प्रभु साहको क्षेत्रमा दोस्रो जितसँगै एमालेले कटायो २ सय सिट, भूमिहीन प्रेमलाल बने देवाही गोनाहीको मेयर – Nepal Press

प्रभु साहको क्षेत्रमा दोस्रो जितसँगै एमालेले कटायो २ सय सिट, भूमिहीन प्रेमलाल बने देवाही गोनाहीको मेयर

गौर । रौतहटको देवाही गोनाही नगरपालिका जितेर नेकपा एमालेले स्थानीय तह निर्वाचनको प्रमुख पद जितेका आधारमा २ सयको संख्या पार गरेको छ । कांग्रेसले ३ सय कटाउँदा एमाले २ सय पुग्न सकेको थिएन ।

एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री प्रभु साहको निर्वाचन क्षेत्रमा पर्ने देवाही गोनाही नगरपालिकामा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै प्रेमलाल साह मेयमा निर्वाचित भएका छन् ।

गठबन्धनको अगुवाई गरेका जनता समाजवादी पार्टी नेपालका उम्मेदवार मधुलिका पटेललाई साहले ४९५ मतले पराजित गरेका हुन् । अन्तिम मतपरिणाम अनुसार साहले ४ हजार २९२ मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी जसपाकि पटेलले ३ हजार ३९७ मत मत पाएका हुन् ।

नवनिर्वाचित साह भुमिहिन गरिब परिवारका सदस्य हुन् । समाजमा लोकप्रियता कमाएका एवम् सादा जीवन बिताउने प्रेमलाल साहलाई जिताउन प्रभु साह सफल भएका हुन् ।

त्यस्तै उपमेयरमा पनि नेकपा एमालेकी उम्मेदवार परनिया देवी पटेल निर्वाचित भएकी हुन् । निवर्तमान उपमेयर समेत रहेकी पटेलले गठबन्धनको उम्मेदवार इश्वरीलाल यादवलाई८६५मतले पराजित गरेकी हुन । ४ हजार ४४५ मत पाउँदा यादव ३ हजार ५८० मतमा सीमीत भएका हुन् ।

यस अघि प्रभु साहको गृहनगरमा गठबन्धनको उम्मेदवार रामप्रवेश यादवलाई झण्डै दोब्बर मतले एमालेकी रीना साहले पराजित गरेकी थिइन् । मेयर साहको प्यानलमा मौलापुर नगरपालिकाको उपमेयर नागेन्द्र राय यादव पनि विजयी भएका थिए । मौलापुरको ९ वटा वडामध्ये एउटा नेकपा एकीकृत समाजवादी र एउटा नेकपा माओवादी केन्द्रले जितेको छ भने बाँकी सबै वडामा एमालेले प्यानलसहित जितेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर