विप्लवको नियतिः चुनावमा भाग लिन पार्टी फुटाए, परिणाम आयो ‘लज्जास्पद’ – Nepal Press

विप्लवको नियतिः चुनावमा भाग लिन पार्टी फुटाए, परिणाम आयो ‘लज्जास्पद’

उम्मेदवार भएका दुई केन्द्रीय सदस्यको जमानतै जफत

काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहभागी हुनकै लागि फुटेको नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा चार जना वडा सदस्यमा निर्वाचित गराउनमा सीमित भएको छ । केन्द्रीय समिति बैठकको निर्णयविपरीत पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निर्वाचनमा होमिएपछि विभाजन भएको पार्टीले देशभर चार जना वडा सदस्य मात्रै जितेको हो ।

प्रमुखमा उम्मेदवारी दिएका चारै केन्द्रीय सदस्य पराजित

विप्लव नेकपाका चार जना केन्द्रीय सदस्यले पालिका प्रमुख तथा अध्यक्षमा उम्मेदवारी दिएका थिए । चुणामणि वलीले रोल्पाको गंगादेवी गाउँपालिकाको अध्यक्षमा, एटम बिसिले पार्टी प्रवक्ता प्रकाण्डको पालिका कालिकोटको नरहरीनाथ गाउँपालिकाको अध्यक्षमा, संविधानसभा सदस्यसमेत रहेकी धिरेन्द्रा उपाध्यायले प्रकाण्डकै गृहजिल्ला कालिकोटको रास्कोट गाउँपालिकाको अध्यक्षमा र भेषराज भुसालले पार्टी महासचिव विप्लवको गृह जिल्ला कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।

जसमध्ये दुई केन्द्रीय सदस्यले धरौटीसमेत जोगाउन सकेनन् । केन्द्रीय सदस्य वलीले जम्मा सदर मतको १८ प्रतिशत र अर्का केन्द्रीय सदस्य बिसीले जम्मा सदर मतको १२ प्रतिशत मत मात्र प्राप्त गर्दै धरौटी जोगाउन सफल भएका हुन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६३ को उपदफा एकमा निर्वाचन गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । त्यसै व्यवस्थाअनुसार पालिका प्रमुखमा उम्मेदवारी दिएका दुईजना केन्द्रीय सदस्यसहित अरु वडा अध्यक्ष तथा वडा सदस्यमा उम्मेदवारी दिएका अधिकांश नेता तथा कार्यकर्ताको धरौटी जफत भएको हो ।

विप्लवको लालकिल्लामै विजोग

विप्लव नेतृत्वको नेकपाले लालकिल्ला मानेको रोल्पामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका एक केन्द्रीय सदस्यले भने धरौटी जोगाउन सफल भएका छन् । पार्टीका केन्द्रीय सदस्य चुणामणि ओलीले जिल्लाको गंगादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

गाउँपालिकाको अध्यक्षमा २५ सय ५७ मत ल्याएर नेपाली कांग्रेसका हरीबहादुर पुन निर्वाचित भए । नेकपा ९एमाले०का रोशनकुमार वली २४ सय ९९ मत ल्याउदैँ दोस्रो भए भने नेकपा (माओवादी केन्द्र)का विरबहादुर खत्री २ हजार ९३ मत ल्याएर तेस्रो भए । तर, स्वतन्त्र उम्मेदवारी दिएका विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य रहेका वलीले दुई हजार मत पुर्याउन सकेनन् । उनले १५ सय ७३ मत मात्रै ल्याउन सके ।

प्रकाण्डको गृहजिल्लामा लडेकी उपाध्यायले धरौटी जोगाउन सकिनन्

कालिकोटको रास्कोट नगरपालिकाको प्रमुखमा ३ हजार ४७ मत ल्याएर नेकपा (माओवादी केन्द्र)का धर्मराज शाही निर्वाचित हुँदा नेकपा (एमाले)का दयाराम सिम्खाडा दुई हजार एक सय १७ मत ल्याएर उपविजेता बने । नेपाली कांग्रेसका नवराज बराल ८ सय ६५ मत ल्याएर तेस्रो बने ।

तर, विप्लव नेतृत्वको नेकपाबाट स्वतन्त्र उम्मेदवारी दिएकी धिरेन्द्रा उयाध्यायले पाँच सय मत पनि कटाउन सकिनन् । उनले ४ सय ८० मत मात्रै प्राप्त गरिन् । उनले जम्मा सदर मतको ७ प्रतिशत मात्र मत प्राप्त गरेकी हुन् । जम्मा सदर मतको १० प्रतिशत मत प्राप्त नगरेका कारण उनको पनि धरौटी जफत भएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले स्थानीय तह निर्वाचनअघि एक सञ्चारमाध्यममा अन्तरवार्ता दिने क्रममा कालिकोटमा सबै पार्टी एकातिर र आफू अर्कोतिर भए पनि आफूले नै जित हासिल गर्ने दाबी गरेका थिए । तर, उनले आफ्नै गृहजिल्लामा अध्यक्षमा लडाएका संविधानसभा सदस्यसमेत रहेकी केन्द्रीय सदस्य उपाध्यायको धरौटी जोगाउन सकेनन् ।

बिसीले बल्ल जोगाए धरौटी

पार्टी प्रवक्ता प्रकाण्डकै पालिका नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नगेन्द्रबहादुर विष्ट २६ सय ३६ मत ल्याएर निर्वाचित भए । नेकपा ९एकीकृत समाजवादी०का धिरबहादुर विष्ट २४ सय ४५ मत ल्याएर दोस्रो भए भने नेकपा (एमाले)का टेकबहादुर वुढा २ हजार ३९ ल्याउदैँ तेस्रो भए । तर, स्वतन्त्र उम्मेदवारी दिएका विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य एटम बिसी १ हजार ९ मत ल्याउदैँ तेस्रो भएका छन् । उनले भने जम्मा सदर मतको १२ प्रतिशत मत प्राप्त गरेका छन् ।

पार्टीका महासचिव विप्लको गृहजिल्ला कविलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले उम्मेदवारी दिएका थिए । उक्त नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अजय थापा ७ हजार ६ सय २ मत ल्याएर निर्वाचित भए । तर, विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य भुसाल नेकपा (एमाले), नेपाली काँग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी पछि सातौं नम्बरमा परेर बल्ल तल्ल पाँच सय मत कटाउन सफल भए । उनले जम्मा ५ सय २७ मत मात्रै प्राप्त गरेका हुन् ।

विप्लव नेतृत्वको नेकपा सचिवालयका अनुसार उक्त पार्टीले रोल्पाका ९ वटै स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारीसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो । यस्तै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटका ९ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित अधिकाश वडामा उम्मेदवारी दिएको थियो । यति मात्र नभएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकाश जिल्लामा उम्मेदवारी दिएका थिए ।

प्रकाण्डको गृहपालिकाको अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जितेको छ । उनको वडा नम्बर ६ को वडा अध्यक्ष नेकपा (माओवादी केन्द्र)ले जितेको छ । आफ्ना उम्मेदवार जिताउन पार्टी प्रवक्ता प्रकाण्ड १५ दिन कालिकोटमै बसेर फर्किएका थिए ।

अरु पालिकामा प्रकाण्डले वडा सदस्यसमेत जिताउन सकेनन् । यस्तै रोल्पाको गंगादेव गाउँपालिकामा अध्यक्षमा पार्टीका केन्द्रीय सदस्य चुणामणी ओली र उपाध्यक्षमा सुशीला ओली चौथो भएर पराजित हुँदा चारजना वडा सदस्य भने निर्वाचित भएका छन् । वडा सदस्यमा रामबहादुर डाँगी, शालिकराम पुन, बमकुमारी खत्री र तुलसी कामी निर्वाचित भएका हुन् । यस्तै रोल्पाका ९ स्थानीय तहमा विप्लव नेतृत्वको नेकपा शून्य भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर