महिला र बालिकामाथि के–के गर्दा यौनहिंसा हुन्छ ? यस्तो छ कानून – Nepal Press

महिला र बालिकामाथि के–के गर्दा यौनहिंसा हुन्छ ? यस्तो छ कानून

काठमाडौं । यौनजन्य हिंसा र अपराध फेरि एक पटक चर्चामा रहेको छ । हालसालै एक युवतीले ८ वर्षअघि सुन्दरी प्रतियोगिताका आयोजकले बलात्कार गरेको सार्वजनिक गरेपछि त्यसयता यौनजन्य हिंसाका घटनाहरू धमाधम बाहिरिइरहेका छन् ।

ती युवतीले आरोप लगाएका मनोज पाण्डेविरुद्ध अर्का एक किशोरीले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् ।

मङ्गलवार मात्र काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्सका छात्राहरूले यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले आरोपित दुई शिक्षकलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बाल यौन दुरुपयोगमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २ सय २४ मा यौन दुर्व्यवहार र २ सय २५ मा बाल यौन दुरुपयोगबारे उल्लेख छ।

यौन दुर्व्यवहार भएको मानिने अवस्थाबारे भनिएको छ, ‘कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउन हुँदैन । कसैले आफ्नो पति वा पत्नीबाहेक अन्य व्यक्तिलाई निजको मन्जुरी बिना करणीका आशयले समातेमा वा निजको संवेदनशील अंग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोसाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोसाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रूपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अंग निजलाई छुन समाउन लगाएमा, निजसँग अश्लील वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा सांकेतिक रूपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लील चित्र वा तस्बिर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिने छ ।’

उक्त कानुनमा यौन दुर्व्यवहार गर्नेलाई ३ वर्षसम्म कैद सजाय र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ।

यस्तै बाल यौन दुरुपयोगबारे भनिएको छ, ‘कसैले बाल यौन दुरुपयोग गर्न वा गराउन हुँदैन । कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौन सम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बाल यौन दुरुपयोग भएको मानिने छ।’

उक्त कसुर गर्नेलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ।

के छ अदालतको फैसलाको अवस्था ?

आर्थिक वर्ष २०७७/७८ मा देशभरका जिल्ला अदालतमा बाल यौन दुरुपयोगका २ सय ८८ जनाविरुद्ध २ सय ६७ मुद्दा दायर भएको थियो ।

फर्छ्यौट हुन बाँकीसमेत गरेर बाल यौन दुरुपयोगका मुद्दा ४ सय ५६ पुगेको थियो जसमा ४ सय ९७ जना प्रतिवादी थिए । तीमध्ये एक सय ३० वटा मुद्दाको फैसला भएकामा एक सय ३५ जना दोषी ठहर भएका थिए भने ६४ मुद्दामा ७२ जनाले सफाइ पाएका थिए।

त्यस आर्थिक वर्ष सर्वोच्च अदालतमा ३ जनाले पुनरावेदन गरेकामा २ जना दोषी ठहर भएका थिए।

उच्च अदालतमा एक सय ११ जनाले पुनरावेदन गरेकामा २५ जना दोषी र २७ जना निर्दोष ठहर भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *