क्रिकेटमा चम्किँदै कृतिका – Nepal Press

क्रिकेटमा चम्किँदै कृतिका

रुपन्देही । १८ वर्षीय छोरी कृतिका मरासिनी यू–१९ महिला क्रिकेट टिमको कप्तानमा छनोट भएपछि खुसीको सीमा छैन कमल मरासिनी र किरण मरासिनीको । बुटवलमा सानो होटेल व्यवसाय गरेका उनीहरूलाई छोरीले हासिल गरेको सफलतापछि बधाईको ओइरो लागिरहेको छ ।

कृतिकालाई नेपाल क्रिकेट संघ (क्यान)ले जेठ ९ गते कप्तानको रुपमा घोषणा गरेको हो । सानैदेखि छोरीको लक्ष्य पूरा हुँदै गएकोमा मरासिनी परिवारलाई सन्तुष्टि मिलेको छ । ४ जुनदेखि मलेसियामा हुने यू–१९ विश्वकप छनोट खेलका लागि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिकाको काँधमा आएको हो ।

‘सानै उमेरदेखि छोरीले क्रिकेटमा चासो लिन्थिन्, अहिले देशकै जिम्मेवारी लिएर खेल्न जाने अवसर पाउँदा निकै खुसी छौँ,’ कृतिकाका बुवा कमल मरासिनीले नेपाल प्रेससँग भने ।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ७ घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिकामा बस्दै आएकी मरासिनीको जन्म २०६१ जेठ १७ गते बुबा भएको हो । बुटवलको लुम्बिनी इङ्गलिस बोर्डिङ स्कुलमा नर्सरीदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरा गरेकी उनी अहिले न्यू होराइजनमा उच्चशिक्षा पढ्दैछन् ।

क्रिकेटमा देब्रे हात चल्ने खेलाडी कम हुन्छन् । उनी देव्रेहाते स्पिनर हुन् । उनले विद्यालय तहबाटै स्थानीय र जिल्लामा हुने धेरै प्रतियोगितामा सहभागिता जनाएकी छन् ।

सानै उमेरमा नै स्कुलमा हुने विभिन्न प्रतियोगितामा भाग लिई उत्कृष्ट हुने उनको कक्षा ८ मा पढ्दै गर्दा क्रिकेटमा ध्यान गएको बुवा कमलले बताए ।

उनको खेलप्रति उच्च लगाव र क्षमता भएकी उनी आठौँ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागी भइन् र उत्कृष्ट प्रदर्शन गरिन् । त्यसपछि उनमा खेलप्रतिको लगाव बढ्दै गयो ।

उनी महिला क्रिकेटमा प्रतियोगितामा सहभागी भएर धनगढी प्रिमियर लिग, महिला लिग अन्तर्गत विराटनगर टाइटन्स खेलको अनुभव संगालेकी छन् ।

त्यति मात्र होइन उनले दुई पटक मुख्यमन्त्री कपमा लुम्बिनी प्रदेश र काठमाडौंमा भएको मेयर कपमा पनि प्रदेशकै प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल देखाइन् ।

उनका बुवाका अनुसार सन् २०१८/२०१९ मा आरसीडब्लु क्लबबाट भारतको विभिन्न ६ प्रान्तमा गई त्यहाँको विभिन्न क्लबहरूसँग खेल खेलेर धेरै पटक उत्कृष्ट खेलाडी भएकी थिइन् ।

त्यस्तै सन् २०१९ मा नेपालको जर्सीमा चाइनामा सम्पन्न ६ देशीय आर एण्ड बी कपमा ११ विकेट लिँदै उत्कृष्ट खेलाडीका रूपमा उदाइन् ।

कम उमेरमा उत्कृष्ट खेल खेलेर दर्शकको मन जित्न सफल भएकाले भएकाले उत्कृष्ट खेलको आधार र अनुभवी खेलाडीको रूपमा रहेकोले नेपाल क्रिकेट संघ (क्यान) ले अण्डर १९ विश्वकपको कप्तानको रूपमा छनौट गरेको हो ।

अहिले उनको कप्तानीमा हुने खेलमा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *