फोटो पत्रकार पौडेलले प्रहरीमा के दिए बयान ? – Nepal Press

फोटो पत्रकार पौडेलले प्रहरीमा के दिए बयान ?

काठमाडौं । ८ वर्षअघिको यौन शोषण काण्डमा प्रहरीले फोटो पत्रकार श्रीधर पौडेलसँग बयान लिएको छ । पौडेलले पीडित युवतीको दाबीमा सहयोग पुग्ने बयान दिएको प्रहरी स्रोतले बतायो ।

पेप्सीकोला घर भएकी सुस्मिता रेग्मीले ८ वर्षअघि एक सुन्दरी प्रतियोगिताका आयोजकले आफूमाथि बलात्कार गरेको घटना केही दिनअघि सार्वजनिक गरेकी थिइन् ।

त्यस बेला युवतीको फोटोसेसन गरेका फोटो पत्रकार पौडेलसँग महानगरीय प्रहरी परिसर टेकुले सोधपुछ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पौडेलले व्यवसायीक हिसाबले आफूले आयोजकसँग पारिश्रमिक लिएर इभेन्टको फोटो खिचेको बताए ।

आरोपीको कन्सल्टेन्सीमा भएको लफडाबारे उनले प्रहरीलाई बताएका थिए । प्रहरी स्रोतका अनुसार पौडेलको बयानले दिएको बयान यस्तो छ:

‘मिस ग्लोबल आयोजना भएको केही महिनापछि मलाई मनोज पाण्डेको कन्सल्टेन्सीबाट त्यहाँ लफडा भएको भन्दै फोन आयो । त्यसपछि गएको हुँ ।

म पुग्दा पाण्डेलाई युवतीका केटा साथीले पिटिरहेका थिए । मैले युवतीसँग विवादबारे सोधेँ । उनले आफूलाई पाण्डेले ब्याड टच र सेक्सुअल ह्यारेसमेन्ट गरेको बताइन् । त्यसपछि मैले पनि आक्रोशमा आएर पाण्डेलाई सुरुमा क्यालेन्डरले र त्यसपछि जुत्ताले हिर्काएको हुँ ।

मैले किशोरीलाई कानूनी उपचारमा जाने सल्लाह दिएको थिएँ । तर, उनले कानूनी उपचार भन्दा पनि भविष्यमा यो इभेन्ट नै आयोजना गर्न नहुने माग राखिन् । त्यसमा मनोज पाण्डेले सहमति जनाएपछि म फर्किएको हुँ ।’

युवतीले आफ्नो भिडियोमा त्यस बेलाका प्रेमीले आफूलाई कानूनी उपचारमा नजान सल्लाह दिएकाले नगएको बताएकी थिइन् ।

पौडेलले पाण्डेले आयोजना गरेको इभेन्टमा फोटो खिचेको र अनलाइन खबरको स्टुडियोमा फोटोसेसन गरेको बाहेक यस घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रहरीलाई स्पष्ट पारेका छन् ।

यसअघि आफ्नो फोटो दुरुपयोग गरेर घटनामा आफूलाई आरोपित गरेको भन्दै पौडेलले साइबर ब्यूरोमा उजुरीसमेत दिएका थिए ।


प्रतिक्रिया

One thought on “फोटो पत्रकार पौडेलले प्रहरीमा के दिए बयान ?

  1. पिडितको नाम, थर, ठेगाना खुलाउन हुँदैन भन्ने थाहा छैन कि क्या हो? पत्रकारीताको नियम थाहा नपाउनेहरूले पत्रकारिता गरेको देख्दा पनि उदेग लागेर आउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *