अमेरिकाबाट फिर्ता ल्याइयो पुरातात्विक मूर्तिहरु – Nepal Press

अमेरिकाबाट फिर्ता ल्याइयो पुरातात्विक मूर्तिहरु

काठमाडौं । अमेरिकाका विभिन्न संग्रहालय तथा संकलनकर्तामा रहेका विभिन्न ५ वटा पुरातात्विक मूर्तिहरु फिर्ता ल्याइएको छ ।

कोलोराडोस्थित डेनभर म्युजियममा रहेको प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, डेनभर म्युजियममा रहेको उमामहेश्वरको मूर्ति लगायत नेपाल सरकारलाई हस्तान्तरण भएको पुरातत्व विभागले जनाएको छ । करिब ६० वर्षअघि पाटनको गाःहिटी (कुम्भेश्वर परिसर) बाट हराएको उमामहेश्वरको मूर्ति डेनभर म्युजियममा रहेको बारे कला÷सम्पदाको खोजी अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले २ वर्षअघि नै सूचना सार्वजनिक गरेको थियो ।

यसैगरी, पशुपतिनाथ मन्दिर परिसरबाट सन १९८०मा हराएको लिच्छविकालीन चतुर्मुखी शिवलिङ्ग २ वर्षअघि मंसिरमा सिकागो म्युजियममा फेला परेको थियो । त्यस्तै १३ औं शताव्दीतिरको राजकीय स्वरुपको मानवाकार प्रस्तरको नागराजाको मूर्ति सन १९८२ मा नक्साद क्षेत्रबाट हराएको थियो । त्यस्तै बिभिन्न समयमा हराएका पद्ममणी लोकेश्वर अर्थात बोधिसत्व अवलोकितेश्वर मुर्ति र शाक्यमूनि बुद्धिको मुर्ति पनि नेपाल ल्याइएको विभागले जनाएको छ ।

मुर्ति हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अवैध रुपमा बिदेश पुगेका मुर्तिहरुलाई नेपालको पहिलेको स्थानमा राखिने बताए । नेपालका ऐतिहासिक सम्पदालाई नेपाल फर्काउन सहयोग पुराएको भन्दै उहाले अमेरिका सरकारप्रति आभार व्यक्त गरे ।

हालसम्म बेलायतबाट १९ थान, अष्ट्रियाबाट १ थान, अमेरिकाबाट १७ थान, तिव्वतबाट २८ थान, कलकत्ताबाट १३ थान, जर्मनीबाट १ थान गरि ७९ थान मूर्तिहरु तथा कलावस्तुहरु नेपाल फिर्ता भइसकेको विभागले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर