चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने ! – Nepal Press

चितवनमा जिसस प्रमुख र उपप्रमुखको लागि गोलाप्रथा हुने !

चितवन । चितवनमा जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने भएको छ । पाँच दलीय गठबन्धन र नेकपा (एमाले)सँग बराबर मतदाता हुने भएपछि जिससको लागि गोलाप्रथा हुने भएको हो ।

जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मतदान गर्न पाउँछन् ।

चितवनमा जिससको निर्वाचनमा सात पालिकाका १४ जना मतदाताले मतदान गर्ने छन् । जिससको निर्वाचन जित्न कम्तीमा आठ मत ल्याउनुपर्छ ।

पाँच दलीय गठबन्धनले तीन पालिका प्रमुख र दुई उपप्रमुख जितिसकेको छ । भरतपुर महानगरको प्रमुख र उपप्रमुख पनि जित्ने पक्का भइसकेको छ । अहिले भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । मत गन्न बाँकी रहेका भरतपुरका तीन वटै वडाको सबै मत एमाले–राप्रपाले पाए पनि जित्ने सम्भावना टरेको छ ।

यससँगै जिससको निर्वाचनका लागि गठबन्धनसँग सात भोट मात्रै हुने भएको छ । एमालेको एक्लै सात भोट छ । एमालेले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ ।

जिसस जित्न गठबन्धन र एमाले दुवैसँग पर्याप्त भोट नपुग्ने निश्चित छ । अब गठबन्धन वा एमाले कुनै एउटा पक्षले अर्को पक्षको एउटा भोट आफूतिर तान्नुपर्ने अवस्था बनेको छ । यदि त्यसो नभए जिससको प्रमुख र उपप्रमुखको लागि गोला प्रथा हुने छ ।

पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएपछि मात्रै जिससको निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिए । जिससको निर्वाचनमा बराबर मत आए गोला प्रथाबाट जिसस प्रमुख र उपप्रमुख निर्वाचित हुने उनले बताए ।

‘जिससको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । पालिकाको वडाध्यक्ष वा सदस्यमा निर्वाचित जनप्रतिनिधिले जिसस प्रमुख र उपप्रमुखको लागि उम्मेदवारी दिन पाउँछन्’, उनले भने, ‘मत बराबर आए गोला प्रथाबाट जनप्रतिनिधि छान्ने काम हुन्छ ।’

पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवार निर्वाचित भएको घोषणा भएको १५ दिनभित्र कार्यपालिका सदस्यको लागि निर्वाचन गर्नुपर्ने कार्कीले जानकारी दिए ।

नगरपालिकामा तीन जना र गाउँपालिकामा दुई जना कार्यपालिका सदस्य निर्वाचित हुने उनले बताए । त्यसको लागि पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यले मत हाल्न पाउँछन् । कार्यपालिका सदस्यको निर्वाचन निर्वाचन अधिकृतले गराउने कार्कीले बताए ।

‘कार्यपालिका सदस्यको निर्वाचनमा दलित र अल्पसंख्यकलाई दलहरूले उम्मेदवार बनाउन पाउँछन् । निर्वाचन अधिकृतले त्यसको निर्वाचन गराउने व्यवस्था छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर