुहोस् र त्यसले नै पार्टीको भावी प्रारम्भिक बाटो तय गर्नेछ भन्ने विश्वास लिएको छु।

४. कतिपय साथीहरूले ‘अब तपाईं के गर्नु हुन्छ ?’ भनेर सोधिरहनु भएको छ। मलाई मेरो भाग्यले गुनासो गर्ने ठाऊँ नै नराखि चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। मेरो राजनीतिको प्रमुख उद्देश्य ‘देशको दूरगामी हित र दशकौँसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्शै गर्न सकेन तिनलाई स्पर्श गर्नु’ थियो। त्यो सफलता अहिलेसम्म हासिल भएको छैन। त्यसका लागि ‘विचारभन्दा माथि देश’लाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो। त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु। बाँकि, ‘उपरवाले की इच्छा !’

साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला !’

फेरि एकपटक तपाईंहरूको स्नेह र सद्भावप्रति नतमस्तक छु !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर