बालेनसँग चलचित्र बोर्डका अध्यक्षको माग : ५ प्रतिशत मनोरञ्जन कर हटाइदिनुस् (भिडिओ) – Nepal Press

बालेनसँग चलचित्र बोर्डका अध्यक्षको माग : ५ प्रतिशत मनोरञ्जन कर हटाइदिनुस् (भिडिओ)

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काठमाडौंका भावी मेयरका रूपमा हेरिएका बालेन साहसँग नेपाली चलचित्रको स्थानीय मनोरञ्जन कर हटाउन माग राखेका छन् । बालेन मेयरमा निर्वाचित नहुँदै उनले यस्तो माग गरेका हुन् ।

राजधानीमा आज आयोजित चलचित्र ‘चिसो मान्छे’को ट्रेलर रिलिज कार्यक्रममा अतिथिका रूपमा बोर्ड अध्यक्ष र बालेनलाई निम्त्याइएको थियो । उक्त कार्यक्रममा अध्यक्ष दाहालले बालेनलाई ‘मेयर सा’ब’ भन्दै सम्बोधन गरेका थिए ।

दाहालले भने, ‘तपाईँ चलचित्र प्रेमी मान्छे हो । नेपाली चलचित्रमा स्थानीय कर लाग्छ, त्यो हटाइदिनु होला । मैले विद्यासुन्दरको पालामा पनि धेरै पहल गरेको थिएँ । तर, भएन । अब तपाईँबाट अपेक्षा छ । चलचित्र निर्माताले फिर्ता पाउने सर्तमा ५ प्रतिशत स्थानीय मनोरञ्जन कर छुट गरिदिनुहोला ।’

उनले नेपाली चलचित्रका लागि काठमाडौंका ३२ वटै वडामा ६४ वटा होडिङ बोर्ड राख्नुपर्ने अर्को माग पनि अघि सारे । होडिङ बोर्डको खर्चका लागि बोर्डले महानगरसँग सहकार्य गर्ने उनको प्रस्ताव छ ।

‘त्यसो भयो भने चलचित्रका पोस्टरहरूले सहर फोहर हुने समस्याबाट मुक्ति मिल्छ,’ उनले भने ।

दाहालले नेपालका उत्कृष्ट कलाकारहरूलाई बाहिरका सिनेमाहरूको भिजिट गर्न पठाउनुपर्ने र यसका लागि पनि महानगरसँग आफूले सहकार्य गर्न चाहेको बताए ।

‘तपाईँको स्पिरिटमा म सहकार्य गर्नेछु । हामी मिलेर नेपाली चलचित्रलाई माथि उठाऔँ,’ दाहालले भने ।

दाहालले विभिन्न मागहरू राख्दा बालेन गम्भीर देखिएका थिए । कर हटाउनुपर्ने प्रस्तावमा आफू सकारात्मक रहेको उनले बताए ।

नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा बालेनले जोड दिए ।

‘नेपालको कला–संस्कृति विश्वलाई चिनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि मेरोतर्फबाट सबै प्रयास हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर