भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक – Nepal Press

भारतले गहुँपछि चिनी निर्यातमा पनि लगायो रोक

काठमाडौं । विश्वमा खाद्य संकटको अवस्था सिर्जना हुने भएपछि भारतले एकपछि अर्को वस्तु निर्यातमा रोक लगाइरहेको छ ।

केही दिनअघि मात्रै गहुँ निर्यातमा रोक लगाएको भारतले अब चिनी निर्यात पनि बन्द गरेको छ ।

आउँदो जेठ १८ गतेदेखि लागू हुने गरी भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो । भारतले चिनीसँगै चिनी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थको समेत निर्यातमा रोक लगाउने भएको हो ।

रुस र युक्रेनको युद्ध सुरु भएपछि विश्वको आपूर्ति अवस्थामा नै समस्या आएको छ । त्यसको असर कम गर्न भन्दै भारतले आफ्नो देशमा उत्पादन हुने वस्तुको निर्यातमा रोक लगाउन थालेको हो ।

भारतले फलाम उत्पादनको लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा समेत कर बढाएको थियो ।

नेपालमा भारतबाट गहुँ आयात नहुँदा मैदा मिल नै बन्द हुने अवस्था आएको मिल सञ्चालकहरूले बताउने गरेका छन् । स्पन्ज आइरनको कर वृद्धि गर्दा नेपालमा फलामे डन्डीको समेत मूल्य वृद्धि हुने छ ।

चालू आर्थिक वर्षमा मात्रै ३ लाख मेट्रिक टनभन्दा धेरै चिनी नेपालमा नै उत्पादन भएको छ । भन्सार विभागको तथ्यांक अनुसार ४ अर्ब ८३ करोडको चिनी विदेशबाट आयात भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर