अविवाहित आमाको वेदना : म त लास भइसकेँ, यो बच्चालाई बचाउन चाहन्छु (भिडिओ) – Nepal Press

अविवाहित आमाको वेदना : म त लास भइसकेँ, यो बच्चालाई बचाउन चाहन्छु (भिडिओ)

काठमाडौं । धनुषाकी निहारिका राजपूत साढे दुई वर्षदेखि न्याय खोज्दै भौँतारिएकी छन् । उनको काखमा अहिले झण्डै दुई वर्षको बच्चा छ ।

धेरैले गर्भपतन गर्न दिएको दबाब र सुझावलाई नकार्दै उनले अविवाहित अवस्थामै यो बच्चा जन्माएकी थिइन् । आफूमाथि एक पुरुषले बलात्कार गरेर गर्भ बसेको उनले बताउँदै आएकी छन् । आमा बनेयता निरन्तर कानूनी लडाइँ लड्दै एकल जिम्मेवारीमा बच्चा हुर्काइरहेकी छन् ।

निहारिकाको न टेक्ने हाँगो छ न समाउने । धेरै संघ–संस्थाहरू चहारेर सहयोगको पुकारा गरे पनि कसैले नसुनेको उनी बताउँछिन् । काठमाडौंमा कोठा भाडामा लिएर बसेकी छन् । तर, भाडा तिर्ने पैसा छैन । तीन महिनादेखिको भाडा बाँकी छ ।

उनलाई माइतीबाट पनि साथ छैन । बच्चा जन्माएपछि उनलाई परिवारले घरबाट निकाले । अहिलेसम्म पनि घरमा प्रवेश पाएकी छैनन् । यता, अदालतबाट पनि न्याय नपाएको उनको गुनासो छ । जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि विक्षिप्त बनेकी उनी अहिले उच्च अदालतमा मुद्दा लडिरहेकी छन् । आफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने उनको माग छ ।

९ वर्षअघि भएको बलात्कारको घटनालाई लिएर देश तातेका बेला निहारिकाको आवाज भने सुनिदिने कोही छैन । उनी ‘पीडित’ भनेर आफू र बच्चाको तस्बिर ब्लर गराउन चाहन्नन् ।

‘अनुहार त अपराधीले लुकाउनुपर्ने हो, हामीले किन लुकाउने ?’ उनले वास्तविक नाम र तस्बिरसहित आफ्नो कथा बाहिर ल्याइदिन आग्रह गर्दै भनिन् ।

निहारिकाको कथा उनकै शब्दमा:

म अविवाहित आमा । एक दानवरूपी पुरुषबाट बलात्कृत भएँ । गर्भ बस्यो र बच्चा जन्माएँ । मेरो बच्चा अहिले दुई वर्ष पुग्न लागेको छ ।

म न्यायको लडाइँमा छु । यो संघर्षको मैदानमा मलाई एउटै कुराले सधैँ आशा जगाउँछ, त्यो मेरो छोरा हो । जब म छोरो हेर्छु, आँट आउँछ, हिम्मत आउँछ अनि इमोसनल पनि हुन्छु । गर्भमा हुँदा भेटिए जति सबैले फालिदेऊ भनेको मेरो छोरा अहिले जब जब हेर्छु, मैले आफ्नो मात्रै होइन, तमाम मजस्तै बलात्कृत छोरीहरूका लागि लड्नुपर्छ भनेर हिम्मत आउँछ ।

छोरालाई हेरेपछि मेरो अनुहारमा अनायास खुसी छाउँछ । मान्छेले मलाई के भनेका थिए, कसरी गालीगलौज गरेका थिए, सबै बिर्सिदिन्छु । ऊसँग खेल्छु । आफ्नो पीडा र दुःख आफ्नै ठाउँमा छ । तर, उसलाई त एउटी आमाले पालेकी छे । आफ्नो माया दिएर पालेकी छे । उसका लागि सबै थोक म मात्रै हो ।

मेरो छोरा पेटमा हुँदा धेरैले बच्चालाई फालिदिनू भने । बच्चा फाल्नका लागि कति धम्की आए । कतिले मायाले पनि मैले दुःख पाउँछु भनेर फालिदिनू भने । तर, मैले मानिनँ । मेरो बलात्कार भएको थियो, त्यहाँ मेरो गल्ती थिएन । तर, यो बच्चाले त धर्ती टेक्न पाउनुपर्थ्यो नि ! बाँच्ने उसको अधिकारलाई निमिट्यान्न पार्न चाहिनँ । मेरो जीवनमा त्यो भयावह घटना भए पनि मभित्र बच्चा बसेको थियो । उसलाई फालेर मैले न्याय पाउँदिनँ थिए । बच्चा फाल्नु भन्नेहरूसँग मेरो प्रश्नको जवाफ पनि थिएन । मैले भनेँ, ‘मेरो बलात्कार भएर यो बच्चा पेटमा बसेको भए पनि उसलाई मार्दिनँ ।’

यदि मेरो विवाह भएर पेटमा बच्चा रहेको भए त सबै खुसी हुने थिए होलान् । मसँग जे घटना भएको छ, त्यसको प्रमाण पनि त हो यो बच्चा । पछि ऊ ठूलो भएपछि उसले पनि बुझ्नेछ, मैले कुन दुःख र संघर्ष गरेर उसलाई यस धरतीमा ल्याएकी थिएँ । ऊ पेटमा भएपछि सबै कुरा छाड्न तयार थिएँ, तर बच्चा छाड्न तयार भइनँ ।

मलाई नशा पिलाएर बलात्कार गरिएको थियो । त्यस वेला म ११ कक्षामा पढ्दै थिएँ । जम्मा १७ वर्षकी मात्रै थिएँ । मेरो एक जना केटी साथीले उसको घरमा कम्बाइन स्टडी गर्न बोलाई । उसकी दाइले मलाई दुई तीन पटक मन पराउँछु भनेर भनेको थियो । तर, मैले रेस्पोन्स गरेकी थिइनँ । उसलाई राम्रोसँग चिन्दा पनि चिनेकी थिइनँ ।

साथीले बोलाएपछि म दिउँसो १२ बजेतिर उसको घरमा पढ्न गएँ । मैले आफ्नो परिवारलाई पनि साथीकोमा पढेर आउँछु भनेको थिएँ । ढिला भएमा दाइलाई लिन पठाइदिनुस् पनि भनेको थिएँ ।

म जुन साथीलाई विश्वास गरेर उसको घरमा गएँ, उसैबाट विश्वासघात भयो । त्यही घरमा मेरो इज्जत लुटियो । खानेकुरामा केही नशालु पदार्थ दिएर साथीको दाइले मलाई बलात्कार गरेको थियो । साथीको समेत मिलेमतो थियो त्यसमा । अहिले त्यो घटनालाई सम्झनै चाहन्नँ ।

ममाथि त्यो घटना भएपछि अरूलाई सुनाउन थालेँ । कुनै केटीको बलात्कार हुन्छ, त्यो उसको गल्ती होइन नि ! त्यसैले मलाई आवाज उठाउन कुनै लाज लागेन । त्यो साथी र उसको दाइहरू अपराधी हुन्, म होइन । तर, जब म बोल्न थालेँ, सबैले ममाथि नै प्रश्नहरू गरे । पुलिसमा जाँदा ग्रन्थ पाइन्ट लगाएर गएकी थिएँ । मेरो बुवाले जे किनिदिनुभएको थियो, त्यही लगाएर गएकी थिएँ । पुलिसकहाँ जाँदा पनि मेरो लुगालाई लिएर मलाई जज गरे । जनकपुरकी महिला सेलकी सई दीपिका ओझाले ‘यसको लुगा हेर न, यसरी लुगा लगाएर हिँड्छ’ भन्नुभयो ।

त्यसपछि म अदालत गएँ । मलाई अदालतमाथि विश्वास थियो न्याय पाउँछु भनेर । तर, जिल्ला अदालत धनुषाले मलाई अन्याय ग¥यो । केटालाई सफाइ दियो । त्यसपछि न्यायका लागि धेरै ठाउँ धाएँ । ओरेक नेपालमा गएँ । त्यहाँ पनि मलाई बस्न ठाउँ थिएन । म सेफ हाउसमा बस्न सक्थेँ । तर, त्यस वेला सबै ठाउँबाट दबाब आइरहेको थियो । परिवारबाट पनि दबाब आइरहेको थियो । एक दिन मात्रै त्यहाँ बसेको थिएँ, मलाई रातभर टर्चर दिए । ‘तिमी १७ वर्षको छौ, बच्चा लिएर के गर्छौ’ भनेर बच्चा फाल्नका लागि दबाब दिए ।

मैले भनेँ, ‘तपाईँहरू बालविवाह हुँदा चुपचाप बस्नुहुन्छ । बालविवाहपछि १४ वर्षकी किशोरीले बच्चा पाउँदा खुसी हुने तपाईँहरू मेरो बच्चालाई चाहिँ फोहोर देख्नुहुन्छ ।’ सबैले जसरी भए पनि फाल्नुपर्छ भनेर दबाब दिइरहेका थिए । न्यायका लागि जहाँ जहाँ ढोका ढकढकाउन जान्थेँ, त्यहाँ त्यहाँ बच्चा फाल्नु भनिन्थ्यो । कतिपय संस्थाबाट केटाबाट चार–पाँच लाख लेउ, एबोर्सनको खर्च दिन्छ । जबसम्म तिमी ठिक हुँदैनौ, केटाको परिवारले खर्च दिन्छ, अनि केटालाई छाडिदेऊसम्म भने ।

त्यसपछि अदालत गएँ । अनि काठमाडौँ आएँ । मेरो पेटमा तीन महिनाको बच्चा थियो । राष्ट्रिय महिला आयोगमा गएँ । मैले धनुषाबाटै फोन गरेर आयोगमा जानकारी गराएकी थिएँ, म धनुषाबाट हो, मसित पैसा छैन भनेर । तर, आयोगले काठमाडौंको अफिसमा नै आएर कुरा गर्नु भन्यो । मलाई साथीहरूले टिकेट काटिदिए । र काठमाडौं आएकी थिएँ ।

आयोगमा मेरो समस्याबारे सबै लेख्नुभयो । फोन गर्नुहुन्छ भन्नुभयो । तर, समय बित्दै गयो । पेटमा बच्चा ८ महिनाको भइसकेको थियो । यसपछि पनि आयोगले ‘हामी एसपीसँग कुरा गर्दैछौं, त्यसपछि तिमीलाई भन्छौँ’ भन्यो । तर, कुनै सोधखोज भएन । अहिले त त्यो आयोग जानै मन लाग्दैन । ३०÷४० पटक गइसकेकी छु । हरेक दिन फर्किँदा रोएको छु ।

आयोगमा बिहान १० जबेदेखि ४ बजेसम्म बसेकी छु । त्यहाँकी विद्या सिन्हा मेरै अगाडि गाडीबाट जानुभयो । तर, उहाँले मेरो पाँच मिनेट मात्रै कुरा सुनिदिने प्रयास गर्नुभएन । १० दिनको सुत्केरी आयोगमा गएर दिनभर बस्दा पनि उहाँले सुनिदिनुभएन ।

०००

अदालतले पनि मलाई अन्याय गरिदियो । अपराधीलाई सफाइ दियो । नौ महिनाको बच्चा पेटमा हुँदादेखि डेढ वर्षसम्म जिल्ला अदालत धनुषामा पेसी बुझ्न गएँ । त्यसपछि म मिडियामा आउन बाध्य भएँ । मलाई न्याय दिइरहेको थिएन अदालतले ।

सधैँ मलाई ‘तिम्रो पेसी हो आज आऊ’ भनेर भन्नुहुन्थ्यो । म बसमा चढेर जान्थेँ । इजलासको एक घण्टाअघि मात्रै फोन गरेर भन्नुहुन्थ्यो । एक घण्टामा म कसरी जान सक्छु ? मेरो बच्चा बिरामी थियो । अस्पतालमा थियो । त्यस वेला पनि मैले गुहार मागेकी हो ।

मैले डीएनए टेस्ट गर्नुपर्ने माग गरेको छु । अब अपराधी चिन्दैन भने डिएनए टेस्ट भएपछि थाहा हुन्छ भनेको हो । बलात्कारबाट जन्मिएकी हो कि होइन भनेर थाहा हुन्छ भनेकी हो । तर, पर्शुराम भट्टराईको धनुषा जिल्ला अदालतको पाँच नम्बर इजलासबाट सहमतिमा भएको हो भनेर फैसला गरिदियो । बच्चा छ प्रमाणको रूपमा । तर बीचमा त्यस्तो फैसला कसरी गरिदिए ।

अहिले मैले उच्च अदालतमा निवेदन दिएकी छु । त्यहाँ पनि चार महिना भइसक्यो, मलाई पेसी दिनुभएको छैन । उहाँहरू भन्नुहुन्छ, पालो आउँछ । म भन्छु, अझैँ कति चेलीहरूको बलात्कार भएपछि मेरो पालो आउँछ ?

जिल्ला अदालतको फैसलामा मेरो बच्चाबारे केही बोलिएको छैन । मेरो मुद्दालाई ग्राउण्डदेखि नै कमजोर बनाइएर लगिएको रहेछ । मैले प्रहरीमा १५ दिनपछि उजुरी दिएकी थिएँ । बलात्कार भएको भोलिपल्टै उजुरी दिन गइनँ । मैले आफ्नो परिवारलाई पहिला भनेँ । उनीहरूले हाम्रै इज्जत जान्छ, चुप लागेर बस भने । तर, मैले मानिनँ । एक वर्षपछि पनि त जान सक्थेँ नि । तर १५ दिनपछि जाँदा ‘कोको मान्छे थिए, सबै प्रमाण लिएर आऊ’ भनेर पुलिसले भन्यो । त्यहाँ कोही मान्छे भएको भए त बलात्कार नै हुँदैन थियो मेरो । म होसमा भएको भए पनि त चिच्याउँथेँ नि !

म होसमै थिइनँ । यसपछि म जहाँ जहाँ गएँ, त्यहाँ त्यहाँ अन्याय भयो । न्यायालयले मात्रै अन्याय गरेन । समाजले पनि गर्‍यो । मैले जनकपुरमा आफ्नै समाजमा कोठा पाइनँ । मजस्तो केटीका लागि कोठा छैन भने । मेरै परिवारले पनि ‘हाम्रो इज्जत गयो, तिमी जिल्लासम्म गयौ, अब हाम्रो घरको कुनै छोरीको पनि बिहे हुँदैन, तिमी बच्चा फाल, हामी जहाँ भन्छौँ, त्यहाँ बिहे गर’ भन्यो । बच्चा फालिसकेपछि पीडा कम हुँदैन भनेर परिवारलाई भनेँ । तर, परिवारले मानेनन् । बच्चा फालेपछि मेरो विवाह भएको भए पनि मलाई इज्जतका साथ कसले राख्थे ? मेरो बारे थाहा पाएपछि मलाई कसले इज्जत दिन्थे ? बेइज्यति सहन नसकेर एक न एक दिन झुन्डिएर मर्ने थिएँ ।

अहिले मेरो मुद्दा हाई कोर्टमा पुगे पनि मलाई पेसी नदिएर अन्याय गरिएको छ । मैले जीवन चलाउन बच्चाहरूलाई ट्युसन पढाइरहेकी थिएँ । अहिले त्यो काम पनि गर्न सकेकी छैन । धनुषाको अदालत अघि आन्दोलन गर्न पनि पुगेँ । त्यहाँ पुलिसले मेरो बच्चालाई धकेलिदिनुभयो । मेरो बच्चाको टाउकोमा चोट लागेर अस्पताल पुर्याउनुपर्यो । ती पुलिसलाई मलाई अन्याय गर्ने न्यायाधीशका लागि मात्रै उभिनुभएको थियो ।

मेरो माग छ, मेरो बच्चाको डिएनए टेस्ट गरिदिनुपर्‍यो । अपराधीले कडा सजाय पाउनुपर्‍यो । हुन त हाई कोर्टबाट पनि न्याय मिल्ला भनेर आस छैन । तर, म सर्वोच्चसम्म पुग्छु ।

म त मरेकी मान्छे हो । जति धम्की दिए पनि एउटा लासलाई कुनै डर लाग्दैन, म लास भइसकेकी मान्छे हो । मेरो जिउमा आगो लगाइदिए पनि मलाई डर लाग्दैन । मलाई केवल मेरो बच्चालाई बचाउनु छ । सक्षम बनाउनु छ । म एकै कुरा चाहन्छु कि भोलिका दिनमा अर्को निहारिका यसरी नझुकोस् । न्यायको पहिलो खुड्किलोबाटै उसले न्याय पाओस् ।

मैले धनुषामा मुद्दा लड्दा त्यहाँबाट कसैको सपोर्ट भएन । मेरै गल्ती थियो भनेर मलाई फिल गराउनुभयो । मेरो बलात्कारीको आफन्त नेता हो । सुरुदेखि नै उहाँले पावर लगाइरहनुभएको थियो । हरेक ठाउँमा उहाँहरूको मान्छे छन् । अदालतको न्यायाधीश पनि उहाँहरूकै मान्छे हो । अनुसन्धानको एसपी पनि उहाँहरूकै मान्छे हो । र मलाई अन्यायमा पारियो । तर, कोही जुनै शक्तिको होस्, मलाई हल्लाउन पाइँदैन । कि त म मर्नै पर्छ, अनि यो केस सकिन्छ ।

०००

कठमाडौं आएपछि पनि न्याय पाइनँ । मलाई आम मान्छेहरूले सपोर्ट गरिरहनुभएको छ । मिडियाबाट सपोर्ट पाएकी छु । अधिकारकर्मी ज्यास्मिन ओझाले धेरै सहयोग गर्नुभएको छ । सावित्री सुवेदीहरूले सुरुवातमा खुबै सपोर्ट गर्नुभएको थियो । तर, अपराधी विदेश भाग्ने प्रक्रियामा छ रे भनेको सुनेको छु । यदि त्यसो भयो भने मैले न्याय नपाउने सम्भावना अझै बढी हुन्छ ।

यदि मैले अब पनि न्याय पाइनँ भने मेरो बच्चा लिएर बाटोमा बस्छु । मलाई न्यायालयप्रति विश्वास भएन । न्याय पाउँछु भन्ने वातावरण पनि देखेकी छैन । म आफ्नो न्यायका लागि बच्चासँग बाटोमा बस्ने मेन्टालिटीमा पुगिसकेकी छु ।

यहाँ कोठा भाडामा लिएर बसिरहेकी छु । तर, घरभेटीले ‘तिमी अविवाहित आमा, कोठा भाडा तिर्न सक्छौ कि सक्दैनौँ ? भोलि कुने संस्था आएर कोठा भाडा माफ गरिदिनु भन्यो भने पनि हामी माफ गर्दैनौँ, भाडा लिन्छौँ’ भनेर भनिरहेको छ । तीन महिनाको कोठा भाडा तिरेकी छैन । बच्चालाई पर्याप्त खुवाउन सकेको छैन । केही साथीभाइको सहयोगले चलेकी छु ।

बाबुलाई मन्टेश्वरी हालेर आफूले केही काम गर्नु पाए हुन्थ्यो । तर, मन्टेश्वरीमा हाल्न पनि धेरै पैसा चाहियो । त्यो पैसा मसँग छैन । त्यही समस्याका कारण बाबुलाई भर्ना गर्न सकेकी छैन । मैले पनि पढ्नु छ । अब कानुन पढ्ने योजनामा छु । जागिरका लागि कोसिस गरिरहेकी छु । मलाई बुझ्न सक्ने वातावरणमा राम्रो काम पनि गर्न सक्छु । मैले होटेल म्यानेजमेन्टमा प्लस टु सकाएकी छ्युँ । तर, कति वेला घरभेटीले निकालिदेला जस्तो लाग्छ । सबैसँग सहयोगको अपेक्षा पनि गर्छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर