जहाँ गार्डिओला, त्यहाँ हरेक सिजनजसो घरेलु लिग उपाधि ! – Nepal Press

जहाँ गार्डिओला, त्यहाँ हरेक सिजनजसो घरेलु लिग उपाधि !

लन्डन । स्पेनिस ला लिग क्लब बार्सिलोना छाडेयता प्रशिक्षक पेप गार्डिओलालाई सब चिज सजिलो जस्तै छ, केवल युरोपियन च्याम्पियन्स लिग जित्नुबाहेक ।

बार्सिलोना छाडेयता दुई क्लबले गार्डिओलालाई च्याम्पियन्स लिग जित्नकै लागि आबद्ध गरेकाले उनले क्लबको सबैभन्दा ठूलो अपेक्षा भने पूरा गर्न सकेका छैनन् ।

सन् २००८ मा बार्सिलोनामार्फत प्रिमियर लिग क्लबको प्रशिक्षकका डेब्यु गरेका गार्डिओलाले हालसम्म १० पटक घरेलु लिग उपाधि जितेका छन् । एक सिजन उनले आराम गरेका थिए । यसको मतबल यसबीचमा तीन सिजनमात्र घरेलु लिगको उपाधि जित्न सकेका छैनन् । बार्सिलोनालाई चार सिजन प्रशिक्षण गरेर उनी सन् २०१२ मा बिदा भएका थिए ।

उनको प्रशिक्षणमा बार्सिलोनाले तीनपटक घरेलु लिग, दुईपटक युरोपियन च्याम्पियन्स लिग, २–२ पटक स्पेनिस कोपा डेल रे, युरोपियन सुपर कप र क्लब विश्वकप अनि तीनपटक स्पेनिस सुपर कप जितेको थियो । उनकै पालामा बार्सिलोनामार्फत लियोनल मेस्सीको दबदबा सुरु भएको थियो । बार्सिलोनाकै पूर्वखेलाडी गार्डिओ‌ला एक वर्षको आरामपछि सन् २०१३ मा जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिख भित्रिएका थिए ।

हरेक सिजनजसो घरेलु लिगको उपाधि जितिरहेको बायर्न गार्डिओ‌लालाई भित्र्याएर युरोपियन च्याम्पियन्स लिगमा दबदबा बनाउन चाहन्थ्यो । तर, गार्डिओलाले तीन सिजनसम्म क्लबको उक्त अपेक्षा पूरा गर्न सकेनन् । बायर्नले घरेलु लिग भने जितिरहेकै थियो । सन् २०१६ मा उनी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी आबद्ध भए । सन् २०१३ मा सर एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडको प्रशिक्षण छाड‍ेपछि प्रिमियर लिगको उपाधि होड लगभग खुला बनेको थियो । फर्गुसन रहँदासम्म प्रिमियर लिगको उपाधिमा म्यान युनाइटेडको दबदबा थियो । फर्गुसनले प्रशिक्षकका रुपमा १३ पटक प्रिमियर लिग जितेका थिए ।

उनले म्यान युनाइटेड छाड्नुभन्दा एक सिजनअघि मात्र म्यान सिटीले पहिलोपटक घरेलु लिग उपाधिको स्वाद लिएको थियो । फर्गुसनले म्यान युनाइटेड छाडेपछिको पहिलो सिजन पनि म्यान सिटी प्रिमियर लिग च्याम्पियन बनेको थियो । त्यसैले म्यान सिटीको ध्यान कम्तिमा घरेलु लिग र बढीमा च्याम्पियन्स लिग जित्नेमा थियो ।

त्यहाँ गार्डिओलाको पहिलो सिजन स्मरणीय रहन सकेन, म्यान सिटी उपाधिविहीन बन्यो। त्यसपछिका सिजनहरुमा भने म्यान सिटी खह्रो उत्रिरहेको छ। सन् २०१७र१८ यताका पाँचमध्ये ४ सिजन घरेलु लिगको उपाधि जितेको छ ।

च्याम्पियन्स लिगमा गत सिजन फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको थिएन । यो सिजन पनि सेमिफाइनलसम्म पुगेको थियो । तर, स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध २ गोलको अग्रता जोगाउन सकेन । आइतबार राति म्यान सिटीले २ गोलले पछाडि रहेको अवस्था उल्ट्याएर खेल जित्दै घरेलु लिगको उपाधि हात पारेको छ ।

एस्टन भिल्लाविरुद्ध ६९ औं मिनेटसम्म २-० गोलले पछाडि रहेको म्यान सिटी पाँच मिनेटको अन्तरमा ३ गोल गर्दै ८१ औं मिनेटमा ३-२ गोलले अगाडि बढेको थियो । अन्ततः यही नतिजामा निकटतम प्रतिद्वन्द्वी लिभरपुललाई एक अंकले पछाडि पार्दै घरेलु लिगको उपाधि जित्यो । गार्डिओलाले पछिल्लो नतिजा र सफलतालाई म्यान युनाइटेडमा सर एलेक्स फर्गुसन रहँदाको समयसँग तुलना गरेका छन् ।

‘हामीले जे प्राप्त गर्‍यौँ, यो निकै गाह्रो थियो । म्यान युनाइटेडमा वर्षौं पहिला फर्गुसनले २-३ पटक यस्तो गरेका थिए’, गार्डिओलाले भनेका छन् ।

यसअघि सन् २०११/१२ सिजन पहिलोपटक प्रिमियर लिगको उपाधि जित्दा पनि अन्तिम खेलमा म्यान सिटीले क्वीन्स पार्क रेन्जर्समाथि रोमान्चक जित हात पारेको थियो । खेलमा २-१ गोलले पछाडि रहेको अवस्थामा म्यान सिटीले पुनरागमन गर्दै इन्जुरी समय सकिन लाग्दा निर्णायक गोल गरेको थियो । उक्त जितमा निकटतम प्रतिद्वन्द्वी म्यान युनाइटेड निराश बनेको थियो ।

गार्डिओलाले इङ्लिस प्रिमियर लिग क्लबमा आएयता ११ उपाधि जितेका छन्, चार ईएफएल कप, २ कम्युनिटी सिल्ड र एकपटक एफए कप उपाधिसहित । तर, ११ सिजनयता च्याम्पियन्स लिग भने जित्न सकेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *