अब बाह्रविसेका दीर्घरोगीसँगै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण – Nepal Press

अब बाह्रविसेका दीर्घरोगीसँगै जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

नगरपालिकाले औषधि पनि नि:शुल्क दिने

सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाभित्रका दीर्घरोगीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिने भएको छ । नवनिर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेतले पदभार ग्रहण कार्यक्रममा यस्तो निर्णय गरेका हुन् ।

नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ सम्मका विद्यार्थीहरुका लागि निःशुल्क खाजाको व्यवस्था पनि गर्ने भएको छ । बढ्दो सहरीकणसँगै आगालगीबाट स्थानीय जनधनको क्षति हुन थालेपछि नगरपालिकाले दमकल खरिद गर्नेसमेत निर्णय गरेको छ ।

पदभार ग्रहणसँगै नगरप्रमुख बस्नेतले बाह्रविसे नगरपालिका मातहात रहेको प्रथामिक स्वास्थ्य केन्द्रको स्तोरन्नति गरेर क्षेत्रीयस्तरको स्वास्थ्य केन्द्र बनाउने अर्काे निर्णय गरेको छ ।

त्यस्तै, कृषि तथा पशुपालन र कृषकलाई प्राथमिकता दिँदै उत्पादन र बजारीकरणको व्यवस्थामा ध्यान दिने निर्णय पनि नगरपालिकाले गरेको छ । नगरभित्र शैक्षिक विकासमा ध्यान दिने र प्राविधिक शिक्षालयको विकासमा जोड दिने निर्णय पनि नगरपालिकाले गरेको छ ।

नगरभित्र कार्यरत बालविकास सहजकर्ता, विद्यालयभित्र कार्यरत कर्मचारीहरुलाई न्यूनतम पारीश्रमिक उपलब्ध गराउने पनि नगरपालिकाले निर्णय गरेको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा बाह्रविसे नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत प्रमुख र मञ्जु तामाङ उपप्रमुखमा निर्वाचित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *