भोजपुर एमालेले भन्यो- गठबन्धनको धम्की र षड्यन्त्रबीच हामी पहिलो बन्यौं – Nepal Press

भोजपुर एमालेले भन्यो- गठबन्धनको धम्की र षड्यन्त्रबीच हामी पहिलो बन्यौं

भोजपुर । नेकपा एमाले भोजपुरले सत्ताको सहारामा गठबन्धनको धम्की र षड्यन्त्रबीच जनमतको हिसाबले एमाले जिल्लामा पहिलो पार्टी बनेको बताएको छ ।

अध्यक्ष शरणकुमार राईले विज्ञप्ति निकाल्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित निर्वाचन लोकतन्त्रको पहिलो र अनिवार्य सर्त भएपनि गठबन्धन निर्वाचन आचारसंहिताविपरीतका गतिविधिका साथ चुनाव लडेको आरोप लगाएका छन् ।

‘नेकपा (एमाले) भोजपुरको विकास र समृद्धिको अजेन्डा लिएर जनताको बीचमा गएको थियो । तर, सत्ता गठबन्धन सत्ताको बल र संरक्षणमा पैसा, धाक-धम्की र भ्रमहरु साहारामा निर्वाचन लडेको थियो । निर्वाचनको क्रममा गृह प्रशासन सत्ता गठबन्धनको पक्षमा र नेकपा (एमाले) को विपक्षमा परिचालित भयो’, एमालेको विज्ञप्तिमा भनिएको छ ।

भोजपुरमा २७ हजार ४ सय ३९ मतसहित एमाले पहिलो र २३ हजार ५ सय ९९ मत ल्याएर नेपाली कांग्रेस दोस्रो बनेको राईले उल्लेख गरेका छन् ।

जिल्लाका ९ स्थानीय तहमध्ये पौवादुङमा गाउँपालिका अध्यक्ष-उपाध्यक्ष एमालेले जितेको थियो । त्यस्तै षडानन्द नगरपालिका मेयर, भोजपुर नगरपालिका उपमेयर, टेम्केमैयुङ गाउँपालिका उपमेयरमा एमाले उम्मेदवार विजयी भएका छन् । ८१ वडामध्ये ३२ वडाध्यक्षमा पनि जित हासिल गरेको छ ।

‘हाम्रा जनप्रतिनिधि जहाँ हुनेछन्, त्यहाँ सुशासन हुनेछ । हाम्रा प्रतिनिधिहरुले भ्रष्टाचार गर्ने छैनन् । उहाँहरूले सदाचारका दृष्टान्त स्थापित गर्नुहुनेछ । जनताको सेवकको रुपमा पारदर्शी, सुशासनयुक्त र भ्रष्टाचारमा शून्य सहनशील भइ जनताको सेवा र विकास र समृद्धिको यात्रालाई नयाँ उचाइमा अगाडि बढाएर नमूना स्थानीय तहको रुपमा स्थापित गर्नुहुनेछ भन्ने दृढ विश्वास पार्टीले लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

पार्टीका उम्मेदवारलाई मत दिने मतदातासहित निर्वाचन सम्पन्न गराउन खटिने सबैलाई आभार जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *