यूरोपका शीर्ष घरेलु फुटबलमा चम्किएका एसियाली खेलाडी – Nepal Press

यूरोपका शीर्ष घरेलु फुटबलमा चम्किएका एसियाली खेलाडी

काठमाडौं । व्यावसायिक फुटबलमा सबभन्दा धेरै गोल गर्ने खेलाडीको नाम के हो ? झट्ट सम्झँदा गोल मेसिनको नाम यसरी सम्झिइएला, क्रिस्टियानो रोनाल्डो, लियोनेल मेस्सी, रोबेर्ट लेवान्डोवस्की अथवा मोहम्मद सालाह…. । अर्थात यूरोप वा दक्षिण अमेरिकाकै स्टारहरू ।

विश्व फुटबलमा यूरोप र दक्षिण अमेरिकाको दबदबाका कारण अन्य महादेशका खेलाडीहरू माथि उठ्न नसकेको जगजायर नै छ ।

तर, यस पटक इङलिस प्रिमयर लिगमा त्योभन्दा भिन्न नामले उच्च गोलकर्ताको सफलता पायो । एसियाली समर्थकका लागि त सुन्दै कर्णप्रिय लाग्ने उनी हुन्- दक्षिण कोरियाका २९ वर्षीय सन ह्युङ मिन । टोटेनह्यामका स्टार मिनले यसै साता सम्पन्न प्रिमियर लिग सिजनमा सबैभन्दा धेरै २३ गोल गर्दै इङ्लिस प्रिमियर लिगमा ‘गोल्डेन बुट’ जित्ने पहिलो एसियाली खेलाडी बने ।

मिनले यस सिजन घरेलु लिगमा टोटेनह्यामबाट खेलेका ३५ खेलबाट २३ गोल गरे । यस्तै, लिभरपुलका इजिप्सियन स्टार सालाहले पनि सिजनमा लिगमा समान २३ गोल गरेका थिए । सालाह र मिन दुवैलाई यो अवार्ड संयुक्तरुपमा प्रदान गरिएको हो ।

मिनले १६ बर्षको उमेरमा सन् २०१० मा बुन्डेस लिगा क्लब ह्यामबर्गबाट यूरोपका शीर्ष पाँच घरेलु लिग फुटबल यात्रा सुरु गरेका थिए । चार वर्ष ह्यामबर्ग र तीन वर्ष अर्को बुन्डेस लिगा क्लब बायर लेभरकुसेनमा बिताएर उनी सन् २०१५ मा इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्याममा आबद्ध भएका थिए ।

मिनले बुन्डेस लिगामा समग्रमा ७८ खेल खेल्दै २० गोल गरेका थिए । भने, लेभरकुसेनबाट ८७ खेल खेल्दै २९ गोल गरेका थिए ।
त्यसपछि हालसम्म सात सिजन टोटेनह्याममा बिताएका सनले ३ सय ३५ खेलमा १ सय ३१ गोल गरिसकेका छन् । मिडफिल्डरका रुपमा उनको यो सशक्त उपस्थिति हो विपक्षी पोस्टमा ।

उनी युरोपियन च्याम्पियन्स लिग र इङ्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने र इङलिस प्रिमियर लिगमा गोल्डेन बुट जित्ने इतिहासकै पहिलो एसियाली खेलाडी पनि बनेका हुन् । मिनले सन् २०१० मा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेयता दक्षिण कोरियाका ९८ खेलमा ३१ गोल गरेका छन् ।

युरोपेली शीर्ष घरेलु लिग फुटबलमा यसअघि दक्षिण कोरियाकै पार्क जी सङले पनि सशक्त उपस्थिति देखाएका थिए । सन् २००५ मा म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका उनी पछि युरोपियन च्याम्पियन्स लिग जित्ने पहिलो एसियाली खेलाडी बनेका थिए ।

सात वर्ष म्यान युनाइटेडमा बिताएका उनले चार पटक घरेलु लिगको उपाधि जितेका थिए । विश्व फुटबल महासंघ (फिफा) ले उनलाई युरोपमा खेल्ने सर्वोत्कृष्ट एसियाली खेलाडी घोषित पनि गरेको थियो । सङले म्यान युनाइटेडका लागि २ सय ५ खेलमा २७ गोल गरेका थिए । मिडफिल्डमा उनको उपस्थिती बलिया विपक्षीलाई समेत टाउको दुखाइ बन्ने गर्थ्यो ।

यी दुवै खेलाडी यूरोपका शीर्ष पाँच घरेलु लिग फुटबल खेल्ने पहिलो एसियाली खेलाडी भने हैनन् । मिन र सङबाहेक अन्य एसियाली खेलाडीले पनि यसअघि युरोपियन क्लब फुटबलमा एसियाली छाप छाडेका थिए ।

जापानी खेलाडी सिन्जी कागावाले बुन्डेस लिगा क्लब बोरुस्सिया डर्टमन्ड बाट यूरोपका शीर्ष घरेलु क्लब फुटबल करिअर सुरू गरेका थिए । उनी आबद्ध भएपछि डर्टमन्डले लगातार दुई सिजन बुन्डस लिगाको उपाधि उचालेको थियो ।

सिन्जीलाई एसियन फुटबल संघले सन् २०१२ मा ‘प्लेअर अफ दी इअर’ अवार्डबाट सम्मान समेत गरेको थियो । उनी सन् २०१२/१३ मा प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडमा आबद्ध भएका थिए । त्यस सिजन युनाइटेडबाट लिग उपाधि जित्दै उनी इङलिस प्रिमियर लिग जित्ने पहिलो जापानी खेलाडी बनेका थिए ।

यस्तै, अर्का खेलाडी हुन् अलि दाई । अलि इरानका खेलाडी हुन् । बुन्डेस लिगा क्लब बायर्न म्युनिखको नजरमा परेका उनी च्याम्पियन्स लिग खेल्ने पहिलो एसियाली खेलाडी बनेका थिए । क्रिस्टियानो रोनाल्डोले तोड्नुअघि दाईको नाममा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने विश्व कीर्तिमान लामो समय रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *