यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह – Nepal Press

यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । पछिल्लो समय काठमाडौँलगायत देशका विभिन्न भागमा यौनजन्य हिंसा तथा बलात्कारका घटना भएका भनी विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भइरहेका घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउदैँ आयोगले यस्तो आग्रह गरेको हो ।

आयोगमा समेत यस्ता प्रकारका उजुरी प्राप्त भएकोले आयोगले यी घटनाको अनुगमन गरिरहेको आयोगका प्रवक्तासमेत रहेका सहसचिव डा.टिकाराम पोखरेलले जानकारी दिए । सार्वजनिक भएका यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा नेपाल प्रहरीबाट भएका कार्य तथा देखिएका चुनौतीबारे नेपाल प्रहरीका अधिकारी तथा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसँग पनि बुधबार आयोगले कार्यालयमा बोलाएर छलफल गरेको छ ।

छलफलको क्रममा आयोगका सदस्य लिली थापाले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकारको सुनिश्चित् गर्न नेपाल प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन निर्देशन दिएकी छन् । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका निमित्त कार्यालय प्रमुखसमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) उत्तमराज सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशील रुपमा लिई अनुसन्धान गरिरहेको जानकारी गराएका छन् ।

नेपालको संविधान र कानूनले यौनजन्य हिंसाको कार्यलाई कानून बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै यस्ता घटनाबाट पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हकको व्यवस्था गरेका आयोगले स्मरण पनि गराएको छ । त्यसैले निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न, पीडित र साक्षीको सुरक्षा गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।

यस्तै पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ । साथै, यसप्रकारका घटनामा प्रहरीको अनुसन्धान कार्यमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन आयोगले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *